बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

ऊर्जा व्यापारमा कीर्तिमान : भारत र बंगलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत

बिहीबार , साउन ७ २०८३
ऊर्जा व्यापारमा कीर्तिमान : भारत र बंगलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

देशभित्रै जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको पुष्टि हुन्छ।

काठमाडौं- गएको आर्थिक वर्ष नेपालले बिजुली निर्यातबाट २९ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको छ। नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार २०८१/०८२ र  २०८२/०८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्यांकले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ।

२०८२/०८३ मा भारत तथा बंगलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।

प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७.५६ रुपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आम्दानी भएको हो।

निर्यात आम्दानीमा  वृद्धि हुँदा  बाह्य स्रोतबाट हुने विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो। तर समीक्षा वर्ष २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ।

आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो।

समीक्षा वर्ष २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत हासिल गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको छ।

देशभित्रै जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको पुष्टि हुन्छ।


प्रकाशित : बिहीबार , साउन ७ २०८३०८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend