सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

साढे ६ वर्षपछि आजबाट सञ्चालनमा नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, कुन सवारीले कति तिर्नुपर्छ शुल्क?

सोमबार, साउन ११ २०८३
साढे ६ वर्षपछि आजबाट सञ्चालनमा नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, कुन सवारीले कति तिर्नुपर्छ शुल्क?

नेपालको पहिलो आधुनिक व्यावसायिक सडक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साढे ६ वर्षपछि निर्माण सम्पन्न भएर आज (साउन ११) देखि औपचारिक रूपमा सञ्चालनमा आउने छ।

काठमाडौं- नेपालको पहिलो आधुनिक व्यावसायिक सडक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साढे ६ वर्षपछि निर्माण सम्पन्न भएर आज (साउन ११) देखि औपचारिक रूपमा सञ्चालनमा आउने छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का पदाधिकारीको उपस्थितिमा आज सुरुङमार्ग उद्घाटन गरिनेछ। निर्माण कम्पनी जापानको हाज्मा एन्डो कर्पोरेसनले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।

२०७६ कात्तिक ४ गते निर्माण सुरु भएको यो आयोजना प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने थियो। तर कोभिड–१९ महामारी, स्थानीय अवरोध तथा अन्य प्राविधिक कारणले निर्माणमा ढिलाइ हुँदा आयोजना पूरा हुन ७९ महिना लागेको हो।

सुरुङमार्गको मुख्य सुरुङ २ हजार ६८८ मिटर र आपत्कालीन उद्धार सुरुङ २ हजार ५५७ मिटर लामो छ। आयोजनामा जापान सरकारले करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारले करिब ६ अर्ब रुपैयाँ लगानी गरेको छ। यससँगै आयोजनाको कुल लागत करिब २७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

सुरुङ सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी युसिन–एआरटी जेभीले पाएको छ। चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटीको संयुक्त उपक्रमले पाँच वर्षसम्म सुरुङको सञ्चालन, मर्मतसम्भार, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल संकलन तथा दुवैतर्फका २.८ किलोमिटर पहुँच सडकको नियमित रेखदेख गर्नेछ। सुरुङ चौबीसै घण्टा सञ्चालन हुनेछ र त्यसका लागि करिब १५० कर्मचारी विभिन्न सिफ्टमा परिचालन गरिनेछन्।

उद्घाटनपछि केही दिन सुरुङमार्गको सुरक्षा प्रणाली र ट्राफिक व्यवस्थापनको परीक्षण गरिने भएकाले प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ। परीक्षण अवधिभर कुनै पनि सवारीसाधनबाट टोल शुल्क नलिइने सडक विभागले जनाएको छ। परीक्षण सफल भएपछि सबै प्रकारका अनुमति प्राप्त सवारीसाधन नियमित रूपमा सञ्चालन गरिनेछ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको घुमाउरो र उकालो सडक तथा दैनिक जामबाट यात्रुहरूले राहत पाउने अपेक्षा गरिएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) देखि धादिङको धुनिबेँसी नगरपालिका–सिस्नेखोलासम्म जोडिएको यो सुरुङमार्ग प्रयोग गर्दा झन्डै एक घण्टा यात्रा समय बचत हुनुका साथै इन्धन खपतसमेत घट्ने विश्वास गरिएको छ।

सुरुङमार्गमा अत्याधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ। सिसिटिभी निगरानी, भेन्टिलेसन प्रणाली, दमकल, आकस्मिक उद्धार सेवा, सञ्चार प्रणाली तथा अक्सिजन आपूर्ति व्यवस्थासहितका सुरक्षा पूर्वाधार राखिएका छन्। सम्झौताअनुसार हस्तान्तरणपछि एक वर्षभित्र कुनै प्राविधिक समस्या देखिए निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्नुपर्ने व्यवस्था गरिएको छ।

सुरुङमार्ग सञ्चालनपछि लाग्ने टोल शुल्क

कार, जिप र भ्यान
काठमाडौं प्रवेश : ६५ रुपैयाँ
काठमाडौंबाट बाहिर : ६० रुपैयाँ

मिनीबस, मिनी ट्रक र टिपर

काठमाडौं प्रवेश : ११५ रुपैयाँ
काठमाडौंबाट बाहिर : ८० रुपैयाँ

बस र ट्रक

काठमाडौं प्रवेश : २६० रुपैयाँ
काठमाडौंबाट बाहिर : २०० रुपैयाँ

प्रवेश निषेध गरिएका 

पैदलयात्री
दुईपाङ्ग्रे सवारीसाधन
तीनपाङ्ग्रे सवारीसाधन
डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारी
विस्फोटक पदार्थ बोकेका सवारीसाधन


प्रकाशित : सोमबार, साउन ११ २०८३०६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend