शनिबार, साउन ९ गते २०८३    
शनिबार, साउन ९ २०८३

नेपाल-अष्ट्रेलिया संयन्त्रको तेस्रो बैठक सम्पन्न, शिक्षादेखि पर्यटनसम्मका क्षेत्रमा सहकार्य बढाउन जोड

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन ९ २०८३
नेपाल-अष्ट्रेलिया संयन्त्रको तेस्रो बैठक सम्पन्न, शिक्षादेखि पर्यटनसम्मका क्षेत्रमा सहकार्य बढाउन जोड

त्यसैगरी, नेपाली डायस्पोराको सञ्जाल उपयोग गर्दै जनस्तरको सम्बन्ध सुदृढ गर्ने, आप्रवासन तथा भिसा व्यवस्थापन र ‘सिस्टर सिटी’ सम्बन्ध स्थापना गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।

काठमाडौं- नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। बैठकले दुई देशबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै आपसी हितका विभिन्न विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै पक्षले उच्चस्तरीय राजनीतिक सम्पर्क, जलवायु उत्थानशीलता, हरित अर्थतन्त्र, जलस्रोत व्यवस्थापन, कृषि अनुसन्धान तथा नेपालको राष्ट्रिय प्राथमिकताअनुसार अष्ट्रेलियाको विकास साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्।

बैठकमा व्यापार विस्तार, हवाई सम्पर्क, पर्यटन प्रवर्द्धन, नेपालको जलविद्युत् क्षेत्रमा अष्ट्रेलियाली लगानी, शिक्षा तथा अनुसन्धानका लागि औपचारिक सहकार्यको ढाँचा निर्माणबारे पनि विचार-विमर्श भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, नेपाली डायस्पोराको सञ्जाल उपयोग गर्दै जनस्तरको सम्बन्ध सुदृढ गर्ने, आप्रवासन तथा भिसा व्यवस्थापन र ‘सिस्टर सिटी’ सम्बन्ध स्थापना गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।

दुवै पक्षले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थिति, मानवअधिकार, कार्बन व्यापारसम्बन्धी ढाँचा तथा संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा एकअर्काका उम्मेदवारीलाई पारस्परिक समर्थन गर्ने विषयमा पनि धारणा आदानप्रदान गरेका छन्।

बैठकको सहअध्यक्षता नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभाग (डीएफएटी) अन्तर्गत दक्षिण तथा मध्य एसिया महाशाखाकी प्रथम सहायक सचिव सारा स्टोरीले गरेका थिए।

यसअघि बिहीबार नेपाल-अष्ट्रेलिया व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) अन्तर्गत संयुक्त व्यापार तथा लगानी समितिको पहिलो बैठक पनि काठमाडौंमा सम्पन्न भएको थियो।

अष्ट्रेलियाली प्रतिनिधिमण्डलमा नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसहित गृह मामिला विभाग, रक्षा, शिक्षा तथा अनुसन्धान र विकास सहकार्यसम्बन्धी अधिकारीहरूको सहभागिता थियो। नेपाली टोलीमा परराष्ट्र, अर्थ, उद्योग, गृह, शिक्षा, जल तथा ऊर्जा, कृषि, वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारी सहभागी थिए।

नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्र सन् २०१७ जुलाईमा स्थापना भएको हो। यसको पहिलो र दोस्रो बैठक क्रमशः सन् २०१८ मा काठमाडौं र सन् २०२२ मा क्यानबेरामा सम्पन्न भएका थिए।


प्रकाशित : शनिबार, साउन ९ २०८३१५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend