काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा कोशी प्रदेशको कृषि क्षेत्रमा मिश्रित सूचकहरू देखिएका छन्। समीक्षा अवधिमा प्रदेशको समग्र कृषि बालीले ढाकेको क्षेत्रफलमा गिरावट आएको छ भने कुल उत्पादन घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कृषि बालीले ढाकेको कुल क्षेत्रफल ०.७ प्रतिशतले घटेको छ। जुन गत वर्षको सोही अवधिमा ३.४ प्रतिशतको गिरावटको तुलनामा भने केही सुधार हो।
क्षेत्रफलका हिसाबले प्रमुख बालीहरूको अवस्था हेर्दा धान बालीले ढाकेको क्षेत्रफल २.० प्रतिशत, आलु १.० प्रतिशत, सनपाट २८.४ प्रतिशत, दलहन ०.३ प्रतिशत र तरकारी तथा बागवानीको क्षेत्रफल ३.७ प्रतिशतले घटेको छ।
केही बालीहरूको क्षेत्रफलमा भने सामान्य वृद्धि देखिएको छ, जसमा मकै ०.३ प्रतिशत, गहुँ र कोदो ०.२ प्रतिशत, जौ ११.२ प्रतिशत, फापर २.५ प्रतिशत, फलफूल २.२ प्रतिशत, मसला ०.९ प्रतिशत, चिया ५.१ प्रतिशत र कफीको क्षेत्रफल १४.४ प्रतिशतले बढेको छ।
क्षेत्रफलसँगै यस वर्ष उत्पादनमा पनि ह्रास आएको छ। गत वर्षको पहिलो ६ महिनामा कृषि उत्पादन ७.० प्रतिशतले बढेकोमा यस वर्षको सोही अवधिमा समग्र कृषि बालीको उत्पादन ४.४ प्रतिशतले घटेको पाइएको छ।
मुख्य खाद्य र नगदे बालीतर्फ प्रदेशकै प्रमुख बाली मानिने धानको उत्पादन ४.० प्रतिशतले घटेको छ। तर, मकैको उत्पादन ०.३ प्रतिशत, गहुँ २.५ प्रतिशत, कोदो ०.३ प्रतिशत, जौं १३.७ प्रतिशत, फापर २.५१ प्रतिशत र आलुको उत्पादन २.० प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी, उपभोक्ताको भान्सासँग प्रत्यक्ष जोडिएको तरकारी उत्पादनमा ६.४ प्रतिशतको गिरावट आएको छ भने फलफूल उत्पादन २.६ प्रतिशत र मसला उत्पादन ११.८ प्रतिशतले घटेको छ। यद्यपि, नगदे बालीतर्फ चियाको उत्पादन ०.९ प्रतिशत र कफीको उत्पादनमा १७.६ प्रतिशतको वृद्धि देखिएको छ।
प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन्। प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको छ।
हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ। यसको बजार मूल्य लगभग २० करोड रुपैयाँ छ। उत्पादित कफीको आधाभन्दा बढी परिमाण विदेश निर्यात हुने गरेको छ। नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकामा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ। कोशी प्रदेशमा सबैभन्दा बढी कफी उत्पादन इलाममा हुने गरेको छ।
इलामका दुई हजार बढी किसानले ९०० हेक्टरमा कफीखेती गर्दै आएका छन्। यहाँबाट ५० मेट्रिक टनको हाराहारीमा कफीको दाना उत्पादन हुने गरेको छ।
धनकुटा, मोरङ, पाँचथरलगायतका जिल्लामा उल्लेख्य क्षेत्रफलमा कफीखेती विस्तार गरिएको छ। बोर्डको तथ्याङ्कअनुसार धनकुटामा ७५०, मोरङमा ५०० र पाँचथर जिल्लामा ३५० हेक्टरमा विस्तार गरिएको छ।
कृषि उत्पादन घट्नुमा सिँचाइको असुविधा र वित्तीय पहुँचमा आएको कमीलाई मुख्य कारण मान्न सकिन्छ। समीक्षा अवधिसम्म कोशी प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको जम्मा ३९.८ प्रतिशत भूभागमा मात्र सिँचाइ सुविधा पुगेको छ।जुन अघिल्लो वर्षको सोही अवधिमा ४०.८ प्रतिशत रहेको थियो। यसरी हेर्दा सिँचाइ सुविधा पुगेको क्षेत्रमा १ प्रतिशतको गिरावट आएको छ।
लगानीको पाटोतर्फ पनि बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा गर्ने लगानी घटाएका छन्। २०८२ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २.० प्रतिशतले कमी आई ५५ अर्ब १६ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ। बैंकहरूले प्रवाह गरेको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश जम्मा ९.० प्रतिशत मात्रै रहेको छ।
पशुपालन तथा अन्य क्षेत्रतर्फ भने दुध र माछाको उत्पादन बढेको छ। समीक्षा अवधिमा दुध उत्पादन १.९ प्रतिशत र माछा उत्पादन १६.५ प्रतिशतले बढेको पाइएको छ। तर, मासु उत्पादनमा ५.१ प्रतिशत, अण्डा उत्पादनमा १८.५ प्रतिशत र ऊन उत्पादनमा ०.४ प्रतिशतको गिरावट आएको छ। यता वन पैदावारतर्फ काठको उत्पादनमा पनि ह्रास आएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल १ करोड ५ लाख ७४ हजार ५२ क्युविक फिट काठ उत्पादन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.२ प्रतिशतले कम हो।
