आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

फेरियो दुर्गमको पर्याय बनिरहेको घ्याङलेख, कालोपत्रे सडकले बदलियो दैनिकी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १० २०८३
फेरियो दुर्गमको पर्याय बनिरहेको घ्याङलेख, कालोपत्रे सडकले बदलियो दैनिकी

तत्कालीन समयमा कच्ची सडकमा केही बोलेरो गाडीहरू मात्र जोखिमपूर्ण रूपमा सञ्चालन हुने गर्दथे। तर हाल उक्त क्षेत्रको यातायात व्यवस्थामा व्यापक सुधार आएको छ। सडकको स्तरोन्नतिसँगै अहिले यात्रा सहज र सुगम बनेको छ।

काठमाडौं- वर्षौँदेखि दुर्गमको पर्याय बनेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले विकासको नयाँ यात्रामा अघि बढेको छ। पिपलडाँडा-हायूटार-रामपुर सडक कालोपत्रे भएसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन आएको छ।

सहज यातायातको पहुँचले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका सम्भावनालाई नयाँ उचाइ दिएको छ। विगतका समयमा यहाँ दैनिक आवश्यक सामान पिठ्युँमा बोकेर गाउँ पुर्‍याउनुपर्ने बाध्यता थियो। वर्षायाम लागेपछि सडक अवरुद्ध हुँदा गाउँ र सदरमुकामबीचको सम्पर्क नै टुट्ने अवस्था रहन्थ्यो।

विशेषगरी बीपी राजमार्गबाट घ्याङलेख गाउँपालिका भवनसम्म जोड्ने मुख्य सडक नै कच्ची, साँघुरो र अत्यन्तै दुर्गम भएकाले गाउँपालिका पुग्न स्थानीयले निकै सास्ती व्यहोर्नुपथ्र्यो। सेवाग्राही, कर्मचारी तथा जनप्रतिनिधिसमेत वर्षायाममा आवतजावत गर्न कठिनाइमा पर्ने गर्दथे। तर अहिले कालोपत्रे सडकले त्यो कठिन विगतलाई इतिहासमा परिणत गरिदिएको छ।

घ्याङलेख गाउँपालिका-२ का ७८ वर्षीय विन्द्रे स्याङ्तान सडकले गाउँको मुहार फेरिदिएको बताउँछन्। युवावस्थामा दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर गाउँ-शहर धाउनुपरेको सम्झँदै उनी अहिले सवारी साधन गाउँमै पुग्दा जीवन निकै सहज बनेको सुनाउँछन्। उनका अनुसार सडकले केवल यात्रा छोट्याएको छैन, गाउँलेको भविष्य पनि उज्यालो बनाएको छ।

बागमती प्रदेश सरकारले प्रदेशभित्रका २५० वटा सडकलाई प्रादेशिक लोकमार्ग र प्रादेशिक मार्गका रूपमा वर्गीकरण गरी निर्माण तथा विस्तार प्रक्रियालाई तिब्रता दिएको छ। कुल ६ हजार ३ सय ५० किलोमिटर लम्बाइ रहेका यी सडकहरूलाई प्रदेश सरकारको मुख्य कार्यक्षेत्रभित्र राखी प्राथमिकताका साथ काम अघि बढाइएको हो।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाकाअनुसार प्रदेश सरकारले विशेषगरी स्थानीय तहका केन्द्र जोड्ने, एक प्रादेशिक राजमार्गबाट अर्कोलाई जोड्ने र राष्ट्रिय राजमार्गबाट प्रदेशका मुख्य क्षेत्र जोड्ने उच्च सवारी चाप भएका सडकहरूलाई प्राथमिकतामा राखेको छ।

प्रदेश सरकार स्थापना भएयता सडक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको मन्त्रालयको दाबी छ। प्रदेशका १ सय १९ स्थानीय तहमध्ये अब ३० वटा स्थानीय तहका केन्द्र मात्र पक्की सडकले जोडिन बाँकी छन्।

यी केन्द्रहरूलाई जोड्न अब केवल ३०५ किलोमिटर सडक र ९ वटा पुल निर्माण गर्न बाँकी रहेको र यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको सचिव मरहट्टाले जानकारी दिए। यद्यपि, सडक निर्माणले मात्र नागरिकको जीवनस्तरमा ठोस परिवर्तन नआएको अध्ययनले देखाएपछि प्रदेश सरकारले आफ्नो नीतिमा परिमार्जन गरेको छ।

‘सडक निर्माण भए पनि जनताको जीविकोपार्जनमा सुधार आएको वा उद्यमशीलतामा आकर्षण बढेको देखिएन। त्यसैले अब सडक निर्माणसँगै उद्यमशीलतालाई पनि सँगै लैजाने नीतिगत व्यवस्था गरी यस वर्ष बजेट विनियोजन गरिएको छ’ उनले भने।

मन्त्रालयका अनुसार सिन्धुलीको घ्याङलेख, सिन्धुपाल्चोकको पाँचपोखरी, धादिङको रुबी भ्याली र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई विशेष प्राथमिकतामा राखी काम भइरहेको छ। यी क्षेत्रमा स्थानीय तहको केन्द्रदेखि वडासम्मको सडक सञ्जाल विस्तार गर्ने र सडकलाई प्रत्यक्ष रूपमा जनताको जीविकोपार्जन र उद्यमशीलतासँग जोड्ने प्रदेश सरकारको लक्ष्य रहेको छ।

सिन्धुलीको सडक पूर्वाधार विकासमा मुख्य मार्गहरूको स्तरोन्नति र विस्तारलाई आफूले पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जगतबहादुर भ्लोनले बताए।

सिन्धुलीको विकास रणनीतिका बारेमा चर्चा गर्दै प्रमुख सापकोटाले गाउँका भित्री सडकहरूभन्दा पनि रणनीतिक महत्वका मुख्य सडकहरूलाई पूर्णता दिनु आवश्यक रहेको उल्लेख गरे।

विशेषगरी रामपुरदेखि कक्लिङसम्मको सडक खण्डलाई कालोपत्रे गर्ने लक्ष्यका साथ हाल नापजाँचको कार्य अगाडि बढाइएको उनले जानकारी दिए। स्थानीयस्तरबाट शाखा सडक निर्माणका लागि दबाब र माग हुने गरे पनि दिगो विकासका लागि मुख्य सडकलाई सिन्धुलीको एक छेउदेखि अर्को छेउसम्म जोड्नुपर्ने उनको तर्क छ।

यस पूर्वाधार निर्माणको प्रक्रियामा भौतिक पूर्वाधार मन्त्रालय र सम्वद्ध मन्त्रीहरूबाट पूर्ण सहयोग र समन्वय प्राप्त भइरहेको समेत प्रमुख सापकोटाले स्पष्ट पारे। मुख्य सडकको सहज पहुँचले नै समग्र सिन्धुलीको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने विश्वास कार्यालयले लिएको छ।

पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाले बागमती प्रदेश सरकारले गाउँपालिकाका केन्द्रहरूलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई विशेष प्राथमिकता दिँदै पूर्वाधार विकासका कार्यक्रमहरू अगाडि बढाएको बताए।

सिन्धुली जिल्लाका दुर्गम मानिने गाउँपालिकाका केन्द्रसम्म पक्की सडक पुर्‍याउने लक्ष्यका साथ निर्माण कार्य तिब्र पारिएको छ। सापकोटाकाअनुसार प्रादेशिक सडक यातायात गुरुयोजना अन्तर्गत बागमती प्रदेश सरकारले स्वीकृत गरेको ३७ किलोमिटर लामो ‘पिपलभञ्ज्याङ-हायुटर-रामपुर सडक’ को निर्माण कार्य विभिन्न चरणमा अघि बढेको छ।

उक्त गुरुयोजना अन्तर्गतको १२.८ किलोमिटर लामो पिपलभञ्ज्याङ-सिम्ले सडकखण्ड यसअघि नै निर्माण सम्पन्न भइसकेको छ। हाल उक्त सडकमा कार्यालयको बजेटमार्फत सडक हेरालु परिचालन गरी नियमित तथा आकस्मिक मर्मतसम्भार भइरहेको र आगामी आर्थिक वर्षका लागि आवधिक मर्मतको बजेट समेत विनियोजन गरिएको कार्यालय प्रमुख सापकोटाले जानकारी दिए।

सोही सडक खण्डमा पर्ने हाँडीखोला पक्की पुलको हाल बोलपत्र मूल्याङ्कन भइरहेको र सम्झौता हुन बाँकी रहेको जनाइएको छ।

घ्याङ्लेख गाउँपालिकाको केन्द्र हायुटरसम्मको सडक पहुँचका लागि सिम्लेखोलादेखि हायुटर सम्मको १०.२ किलोमिटर सडक खण्डको २०८० सालमा ठेक्का सम्झौता भएको थियो। उक्त सडकलाई अस्फाल्ट कंक्रिट स्तरमा स्तरोन्नति गर्ने कार्य तोकिएको अढाई वर्षको समयसीमा भित्रै सम्पन्न भएको छ।

यस्तै गाउँपालिका केन्द्र हायुटरदेखि सोलाभञ्ज्याङ सम्मको ६.३ किलोमिटर सडकको निर्माण कार्य पनि २०८१ सालमा सम्झौता भई २०८२ सालको समयसीमाभित्र सम्पन्न भइसकेको छ। सोही खण्डमा पर्ने ४० मिटर लामो ‘प्रि-स्ट्रेस’ प्रविधिको ठाडीखोला पक्की पुलको निर्माण कार्य पनि एक वर्षको निर्धारित समयभित्रै सम्पन्न भएको छ।

यसैगरी, तीनपाटन गाउँपालिकाको केन्द्र जोड्ने ३६ किलोमिटर सडकको पनि क्रमशः ठेक्का व्यवस्थापन भई काम अगाडि बढिरहेको छ। अन्य पूर्वाधार निर्माणतर्फ मरिन खोला पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य भइरहेको छ भने सोलाभञ्ज्याङदेखि तामाजोर खोला पुलसम्मको सडक खण्ड हाल ठेक्का आह्वान भई मूल्याङ्कनको चरणमा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

श्री माध्यमिक विद्यालयका शिक्षक मिलन रानामगर २०७१ साल साउन २७ गते नियुक्ति भएपछि भदौ २ गते पहिलोपटक विद्यालय गएका थिए। त्यस समयमा सडकको ट्रयाक भर्खरै खुलेको र यातायातको सुविधा अत्यन्तै न्युन रहेको उनी स्मरण गर्छन्। ‘पिपल’ क्षेत्रभन्दा अगाडि सवारी साधन नचल्ने भएकाले हातमा झोला बोकेर, पहिरो छिचोल्दै पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए। सिमलेको तेर्सो क्षेत्रमा गएको पहिरो र हिलो छिचोल्दै दिउँसो ३ बजे मात्र विद्यालय पुगेर हाजिर भएको अनुभव उनले सुनाए।

उक्त समयमा पुलहरूको अभाव र वर्षायाममा खोलाको बहाव बढी हुँदा यात्रा झनै चुनौतीपूर्ण हुने गरेको थियो। सडकको दुरावस्थाका कारण कतिपय अवस्थामा गन्तव्यसम्म पुग्न नसकेर बीच बाटोमै बास बस्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे।

तत्कालीन समयमा कच्ची सडकमा केही बोलेरो गाडीहरू मात्र जोखिमपूर्ण रूपमा सञ्चालन हुने गर्दथे। तर हाल उक्त क्षेत्रको यातायात व्यवस्थामा व्यापक सुधार आएको छ। सडकको स्तरोन्नतिसँगै अहिले यात्रा सहज र सुगम बनेको छ।

समयमै सवारी साधन उपलब्ध हुने भएकाले आकस्मिक अवस्थामा बिरामीहरूलाई तत्काल अस्पताल पुर्‍याउन समेत सहज भएको रानामगरले बताए। दशकअघिको तुलनामा भौतिक पूर्वाधारमा भएको यो परिवर्तनले स्थानीय बासिन्दा र कर्मचारीहरूको दैनिकीमा ठूलो राहत पुगेको उनको भनाइ छ।

सडक सञ्चालनमा आएपछि स्थानीय उत्पादनले सहज रूपमा बजार पाउन थालेको छ। गाउँमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि उपज केही घण्टामै सिन्धुली, बनेपा, काठमाडौंसम्म पुग्न थालेका छन्।

ढुवानी लागत घटेपछि किसानको आम्दानी बढेको छ भने व्यावसायिक कृषि र पशुपालनप्रति आकर्षण पनि उल्लेखनीय रूपमा वृद्धि भएको स्थानीय बताउँछन्।

गाउँपालिका र हेफर इन्टरनेसनलको सहयोगमा स्थानीयहरू व्यावसायिक बाख्रापालन तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन्। सडकले बजारसँगको पहुँच बढाएपछि जीविकोपार्जनमुखी कृषि आयआर्जनमुखी व्यवसायमा रूपान्तरण हुन थालेको छ।

सडकको पहुँचले शिक्षामा समेत सकारात्मक प्रभाव पारेको छ। विगतमा वर्षायाममा विद्यालय पुग्न कठिनाइ भोग्ने शिक्षक र विद्यार्थी अहिले नियमित रूपमा विद्यालय आउजाउ गर्न थालेका छन्। स्वास्थ्य सेवा लिन पनि स्थानीयले लामो सास्ती व्यहोर्नुपर्ने अवस्था हट्दै गएको छ। गाउँपालिका भवनसम्म सहज पहुँच भएपछि प्रशासनिक सेवा लिन आउने स्थानीयलाई ठूलो राहत पुगेको छ।

यो परिवर्तन बागमती प्रदेश सरकारको पूर्वाधार विकास नीतिको उपज हो। राज्य पुनर्संरचनापछि प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका १ सय १९ स्थानीय तहलाई पालिका केन्द्रबाट राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकामसँग सहज रूपमा जोड्ने लक्ष्यसहित प्रदेश सडक गुरुयोजना कार्यान्वयनमा ल्याएको थियो। प्रदेश सार्वजनिक सडक ऐन, २०७८ बमोजिम वर्गीकरण गरिएका प्रदेश लोकमार्ग र प्रदेश मार्गअन्तर्गत पिपलडाँडा-हायूटार-रामपुर सडक पनि प्राथमिकतामा परेको आयोजना हो।

घ्याङलेख गाउँपालिकाका पाँचवटै वडालाई जोड्ने यस सडकको कुल लम्बाइ ३७ किलोमिटर रहेको छ। हालसम्म २९.३ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न भइसकेको छ भने पाँचमध्ये तीन वटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन्।

पूर्वाधार विकास कार्यालय, सिन्धुलीकाअनुसार पहिलो चरणमा पूर्वाधार विकास कार्यालय रामेछापबाट हस्तान्तरण भएको पिपलडाँडादेखि सिम्लेखोलासम्मको १२.८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो।

निर्माण सम्पन्न भइसकेपछि यस सडकको नियमित मर्मतसम्भार पूर्वाधार विकास कार्यालय सिन्धुलीले गर्दै आएको छ। यस आर्थिक वर्षका लागि पनि सडक मर्मतको बजेट विनियोजन गरिएको छ। यसै चरणमा भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सिम्लेखोलामा करिव २० मिटर लामो पुल निर्माण भएपछि वर्षायाममा स्थानीयले भोग्दै आएको जोखिम अन्त्य भएको छ।

दोस्रो चरणमा सिम्लेखोलादेखि हायूटारसम्मको १०.२ किलोमिटर सडक अस्फाल्ट कालोपत्रे गर्न विसं. २०८० असार १९ गते करिव २४ करोड ८८ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो। उक्त सडक २०८२ पुस २८ गते सम्पन्न भएको हो। त्यस्तै हायूटार-सोलाभञ्ज्याङ खण्डको ६.३ किलोमिटर सडक कालोपत्रेका लागि विसं. २०८१ जेठ १४ गते करिव १० करोड ८० लाख रुपैयाँ लागतमा सम्झौता भई २०८२ कार्तिक २८ गते निर्माण सम्पन्न भएको थियो।

यसै चरणमा घ्याङलेख गाउँपालिका-२ मा पर्ने ठाडीखोलामा ४० मिटर लामो पुल करिव ५ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको छ। २०८१ जेठ १४ गते सुरु भएको निर्माण कार्य २०८२ जेठ १३ गते सम्पन्न भएको हो।

त्यस्तै घ्याङलेख गाउँपालिका-३ मा पर्ने तामाजोर खोलामा ४० मिटर लामो पुल करिव ५ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको छ।

यसरी करिव ४६ करोड ९८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दोस्रो चरणअन्तर्गत १६.५ किलोमिटर कालोपत्रे सडक तथा तामाजोर र ठाडीखोला पुलको उद्घाटन बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले गरेका थिए।

यद्यपि योजना अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन। पिपलडाँडा-रामपुर सडकअन्तर्गत करिब ७.७ किलोमिटर सडक स्तरोन्नति हुन बाँकी छ।

साथै सिम्लेखोला-हायूटार खण्डमा पर्ने हाडी खोलामा वर्षायाममा आवतजावत अझै जोखिमपूर्ण हुने भएकाले त्यहाँ २० मिटर लामो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय सिन्धुलीले ठेक्का प्रक्रिया अघि बढाइसकेको छ।

हायूटार-सोलाभञ्ज्याङ खण्डमा पर्ने मरिण खोलामा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने बहुवर्षीय योजनाका रूपमा प्रश्ताव गरिने तयारी छ।

त्यस्तै सोलाभञ्ज्याङदेखि तामाजोर पुल खण्डमा बजेट विनियोजन भई बोलपत्र मूल्यांकनको चरणमा रहेको छ भने तामाजोरदेखि रामपुरसम्मको बाँकी सडक स्तरोन्नतिका लागि यस आर्थिक वर्षमा ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सडकसँगै घ्याङलेखमा पर्यटनका सम्भावना पनि विस्तार हुन थालेका छन्। बुरा बराजु मन्दिर, हापाचुली डाँडा तथा निर्माणाधीन बौद्ध विश्वविद्यालयजस्ता गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।

कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन गाउँमा होमस्टे तथा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन भइरहेका छन्। स्थानीयका अनुसार सडकले बजार मात्र जोडेको छैन, घ्याङलेखको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई चिनाउने अवसर सिर्जना गरेको छ।


प्रकाशित : आइतबार, साउन १० २०८३१०:४८
  • सम्बन्धित विषय:

  • # बन्दैछ देश
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend