आइतबार, असोज ६ गते २०८१    
images
images

मालढुङ्गा-बेनी सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २३ २०७८
images
images
मालढुङ्गा-बेनी सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

मालढुङ्गा-बेनी सडक बन्द भएको समयमा बागलुङ-रत्नेचौर-बेनी हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ।

images
images

पर्वत- मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ। 

images
images
images

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा-बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो। 

सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालय समक्ष समय व्यवस्थापनको प्रस्ताव गरेको थियो। हाल तेह्र किलोमिटर लामो सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ। सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ। एम्बुलेन्स र विकास निर्माणका अत्यावश्यक सवारीसाधनका हकमा सहजीकरण गरिने छ।

मालढुङ्गा-बेनी सडक बन्द भएको समयमा बागलुङ-रत्नेचौर-बेनी हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ। एपेक्स-खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारीसाधन रोकेर काम गर्न समय मागिएको बताए। 

images

कुश्मा नगरपालिका-१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ। मालढुङ्गा-बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।

विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरी सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गर्दैआएको छ। विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत निर्माण थालिएको सडक २०५२ मा सञ्चालनमा आएको हो। विसं २०६८ मा कालोपत्र भएको मालढुङ्गा-बेनी सडक पछिल्लो समय जीर्ण थियो। रासस


प्रकाशित : बुधबार, चैत २३ २०७८०५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend