मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा किन घटेन?

मंगलबार, साउन १२ २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा किन घटेन?

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटे पनि प्रदेशभित्र चल्ने सवारीसाधन र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छैन।

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झन्डै एक महिना बित्दै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन्।

नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। तर, बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले भने अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन। अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटे पनि प्रदेशभित्र चल्ने सवारीसाधन र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छैन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरेपनि प्रदेश सरकारले आफ्नो प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा समायोजन नगरेको गुनासो गरे।

'हामीले पटक-पटक प्रदेश सरकारलाई वैज्ञानिक ढंगले भाडा समायोजन हुनपर्ने माग राख्दै आइरहेका छौँ', उनले भने, 'बागमती प्रदेशसहित अन्य प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत भाडा समायोजन गर्नमा चासो देखाएका छैनन्। एकातर्फ सर्वसाधारणले महँगो मूल्यमा यात्रा गर्न बाध्य भइरहेका छन्। संघीय सरकारले जस्तै प्रदेशले पनि तत्कालै भाडा समायोजन गर्न जरुरी भइसकेको छ।'

अध्यक्ष सिटौलाले कोशी प्रदेशबाहेक अन्य प्रदेशले प्रदेशस्तरीय भाडा समायोजन गर्न खासै चासो नदिने दाबी गरे। बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत खगेन्द्र पौडेलले मन्त्रालयको नाम र जिम्मेवारी हेरफेर हुँदा बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्नका लागि केही समय लागेको बताए।

'संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्ने गर्छ। तर प्रदेशको भाडा समायोजन प्रक्रिया केही लामो भएकाले पनि केही समय लागेजस्तो भएको हो। अबको केही दिनभित्रै भाडा समायोजन गर्ने गरी काम गरिरहेका छौँ', उनले भने, 'बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा छिट्टै टुंगोमा पुर्‍याउनेछौँ।'

यद्यपि यातायात व्यवस्था विभागले भने अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा समायोजन भने गत असार १८ गते गरेको थियो। त्योबेला विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको थियो।

विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रूपैयाँ ८३ पैसा रहेको थियो भने गत असार १७ गतेदेखि भने १९३ रूपैयाँ ८३ पैसा कायम भएकाले स्वचालित प्रणालीअनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ। रासस


प्रकाशित : मंगलबार, साउन १२ २०८३१५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend