बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

काठमाडौंमा बढ्यो जग्गाको सरकारी मूल्यांकन : चाबहिलमा प्रतिआना ५ लाख ७० हजार रुपैयाँले वृद्धि, कहाँ कति तोकियो?

बुधबार, साउन ६ २०८३
काठमाडौंमा बढ्यो जग्गाको सरकारी मूल्यांकन : चाबहिलमा प्रतिआना ५ लाख ७० हजार रुपैयाँले वृद्धि, कहाँ कति तोकियो?

पुतलीसडक-बागबजार-रत्नपार्क तथा सभागृह आसपासका मुख्य सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन पनि प्रतिआना ५३ लाख २४ हजार रुपैयाँबाट बढेर ५६ लाख रुपैयाँ पुगेको छ।

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि देशभरका भूमि प्रशासन कार्यालयबाट लागु हुने जग्गाको न्यूनतम मूल्यांकन (सरकारी मूल्य) सार्वजनिक गरेको छ।

मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रत्येक भूमि प्रशासन कार्यालयको नयाँ मूल्यांकन पुस्तिका उपलब्ध गराएसँगै काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा जग्गाको सरकारी मूल्य पनि बढेको छ।

उपत्यकाभित्रका भूमि प्रशासन कार्यालय डिल्लीबजार, चाबहिल, कलंकी, टोखा र मनमैजुले नयाँ आर्थिक वर्षका लागि जग्गाको न्यूनतम मूल्यांकन वृद्धि गरेका छन्। भक्तपुरले भने गत आर्थिक वर्षकै मूल्य कायम राखेको छ भने ललितपुरका दुवै भूमि प्रशासन कार्यालयले आर्थिक वर्ष सुरु भइसक्दा पनि नयाँ मूल्यांकन सार्वजनिक गरेका छैनन्।

यसवर्ष सबैभन्दा धेरै वृद्धि भूमि प्रशासन कार्यालय चाबहिलले गरेको छ। चक्रपथसँग जोडिएको गौशालादेखि धोबीखोलासम्मका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना ५७ लाख रुपैयाँबाट बढाएर ६२ लाख ७० हजार रुपैयाँ पुर्‍याइएको छ, अर्थात् प्रतिआना ५ लाख ७० हजार रुपैयाँले वृद्धि भएको हो।

यस्तै मित्रपार्क-कालोपुल-डिल्लीबजार सिमानासम्म, गौशाला-रातोपुल, चाबहिल-पासाङ ल्हामु चोक तथा जोरपाटी सिमानासम्मका मुख्य सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना ५० लाख ६० हजार रुपैयाँबाट बढाएर ५५ लाख ६६ हजार रुपैयाँ कायम गरिएको छ। बौद्ध स्तुपा वरपरका जग्गाको मूल्य पनि प्रतिआना ४४ लाख ५० हजार रुपैयाँबाट बढेर ४८ लाख ९५ हजार रुपैयाँ पुगेको छ।

भूमि प्रशासन कार्यालय डिल्लीबजारले पनि आफ्नो कार्यक्षेत्रका प्रमुख व्यापारिक क्षेत्रको मूल्य बढाएको छ। दरबारमार्ग, न्यूरोड, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, सुन्धारा, माइतीघर, पुतलीसडक, हात्तिसारलगायत मुख्य सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना ७२ लाख ६० हजार रुपैयाँबाट बढाएर ७६ लाख २० हजार रुपैयाँ पुर्‍याइएको छ।

पुतलीसडक-बागबजार-रत्नपार्क तथा सभागृह आसपासका मुख्य सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन पनि प्रतिआना ५३ लाख २४ हजार रुपैयाँबाट बढेर ५६ लाख रुपैयाँ पुगेको छ।

भूमि प्रशासन कार्यालय कलंकीले बल्खुदेखि वनस्थलीसम्म चक्रपथसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना ४७ लाख रुपैयाँबाट बढाएर ४९ लाख ३५ हजार रुपैयाँ कायम गरेको छ। अन्य प्रमुख सडक आसपासका क्षेत्रको सरकारी मूल्य पनि १ लाखदेखि २ लाख ३५ हजार रुपैयाँसम्म बढाइएको छ।

टोखा क्षेत्रमा बुढानीलकण्ठ नगरपालिका-६ र ७ अन्तर्गत नारायणस्थान जाने पिच सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्य प्रति वर्गमिटर ६६ हजार ६ सय रुपैयाँबाट बढाएर ७० हजार रुपैयाँ तोकिएको छ, जुन प्रतिआना करिब २२ लाख २५ हजार ३०० रुपैयाँ बराबर हुन्छ।

मनमैजु क्षेत्रमा मनमैजु पुल, लोकतान्त्रिक चोक, नेपालटार तथा राष्ट्रिय न्यायिक प्रतिष्ठान आसपासका मुख्य सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना २० लाख रुपैयाँबाट बढाएर २२ लाख रुपैयाँ पुर्‍याइएको छ।

यस्तै भूमि प्रशासन कार्यालय भक्तपुरले गत आर्थिक वर्षकै न्यूनतम मूल्यांकनलाई निरन्तरता दिएको छ भने ललितपुरका भूमि प्रशासन कार्यालयहरूले अझै नयाँ मूल्यांकन सार्वजनिक गरेका छैनन्।

मन्त्रालयले सार्वजनिक गरेको न्यूनतम मूल्यांकन रजिस्ट्रेसन, राजस्व निर्धारण, लिखत पारित, बैंकिङ प्रयोजन तथा अन्य सरकारी कारोबारमा आधार मूल्यका रूपमा प्रयोग हुनेछ। हरेक आर्थिक वर्ष स्थानीय बजार अवस्था, पूर्वाधार विकास, सडक पहुँच, व्यापारिक गतिविधि, खरिद-बिक्रीको प्रवृत्ति तथा सम्बन्धित निकायको सिफारिसका आधारमा मूल्य पुनरावलोकन गरिन्छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने न्यूनतम मूल्यांकन समितिमा नापी कार्यालय, कर कार्यालय, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित भूमि प्रशासन कार्यालयका प्रतिनिधि सहभागी हुन्छन्। समितिले जग्गाको सडक पहुँच, उपयोग, वस्तुगत अवस्था, स्थानीय तहको सुझाव र भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिकालाई आधार बनाएर सरकारी मूल्य निर्धारण गर्ने व्यवस्था छ।

मन्त्रालयले सेवाग्राहीलाई सम्बन्धित भूमि प्रशासन कार्यालयको मूल्यांकन पुस्तिका डाउनलोड गरी कारोबारअघि सरकारी मूल्य यकिन गर्न आग्रह गरेको छ। नयाँ मूल्यांकन आर्थिक वर्ष २०८३/८४ भर लागु रहने जनाएको छ।

काठमाडौं उपत्यकामा जग्गाको सरकारी मूल्यांकन : कहाँ कति बढ्यो?

भूमि प्रशासन कार्यालय

प्रमुख क्षेत्र

अघिल्लो न्यूनतम मूल्य

नयाँ न्यूनतम मूल्य

वृद्धि

चाबहिल

गौशाला-धोबीखोला (चक्रपथसँग जोडिएका जग्गा)

प्रतिआना ५७ लाख

प्रतिआना ६२ लाख ७० हजार

५ लाख ७० हजार

चाबहिल

मित्रपार्क-कालोपुल, गौशाला-रातोपुल, चाबहिल-जोरपाटी मुख्य सडक

५० लाख ६० हजार

५५ लाख ६६ हजार

५ लाख ६ हजार

चाबहिल

बौद्ध स्तूपा आसपास

४४ लाख ५० हजार

४८ लाख ९५ हजार

४ लाख ४५ हजार

डिल्लीबजार

दरबारमार्ग, न्यूरोड, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, सुन्धारा, माइतीघर, पुतलीसडकलगायत

७२ लाख ६० हजार

७६ लाख २० हजार

३ लाख ६० हजार

डिल्लीबजार

पुतलीसडक-बागबजार-रत्नपार्क तथा सभागृह क्षेत्र

५३ लाख २४ हजार

५६ लाख

२ लाख ७६ हजार

कलंकी

बल्खु-वनस्थली (रिङरोड/चक्रपथ)

४७ लाख

४९ लाख ३५ हजार

२ लाख ३५ हजार

कलंकी

विष्णुमती पुल-रविभवन, कालिमाटी-बल्खु, सोल्टीमोड-कलंकी

४१ लाख

४३ लाख

२ लाख

कलंकी

टेकु-कालिमाटी क्षेत्र

३१ लाख

३२ लाख ५० हजार

१ लाख ५० हजार

टोखा

नारायणस्थान जाने पिच सडक (बुढानीलकण्ठ-६/७)

करिब २१ लाख १७ हजार

करिब २२ लाख २५ हजार

करिब १ लाख ८ हजार

मनमैजु

मनमैजु पुल-नेपालटार-लोकतान्त्रिक चोक क्षेत्र

२० लाख

२२ लाख

२ लाख

भक्तपुर

सम्पूर्ण कार्यक्षेत्र

यथावत्

यथावत्

वृद्धि छैन

ललितपुर

दुवै भूमि प्रशासन कार्यालय

अझै सार्वजनिक भएको छैन

 


प्रकाशित : बुधबार, साउन ६ २०८३११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend