काठमाडौं- अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले अमेरिकामा दर्ता भएका सयौं बोइङ ७३७ म्याक्स विमानका यात्रु सिटको निरीक्षण गर्न प्रस्ताव गरेको छ। केही विमानमा सिटरेलमा सही रूपमा जडान नगरिएको हुन सक्ने रिपोर्ट आएपछि नियामकले यस्तो कदम अघि बढाएको रोयटर्सले समाचार लखेको छ।
एफएएका अनुसार सिटहरू सही रूपमा जडान नगरिए आपत्कालीन अवतरण, तीव्र हावाहुरी वा अन्य उच्च दबाबको अवस्थामा सिट आफ्नो स्थानबाट छुट्टिन सक्छ। यस्तो अवस्थामा यात्रु वा चालक दलका सदस्य घाइते हुने र आपत्कालीन उद्धारका बेला गल्ली (आइल) अवरुद्ध भएर विमान खाली गराउन ढिलाइ हुन सक्ने जोखिम छ।
प्रस्तावित 'एयरवर्दिनेस डाइरेक्टिभ' अमेरिकामा दर्ता भएका ४५३ वटा बोइङ ७३७ म्याक्स विमानमा लागू हुनेछ। यद्यपि एफएएको अधिकारक्षेत्र अमेरिकाभित्र सीमित भए पनि अन्य देशका उड्डयन नियामकहरूले पनि यस्ता निर्देशन प्रायः अनुसरण गर्ने गर्छन्।
उड्डयन परामर्श संस्था आईबीएका अनुसार विश्वभर अहिले करिब २ हजार तीन सय बोइङ ७३७ म्याक्स सेवा सञ्चालनमा छन्। तीमध्ये ८२३ वटा अमेरिका भित्र सञ्चालनमा छन्।
एफएएले प्रत्येक विमानमा अधिकतम ६९ वटा यात्रु सिटको जडान जाँच गर्नुपर्ने जनाएको छ। एउटा सिटको निरीक्षण गर्न करिब एक घण्टा र आवश्यक परे पुनः सही रूपमा जडान गर्न थप एक घण्टा लाग्ने अनुमान गरिएको छ। यसका लागि कुनै नयाँ पुर्जा भने आवश्यक नपर्ने एफएएले जनाएको छ।
बोइङले भने यो समस्याबारे सन् २०२५ को डिसेम्बरमै विमान सञ्चालक कम्पनीहरूलाई प्राविधिक निर्देशन जारी गरिसकेको जनाएको छ। कम्पनीले एफएएले त्यसलाई अनिवार्य बनाउने निर्णयको समर्थन गरेको पनि बताएको छ।
यो निर्देशन बोइङले उत्पादन गुणस्तर सुधार गर्ने प्रयास गरिरहेका बेला आएको हो। सन् २०२४ को सुरुआतमा अलास्का एयरको नयाँ ७३७ म्याक्स विमान उडानकै क्रममा ढोकाको प्यानल छुट्टिएपछि बोइङको उत्पादन गुणस्तरमाथि गम्भीर प्रश्न उठेको थियो।