मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन: अर्थमन्त्री

शुक्रबार, चैत २५ २०७८
कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन: अर्थमन्त्री

श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धराशायी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरेका छन्। 

काठमाडौं- अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धराशायी नहुने प्रष्ट पारेका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए। 

'अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ। किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ' उनले भने, 'कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन।'

नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको भनाइ थियो। 'हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायता लगाायतका तथ्यांक हेर्‍यौं भने श्रीलंकासँग तुलना नै हुन सक्दैन। तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन्।  त्यसको तपाई हामी सबै मिलेर खण्डन गर्नुपर्छ' उनले भने। 

श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धराशायी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भइ दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरेका छन्। 

'हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायतका विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथी उठाउनका लागि बहस गरौं' उनले भने। 

क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उनले बताए। तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैध रुपमा पैसा बाहिरिन थालेको उनको भनाइ थियो। 

'प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन। यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ' उनले भने।


प्रकाशित : शुक्रबार, चैत २५ २०७८०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend