काठमाडौं- नेपालमा विद्युत् खपतले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझको ‘पिक आवर’मा विद्युत्को अधिकतम माग ३ हजार २४८ मेगावाट पुगेको छ। यो हालसम्मकै उच्च माग भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आइतबार कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ। यस अवधिमा भारतबाट कुनै पनि बिजुली आयात गरिएको छैन भने २२ हजार १०२ मेगावाट घण्टा बराबरको विद्युत् निर्यात भइरहेको छ।
विद्युत् आपूर्तिमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी रहेको छ। निजी ऊर्जा उत्पादकबाट ४७ हजार ५६३ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट १७ हजार १०८ मेगावाट घण्टा र प्राधिकरणका आफ्नै आयोजनाबाट ८ हजार ९५९ मेगावाट घण्टा बराबरको विद्युत् प्रणालीमा उपलब्ध भएको छ।
प्राधिकरणका अनुसार कुल राष्ट्रिय विद्युत् खपत ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहेको छ।
देशभर भइरहेको वर्षाका बाबजुद विद्युत् प्रणालीमा कुनै उल्लेख्य अवरोध नरहेको प्राधिकरणले जनाएको छ। सम्भावित समस्या समाधानका लागि सातवटै प्रदेश कार्यालय र काठमाडौंमा मर्मतसम्भार टोली तथा प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ।