काठमाडौं- फेसबुकको सञ्चालक कम्पनी मेटाले काठमाडौंमा आफ्नो प्वाइन्ट अफ प्रिजेन्स स्थापना गर्ने घोषणा गरेको छ।
कम्पनीका नेटवर्क रणनीति तथा पियरिङसम्बन्धी प्रतिनिधि म्याट जेन्सेनले दक्षिण एसियाली नेटवर्क अपरेटर समूहको सम्मेलनमा बोल्दै काठमाडौंको डेटा वर्ल्डमा यसै वर्षको अन्त्यसम्म पीओपी सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए।
यो घोषणा नेपालका इन्टरनेट पूर्वाधारका लागि महत्त्वपूर्ण मानिएको छ। मेटाले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सजस्ता सेवाका सामग्री प्रयोगकर्ताको अझ नजिकबाट उपलब्ध गराउन स्थानीय पूर्वाधार विस्तार गरिरहेको बताएको छ। जेन्सेनका अनुसार कम्पनीको रणनीति कन्टेन्टलाई प्रयोगकर्ताको सम्भव भएसम्म नजिक पुर्याउने भएकाले काठमाडौंमा पीओपी स्थापना गर्ने निर्णय गरिएको हो।
डेटा वर्ल्ड इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकको सहायक कम्पनी हो।
कुनै इन्टरनेट वा क्लाउड सेवा प्रदायकले कुनै देश वा सहरमा स्थापना गर्ने स्थानीय नेटवर्क केन्द्र नै पीओपी हो। यसमा कम्पनीका सर्भर, क्यासिङ प्रणाली र नेटवर्क उपकरण राखिन्छन् जसले प्रयोगकर्ताले माग गरेको सामग्री टाढाको अन्तर्राष्ट्रिय डेटा सेन्टरबाट नभइ स्थानीयरूपमा उपलब्ध गराउँछ।
यसले प्रत्येक पटक फेसबुक वा इन्स्टाग्रामको सामग्री अमेरिका वा सिंगापुरजस्ता डेटा सेन्टरबाट ल्याउनुपर्ने आवश्यकता घटाउँछ। स्थानीय पीओपीबाटै सामग्री उपलब्ध हुँदा लेटेन्सी पनि न्यून हुन्छ।
मेटाको पीओपी सञ्चालनमा आएपछि नेपाली इन्टरनेट प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम र अन्य मेटा सेवा द्रुत हुनसक्छ र अन्तर्राष्ट्रिय व्याण्डविथको ट्राफिक पनि घट्नसक्छ।
जेन्सेनले अन्य हाइपरस्केलर कम्पनीहरूको तर्फबाट प्रतिबद्धता जनाउन नसक्ने बताए पनि विगतको अनुभवले मेटाले कुनै नयाँ स्थानमा पीओपी स्थापना गरेपछि त्यहाँ अश्र ठूला प्रविधि कम्पनीहरू पुग्ने गरेको बताए।