काठमाडौं- सानिमा बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासअसार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकको मुख्य आम्दानी, खुद नाफा, व्यावसायिक आकार तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सन्तोषजनक सुधार देखिएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको २ अर्ब ५७ करोड २४ लाख रुपैयाँ खुद नाफाको तुलनामा ३८.०१ प्रतिशतको उल्लेख्य वृद्धि हो।
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी १० प्रतिशतले बढेर ६ अर्ब ९९ करोड १५ लाख रुपैयाँ पुगेको छ। यसका साथै खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ पुगेको छ। कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घटेर १ अर्ब ७ करोड ७७ लाख रुपैयाँमा सीमित भएपछि बैंकको सञ्चालन नाफा ४४.४४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
नियमनकारी समायोजन पश्चात् बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड १७ लाख रुपैयाँ कायम भएको छ। जुन अघिल्लो वर्ष २ अर्ब १० करोड २९ लाख रुपैयाँ थियो। १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा कायम भएको छ।
समीक्षा अवधिमा बैंकको कुल निक्षेप ११.२४ प्रतिशतले बढाएर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। ग्राहक कर्जा ११.०२ प्रतिशतले विस्तार गरी १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ छ। बैंकको जगेडा तथा कोष पनि २७.०५ प्रतिशतले बढेर १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
असार २०८३ मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानीरु २५.७५ र प्रतिसेयर नेटवर्थ १८८रुपैयाँ ४२ पैसा पुगेको छ। खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ।
बैंकको आधार दर ४.९१ प्रतिशत, ब्याजदर अन्तर ३.३९ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ८०.७७ प्रतिशत कायम रहेको छ।