काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्वानमा अर्थ मन्त्रालयले आज नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिसँग ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना गर्दैछ।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने, निजी क्षेत्रका समस्या तथा सुझाव संकलन गर्ने र उत्पादन तथा लगानी विस्तारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सुधारबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ।
छलफलमा अर्थमन्त्री डा. वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा र विभागका अधिकारीहरूको सहभागिता रहनेछ।
कार्यक्रममा उद्योगीहरूले बजेट कार्यान्वयनका क्रममा देखिएका समस्या, उत्पादन तथा लगानी विस्तारमा रहेका अवरोध र सुधारका लागि आवश्यक सुझाव प्रस्तुत गर्नेछन्।
साथै सरकारले बजेटमा घोषणा गरेका कार्यक्रमहरूको कार्यान्वयन अवस्था, आगामी कार्ययोजना र निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने जनाइएको छ।