आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

प्राङ्गारिक मलको प्रयोग बढाउन कृषि मन्त्री चौधरीको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १० २०८३
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषि मन्त्री चौधरीको आग्रह

किसानलाई स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै दिगो कृषि प्रणाली अपनाउन आग्रह गर्दै सरकार माटोको स्वास्थ्य सुधारलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ थियो।

काठमाडौं- कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति संरक्षणका लागि स्थानीय स्रोतबाट उत्पादन हुने गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन किसानलाई आग्रह गरेकी छन्। धनुषाका विभिन्न कृषि उद्यमी र किसानका खेतबारीको अवलोकनका क्रममा उनले रासायनिक मलमाथिको निर्भरता घटाउँदै माटो सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन्।

धनुषा भ्रमणका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि तथा चित्रनगरको आँप बगैंचाको अवलोकन गरेकी छन्। उनले किसानसँग प्रत्यक्ष भेटघाट गर्दै माटो सुधारसम्बन्धी विषयमा छलफलसमेत गरेकी थिइन्।

'माटो सुधार नै कृषि सुधारको आधार हो। स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु। यसले रासायनिक मलमाथिको निर्भरता घट्छ र दीर्घकालीन रूपमा माटोको गुणस्तर सुधार हुन्छ', मन्त्री चौधरीले भनिन्।

किसानलाई स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै दिगो कृषि प्रणाली अपनाउन आग्रह गर्दै सरकार माटोको स्वास्थ्य सुधारलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ थियो।

लक्ष्मीनियाँस्थित कस्टम हायरिङ सेन्टरमार्फत किसानलाई आधुनिक कृषि उपकरण सहुलियत दरमा भाडामा उपलब्ध गराइँदै आएको छ। मन्त्री चौधरीले केन्द्रको निरीक्षण गर्दै यसले साना किसानको उत्पादन लागत घटाउन सहयोग पुर्‍याएको उल्लेख गरिन्।

अन्नपूर्ण माछापालन कम्पनीले व्यावसायिक माछापालनसँगै माछाको भुरा, दाना र आवश्यक औषधिको आपूर्ति गर्दै स्थानीय मत्स्य व्यवसायलाई सहयोग गर्दै आएको जानकारी दिइएको छ। मन्त्री चौधरीले चित्रनगरस्थित आँप बगैंचाको पनि अवलोकन गर्दै फलफूल खेतीको व्यावसायीकरणबारे किसानसँग छलफल गरिन्।

 
 
 


प्रकाशित : आइतबार, साउन १० २०८३११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend