काठमाडौं- दसैँका लागि आजबाट नयाँ नोट सटही सुरू हुने भएको छ। यसपटक नयाँ नोट सहज रुपमा साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा विगतका वर्षमा भन्दा सहज रुपमा गर्ने गरि आवश्यक तयारी गरेको छ।
कोभिडलाई ध्यान दिँदै नयाँ नोट सहटी सुविधा लिन चाहने ग्राहकलाई जुनसकै बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखाबाट उपलब्ध गराउने गरी व्यवस्था गरेको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले जानकारी दिए। ‘कोभिडको समयमा नयाँ नोटकै लागि भिडभाड गर्नु नपर्ने गरी व्यवस्था मिलाएका छौँ, त्यसैले हतार नगरी, नआत्तिइकन काम गर्नुहुन आग्रह छ,’ उनले भने।
उनका अनुसार यस पटक जसले जति माग गर्छ सोही अनुसानर नयाँ नोट उपलब्ध हुन्छ। विगतका वर्षमा राष्ट्रबैंकले नयाँ नोट सटहीका लागि सूचना प्रकाशन गर्ने गरेको थियोु, उनले भने, ‘यसपटक भने नयाँ नोट सटहीका लागि राष्ट्र बैंकबाट इजाजत लिएका सबै वित्तीय संस्थामा जानकारी पठाइसकिएको छ। अब बैंक तथा वित्तीय संस्थाले सोमबारबाट नोट सटही सुविधा दिन थाल्ने छन्।’
विगतका वर्षजस्तो नोट सटही गर्दा लाइन बसेर दुस्ख पाउनु नपर्ने साथै बैंक तथा वित्तीय संस्थाले पनि आवश्यक मात्रामा नयाँ नोट लगिसकेकाले सर्वसाधारणलाई समस्या नपर्ने उनको भनाइ छ।