बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

फेवाताल किनारमा नव वर्ष महोत्सव हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २३ २०७८
फेवाताल किनारमा नव वर्ष महोत्सव हुने

महोत्सव अवधिभर होटलहरूले ३० प्रतिशत छुट दिइ सेवा प्रदान गर्नेछन्।

कास्की- कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।

होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो। ‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित सङ्घले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकामा अघिल्ला दुई वर्षमा कोरोनाका कारण हुन सकेको थिएन। यस वर्ष पुनः निरन्तरता दिइएको सङ्घका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताए 

नयाँपनका साथ तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुनेछ। भूकम्प, नाकाबन्दी र पछिल्लो समय कोरोनाका कारण पर्यटकीय चहलपहल न्यून रहेकामा महोत्सवले केही हदसम्म राहत पुग्ने विश्वास गरिएको छ। अध्यक्ष सुवेदी भन्छन्, 'महोत्सवले मौलिक संस्कृतिको संरक्षण गर्ने छ।'

लेकसाइडको अम्बोट र सेन्टर प्वाइन्टमा सांस्कृतिक कार्यक्रम, हाँस्यव्यङ्ग्य प्रस्तुतिलगायत कार्यक्रम गरिने सङ्घका महासचिव राजेन्द्र ढकालले जानकारी दिए। महोत्सव अवधिभर होटलहरूले ३० प्रतिशत छुट दिई सेवा प्रदान गर्ने सङ्घका पूर्व अध्यक्ष विकल तुलाचनले बताए।

आन्तरिक पर्यटन प्रवर्द्धन र महोत्सवको प्रचार–प्रसारका लागि सङ्घले केही दिनअघि बुटवल, हेटौँडा र वीरगञ्जमा ‘जाउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो। पछिल्लो समय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेपछि व्यवसायी उत्साहित बनेका छन्। रासस


प्रकाशित : बुधबार, चैत २३ २०७८०५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend