मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नियमित रेल चल्ने भएपछि खुसी छन् स्थानीय, टिकटको ७० देखि ४५० रुपैयाँसम्म

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १९ २०७८
नियमित रेल चल्ने भएपछि खुसी छन् स्थानीय, टिकटको ७० देखि ४५० रुपैयाँसम्म

कुर्था–जयनगरसम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि ९० र वातावरण अनुकूलित (एसि) सिट सुविधातर्फ ४ सय ५० रूपैयाँ टिकट कायम गरिएको छ। जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट ७० र एसिमा ३ सय ७० रूपैयाँ कायम गरिएको छ।

धनुषा- धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आज शनिबारबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ। 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि रेल सेवा नियमित रुपमा सुरु हुनेछ। 

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रूपैयाँको लागतमा दुई सेट रेल खरिद गरिएको थियो। खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो। पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ। 

रेल उद्घाटनका लागि जयनगर स्टेशन र जनकपुरधाम स्टेशनलाई सजाइएको छ। दुबै स्टेशनमा भर्चुअल विधिबाट हुने उद्घाटन हेर्न एलसिडी टिभी लगाइएको छ भने टेन्ट पण्डालसहित अन्य सरसजावट गरिएको छ। उद्घाटनका सम्पूर्ण तयारी पूरा भएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताए।

उनका अनुसार उद्घाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिनेछन्। प्रधानमन्त्री द्वयले झण्डा हल्लाएपछि रेल गुड्ने छ। विद्यार्थीले पनि झण्डा हल्लाउने छन् र जयनगरबाट जनकपुरको लागि रेल गुड्नेछ। रेल प्रत्येक स्टेशनमा केही समयको लागि रोकिँदै जनकपुरसम्म आइपुग्ने छ। 

महाप्रबन्धक झाले जनकपुर रेल्वे स्टेशनमा एक विशेष कार्यक्रम राखिएको बताए। उनले भने, 'यस कार्यक्रमलाई केन्द्रित गर्दै सङ्घीय सरकारकी भौतीक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवसमेत जनकपुर आइपुग्नु भएको छ । जनकपुर रेल्वे स्टेशनमा रेल आइपुगेपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेशनसम्म पुग्ने र कुर्थाबाट फर्किने बेला फेरि जनकपुर स्टेशनमा ओर्लिनु हुने र त्यहाँ केहीबेरको कार्यक्रम पश्चात् रेल जयनगर फर्किने छ।'

आज उद्घाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् भने उद्घाटन पश्चात् जनकपुरधामको कुर्थास्टेशनदेखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने छ। शनिबारदेखि सुरु हुन लागेको कुर्था–जयनगरसम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि ९० र वातावरण अनुकूलित (एसि) सिट सुविधातर्फ ४ सय ५० रूपैयाँ टिकट कायम गरिएको छ। जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट ७० र एसिमा ३ सय ७० रूपैयाँ कायम गरिएको छ।

लामो समय पश्चात् रेल्वे चल्ने भएपछि स्थानीयवासीमा छुट्टै किसिमको खुसीयाली छाएको छ। आज बिहानैदेखि जनकपुर रेल्वे स्टेशनमा भीडभाड देखिएको छ। 

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो। एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिए। यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउने छन्। तत्काल सञ्चालनमा आउन लागेको यात्रुबाहक रेलगाडी हुन्। अहिले सञ्चालन हुन लागेको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण दुई वर्ष पहिले नै सकिएको थियो। 

नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो। विसं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन। रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो। 

जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत पाँच अर्ब भारु रहेको छ। नेपाल सरकारले रेलगाडीको मूल्य एक अर्ब रहेको छ। विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ। रासस


प्रकाशित : शनिबार, चैत १९ २०७८०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend