शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

भैँसीको मासु उद्योगमा ३० अर्ब रुपैयाँ लगानी हुँदै, चीन निर्यात गर्ने लक्ष्यसहित तीन उद्योग दर्ता

शुक्रबार, साउन ८ २०८३
भैँसीको मासु उद्योगमा ३० अर्ब रुपैयाँ लगानी हुँदै, चीन निर्यात गर्ने लक्ष्यसहित तीन उद्योग दर्ता

परियोजना सञ्चालनमा आएपछि नेपालमा भैँसी पालन, मासु प्रशोधन, कोल्ड चेन, छाला उद्योग तथा सहउत्पादनमा आधारित उद्योगहरूको विस्तार हुने अपेक्षा गरिएको छ।

काठमाडौं- प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने लक्ष्यसहित ३० अर्ब रुपैयाँभन्दा बढी लगानीका तीन उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार सिन्धुली र मकवानपुरमा स्थापना हुने यी उद्योगहरूले ७ हजार जनालाई प्रत्यक्ष रोजगारी दिनेछन्।

भैँसीको मासु निर्यात गर्ने सबैभन्दा ठूलो परियोजना जियान फुड्स प्रालि हो। चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीको लगानीमा सिन्धुलीको मरिण गाउँपालिका-४ मा स्थापना हुने उद्योगको कुल लगानी २६ अर्ब ४० करोड रुपैयाँ रहेको छ। यसमध्ये २३ अर्ब ५२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र २ अर्ब ८७ करोड ८५ लाख रुपैयाँ स्वदेशी लगानी हुनेछ।

जियान फुड्सले वार्षिक २ लाख ८० हजार टन प्रशोधित भैँसीको मासु तथा १ लाख ९० हजार टन सहउत्पादन (छाला, भित्री अंग, टाउकोलगायत) उत्पादन गर्ने लक्ष्य राखेको छ। यस परियोजनाबाट ५ हजार १ सय ५६ जनाले रोजगारी पाउने छन्। यी उद्योगबाट वार्षिक करिब डेढ खर्ब रुपैयाँबराबरको प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने लक्ष्य छ।

परियोजना नेपालको हिमालयन फुड इन्टरनेशनल प्रालिसँगको साझेदारीमा अघि बढाइएको हो। परियोजनाका प्रमुख डा. नवीन शर्मा छन्। उद्योगको अध्यक्षमा चिनियाँ कम्पनी हेङ्दु जियान फुड लिमिटेडका प्रतिनिधि बु स्याङ छन्। नेपाली साझेदार हिमालयन फुड इन्टरनेशनलले स्थानीय व्यवस्थापन, पशुपालन विस्तार तथा कच्चा पदार्थ आपूर्ति व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।

यस्तै मनास्लु मिट्स प्रालि मकवानपुरको बकैया गाउँपालिका-७ मा स्थापना हुनेछ। ३ अर्ब रुपैयाँ लगानीको यस परियोजनामा २ अर्ब ४५ करोड १९ लाख रुपैयाँ विदेशी लगानी र ५४ करोड ८० लाख रुपैयाँ स्वदेशी लगानी रहनेछ। उद्योगले वार्षिक ४२ हजार टन प्रशोधित भैँसीको मासु तथा २२ हजार टन सहउत्पादन उत्पादन गर्नेछ भने १ हजार १६ जनालाई रोजगारी दिनेछ।

यसैगरी इन्टरनेसनल मिट प्रोसेसिङ एभरेष्ट प्रालि पनि मकवानपुरको बकैया गाउँपालिका-५ मा स्थापना हुने भएको छ। कम्पनीको कुल लगानी २५ करोड रुपैयाँ रहनेछ, जसमा १७ करोड रुपैयाँ विदेशी लगानी र ८ करोड रुपैयाँ स्वदेशी लगानी हुनेछ।

उद्योगले वार्षिक ३० हजार टन प्रशोधित मासु, १ लाख १ हजार २ सय ५० टन भैँसीको छाला, १२ हजार टन बोनमिल तथा ३ सय टन कुखुराको खुट्टा उत्पादन गर्ने प्रस्ताव गरेको छ। यस उद्योगबाट ४४० जनाले प्रत्यक्ष रोजगारी पाउने छन्।

परियोजना सञ्चालनमा आएपछि नेपालमा भैँसी पालन, मासु प्रशोधन, कोल्ड चेन, छाला उद्योग तथा सहउत्पादनमा आधारित उद्योगहरूको विस्तार हुने अपेक्षा गरिएको छ। 

यसअघि पनि चीनमा भैँसीको मासु निर्यात गर्नेबारे तयारी भइरहेको थियो। चीनले भारतबाट आयात गरेर नेपालमा बध तथा प्रशोधन गरिएको भैँसीको मासु स्वीकार नगर्ने अडान लिएपछि निर्यात अन्योलमा परेको थियो। चिनियाँ भन्सार प्रशासनले नेपालबाट निर्यात हुने भैँसीको मासु अनिवार्य रूपमा नेपालमै जन्मेर हुर्किएको र ३० महिनाभन्दा कम उमेरको हुनुपर्ने सर्त कडाइका साथ लागु गर्ने सन्देश कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई गएको वर्ष पुसमा नै पठाएको थियो। 


प्रकाशित : शुक्रबार, साउन ८ २०८३१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend