काठमाडौं- निकासीले भारतको अवरोध भएपछि नेपालका कयौं चिया उद्योग बन्द गर्ने घोषणा भएको छ। निर्यातमा निरन्तरको अवरोधले आजित भउका उद्योगीले उद्योग नै बन्द गर्ने घोषणा गरेका हुन्।
नेपाली चिया उत्पादकले भारतको अवरोधबाट आजित भएको यो पहिलोपटक होइन। यसअघि पनि कयौंपटक यस्ता अवरोधको सामना गर्दै आएका छन्। नेपालमा भित्रिएको दुई शताब्दी, उत्पादन सुरु भएको शताब्दी र व्यावसायिक उत्पादन भएकै सात दशक पुग्दा पनि बैकल्पिक बजारको खोजी नहुँदा नेपाली चिया सँधै भारतको छायामा पर्दै आएको छ।
गुणस्तरको हिसाबले विश्व बजारमा अब्बल ठहरिंदै आएपनि बैकल्पिक बजारको खोजीमा व्यवासायी तथा राज्यले पहल नगर्दा भारतीय चियाको सहायक उपक्रमको हैसियतमा नेपालको चियाँ उद्योग रहँदै आएको छ। नेपालमै उत्पादन भएका थोरै वस्तु छन् जसले विदेशको बजारमा ठाउँ पाउँछन् र नेपालीहरूले आम्दानी गर्छन्। यसमा चिया चर्चितसँगै राम्रो आम्दानीको माध्यम पनि हो। वर्षौंदेखि निर्यातमा उत्साहजक वस्तुका रुपमा हेरिएको चियाको अवस्था पछिल्ला केही वर्षमा भने सुखद छैन।
पछिल्लो तीन वर्षदेखि उत्पादन तथा निर्यातमा देखिएको शिथिलताका पछाडिल निर्यातमा भारतीय अवरोध मुख्य कारण रहेको छ। पछिल्लो समय भारतले नेपालको चिया निर्यातमा विभिन्न समयमा अवरोध सिर्जना गर्दै आएको छ। यो समस्यामा स्थायी समाधान नहुँदा चिया उत्पादकहरू पनि निरास हुन थालिसकेका छन्।
निर्यातका लागि नेपालमा उत्पादित चियाले प्रत्येक पटक भारतबाट गुणस्तरको परीक्षा पास गर्नुपर्छ। यस्तो परीक्षा पास गर्न उत्तिकै सास्ती पनि छ। नेपाली चिया उत्पादक तथा निर्यातकर्ताका लागि यो प्रक्रिया निकै झन्झटिलो छ।
नेपाली चियाको गुणस्तर परीक्षण गर्ने अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परिरहेका छन्। चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि आधारभूत मानिने प्रयोगशाला पूर्वाधारसमेत स्वदेशमा उपलब्ध छैन। पूर्वाधार र पहल नहुँदा वार्षिक १० अर्बको चिया निर्यात गर्न सकिने सम्भावना भएपनि अहिलेसम्म वर्षेनी चार अर्बभन्दा बढीको निर्यात भएको छैन।
नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन। तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ। उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौँ काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन्। परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुन्छ।
नेपाली चिया उत्पादकहरूले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटक-पटक माग गरेका छन्। मुलुकमित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको व्यवसायीहरूको भनाइ छ।
भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्षदेखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको व्यवसायीहरूको गुनासो छ।
नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ वटा सिटिसी गरी ६८ ठूला चिया उद्योग सञ्चालनमा छन्। एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन्। नेपालमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन्। चिया खेतीमा १५ हजार भन्दा बढी साना किसान आवद्ध छन् भने कूल ६० हजारले रोजगारी पाएका बोर्डको तथ्यांक छ।
