मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात

मंगलबार, साउन १२ २०८३
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात

एप्लिकेसनको प्रयोगबाट कृषि बजारहरुमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्यको न्यूनतम, अधिकतम र औसत मूल्य, बजारअनुसार मूल्यको तुलना, कृषि उपजको मूल्य प्रवृति र कृषि मौसमी सल्लाह बुलेटिन सम्वन्धि विवरण समेतको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।

काठमाडौं- नेपाल सरकारले विभिन्न १२ वटा संघीय कृषि बजारहरुमा कारोबार हुने कृषि उपजहरुको दैनिक थोक मूल्यसम्बन्धी विवरण प्रवाह हुने मोबाइल एप आजदेखि सुरुवात गरेको छ।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत ‘कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस/डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्‍याउने’ कार्यान्वयनका सन्दर्भमा सो एप सुरुवात गरिएको हो।

यस निर्णयानुसार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसहित अन्य सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी, रुपन्देही, बाँके, सुर्खेत, कैलालीका संघीय कृषि उपज बजारहरुमा कारोबार हुने कृषि उपजहरुको दैनिक थोक मूल्यको विवरण ‘एएमपीआईएस नेपाल’ एप्लिकेसनमार्फत प्रवाह हुनेछ।

उक्त मोबाइल एप्लिकेसन कृषि, वन तथा पर्यावरण मन्त्रालयको कृषि विभागको वेबसाइटमा राखिएको क्यूआर स्क्यान गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ। यस एप्लिकेसनको प्रयोगबाट उल्लिखित कृषि बजारहरुमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्यको न्यूनतम, अधिकतम र औसत मूल्य, बजारअनुसार मूल्यको तुलना, कृषि उपजको मूल्य प्रवृति र कृषि मौसमी सल्लाह बुलेटिन सम्वन्धि विवरण समेतको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।

कृषिमन्त्री गीता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहजरूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप सञ्चालनमा ल्याइएको बताएकी छिन्। साथै, उनले कृषि क्षेत्रको आधुनिकीकरणसँगै सूचना प्रविधिको प्रयोग विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेखसमेत गरेकी छिन्। रासस


प्रकाशित : मंगलबार, साउन १२ २०८३१८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend