शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

जग्गा बेचेर ऋण तिर्दै इँटा व्यवसायी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
जग्गा बेचेर ऋण तिर्दै इँटा व्यवसायी

मजदूर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड-१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन्। जिल्लामा रहेका १८  उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए।

चितवन- मजदूर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड-१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन्। जिल्लामा रहेका १८  उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए।

जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन्। चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष चार/पाँच उद्योगले मात्र सञ्चालन गर्ने तयारी गरेका छन्। अन्य उद्योग सधैँका लागि बन्द हुने अवस्थामा पुगेको बताइएको छ। महामारीका कारण एउटा उद्योगले दुई करोड रुपैयाँ हाराहारी नोक्सान बेहोर्नुपरेको उनको भनाइ छ।

कतिपय उद्योगले जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए। यसवर्ष कोइलाको मूल्यमा झण्डै दोब्बर वृद्धि भएको छ। सरकारले कोभिडबाट पूर्णरुपमा प्रभावित भएका इँटा उद्योगलाई ऋणको ब्याजमा अनुदान नदिएको उनले गुनासो गरे। खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित उद्योग सञ्चालन गर्न नसक्ने भए पछि उद्योगको नामको जग्गानै बेचेर ऋण तिर्न लागेको जानकारी दिए। उनले भने, 'ऋण तिर्न सकिएन अब जग्गा बेच्दै छौँ। यो पेसाबाट विस्थापित हुन आएको छ। धेरैको अवस्था आफ्नो उद्योगको जस्तै भएको छ।'  

यहाँको इँटा मकवानपुर, नवलपुर, गोर्खा, तनहुँ, पोखरा, काठमाडौँसम्म बिक्री हुने गर्दथ्यो। उनले भने, 'सरकारले उद्योग जोगाउने योजनासम्म ल्याएन।' राप्तीको लालपुरको मनकामना र खैरहनीको चैनपुरको न्यू सङ्गम इँटा उद्योग गत वर्ष चलेका थिए। स्थानीयको प्रदूषणको गुनासो, माटोको अभाव र महँगो, कोइलाको अश्वभाविक मूल्यवृद्धि, मजदूरको अभावलगायतका कारण उद्योगी पुनः उद्योग सञ्चालन गर्ने मनस्थितिमा छैनन्।

इँटा व्यवसायी विनोदकुमार श्रेष्ठले गत वर्षदेखि ३५ वर्ष पुरानो श्री इँटा उद्योग चलाउन सकेका छैनन्। उनले गुनासो गरे, 'कच्चापदार्थ नै महँगिएको छ, लगानी उठाउने अवस्थै रहेन विस्थापित नै बन्नुपर्यो।' गत वर्ष आंशिक रुपमा चलेको मनकामना इँटा उद्योगका सञ्चालक पुष्पकुमार पिया यस वर्ष अन्यौलमा हुनुहुन्छ। गत वर्ष मुस्किलले उत्पादन गरेको १० प्रतिशत इँटा बिक्री भएको उनले गुनासो गरे। पूर्वतिरबाट सस्तो मूल्यका इँटा आउन थालेपछि जिल्लाका गुणस्तरीय इँटा खपत हुन नसकेको व्यवसायीको भनाइ छ। काँँचो इँटा पानीले बिगार्दा कुनै क्षतिपूर्ति नपाइने र बीमा पनि नभएको व्यवसायी बताउँछन्। इँटाका लागि गिट्टी, बालुवा नमिसिएको चिम्टाइलो माटो चाहिन्छ। कात्तिकदेखि वैशाखसम्म बनाउने र पकाउने काम हुन्छ। इँटा पकाउन अत्याधुनिक प्रविधिमा लगानी गरेका व्यवसायी पलायनका स्थितिमा पुगेका हुन्।

जिल्लाका उद्योगमा एक वर्षमा आठ हजारले रोजगार पाउने गरेको सङ्घले जनाएको छ। नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहनुभएका सापकोटाले एउटा उद्योग सञ्चालन गर्न तीन करोड रुपैयाँभन्दा बढी लगानी हुने जानकारी दिए। नेपालमा एक हजार ३०० इँटा उद्योग रहेका छन्। तीमध्ये ४० प्रतिशत बन्द हुने अवस्थामा रहेको बताइएको छ।


प्रकाशित : सोमबार, असोज ४ २०७८०७:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend