काठमाडौं- नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्दै आएको २ वटा ए३३० वाइडबडी जहाजको इन्जिन मर्मत र भाडाका लागि गरेको ग्लोबल टेन्डरमा एक कम्पनीको आवेदन परेको छ।
निगमले अप्रिल ५ मा पहिलोपटक टेन्डर गरेको थियो। उक्त टेन्डरमा कसैले प्रस्ताव पेस नगरेपछि १५ दिनको समय थप गरेको थियो। उक्त समयमा पनि कसैले चासो नदिएपछि निगमले फेरि जुन २५ मा ३० दिनको सयमसीमा राखेर दुईवटा वाइडबडीको चारवटा इन्जिन मर्मत तथा भाडामा लिनेगरी प्रस्ताव माग गरेको थियो। उक्त प्रस्तावमा यूएईको कम्पनीले आवेदन दिएको हो।
निगम स्रोतमा अनुसार अबुधाबीमा मुख्यालय रहेको सनद ग्रुपले इन्जिन मर्मत र भाडाको टेन्डरमा आवेदन पेस गरेको हो। अब निगमले कम्पनीले पेस गरेको प्रस्तावउपर प्राविधिक मूल्यांकन गर्ने छ।
प्राविधिक मूल्यांकनमा सफल भएको अवस्थामा निगमको दुईवटा वाइडबडी जहाजको चारवटा इन्जिन मर्मत तथा इन्जिन मर्मतका समयमा जहाज उडानका लागि इन्जिन भाडामा लिने सम्झौता गर्ने छ।
निगमले एउटा इन्जिन मर्मतमा न्यूनतम १३ मिलियन डलरदेखि १६ मिलियन डलरसम्म लाग्ने अनुमान गर्दै प्रस्ताव माग गरेको छ। एउटा इन्जिन मर्मतमा न्यूनतम १ अर्ब ९० करोडदेखि अधिकतम २ अर्ब ३५ करोड रूपैयाँ लाग्ने अनुमान गरेको हो। सोही हिसाबमा चारवटा इन्जिन मर्मतमा ८ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने निगमको अनुमान छ।
एउटा इन्जिन मर्मतका लागि १ सय २० दिन न्यूनतम समय लाग्ने छ। उक्त समयमा जहाज ग्राउन्डेड गर्नुपर्छ कि त इन्जिन भाडामा लिनुपर्छ। एउटा इन्जिन भाडामा लिँदा दैनिक १३ हजार डलरभन्दा बढी लाग्ने निगमकै अनुमान छ।
यसरी एउटा जहाज उडानका लागि दुईवटा इन्जिन भाडामा लिँदा दैनिक २६ हजार डलरभन्दा बढी लाग्छ। १ सय २० दिनका लागि भन्दै इन्जिन भाडा लिँदा पनि ५० करोड रूपैयाँ लाग्ने अवस्था हुन्छ। निगमको विगतका इतिहास हेर्ने हो भने कुनै पनि जहाजको इन्जिन मर्मत तोकिकएको समयमा भएको छैन। एउटा इन्जिन मर्मतमा वर्षदिनसम्म समय लागेका विगत छ।
रुस र युक्रेन युद्धका कारण पछिल्लो समयमा वायुयानको इन्जिन मर्मत तथा पार्टपुर्जा सहजरूपमा पाउन सकिने अवस्था छैन। जसका कारण निगमको इन्जिन मर्मतको समय निश्चय पनि लम्बिने छ। जति इन्जिन मर्मतको समय लम्बिन्छ निगमलाई उति नै घाटा हुन्छ।
एउटै कम्पनीसँग इन्जिन मर्मत र इन्जिन भाडामा लिने ठेक्का लिँदा इन्जिन मर्मतमा लापरबाही भएको विगतबारे निगम आफै जानकार छ। इन्जिन मर्मतमा जति ढिलाइ भएपनि कम्पनीलाई इन्जिन भाडाबाट रकम पाइरहेको हुन्छ। निगम व्यवस्थापनको उच्च तहमा बसेर काम गर्नेहरुले पनि इन्जिन भाडाकै रकमबाट कमिसन आउने भएपछि एउटै कम्पनीबाट काम गराउने गरेका छन्।
कमिसनको चक्करमा न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडा एउटै कम्पनीबाट गराउँदा निगमले ठूलो आर्थिक भार बेहोरेको थियो।