काठमाडौं- सामान्यतः वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मानिने नेपालमा यस वर्ष भने भारतीय पर्यटकको उल्लेख्य आगमनले पर्यटकीय गतिविधि असाधारण रूपमा बढेको छ। विशेषगरी पर्यटकीय राजधानी मानिने पोखरा यतिबेला भारतीय पर्यटकले भरिभराउ बनेको छ। लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा होटल, रेस्टुरेन्ट, डुंगा व्यवसायदेखि ट्रेकिङ क्षेत्रसम्म उच्च व्यस्तता देखिएको छ।
फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीहरूले बताएका छन्। तालमा दिनभर डुङ्गाको आवतजावत बाक्लो हुँदा व्यवसायीहरू उत्साहित बनेका छन्। अन्नपूर्ण क्षेत्र, मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर (एबिसी) तथा उपल्लो मुस्ताङलगायतका पदमार्गहरूमा पनि भारतीय पर्यटकको उपस्थिति उल्लेख्य देखिएको छ।
पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटल भरिएका छन्। होटल संघ पोखराका अनुसार नेपाली नयाँ वर्षयता होटलहरूको अकुपेन्सी दर करिब ९० प्रतिशतसम्म पुगेको थियो। लेकसाइड तथा अन्य प्रमुख पर्यटकीय क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ भने ट्राफिक व्यवस्थापनमा समेत दबाब बढेको छ।
ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अफसिजनमा समेत भारतीय पर्यटकको उल्लेख्य उपस्थिति नेपालको पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए। उनका अनुसार भारतमा बढ्दो गर्मी, विद्यालय तथा कलेजहरूको बिदा, धार्मिक आस्था र सामाजिक सञ्जालमार्फत नेपालका गन्तव्यहरूको प्रचारले पर्यटक आगमन बढाएको हो।
आचार्यका अनुसार हिन्दू धार्मिक विश्वासअनुसार जीवनमा एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्ने मान्यता तथा पशुपतिनाथप्रतिको आकर्षणले धार्मिक पर्यटकको संख्या बढाएको छ। त्यस्तै, युवा पुस्ता साहसिक पर्यटनतर्फ आकर्षित हुँदै मर्दी हिमाल, एबिसी र उपल्लो मुस्ताङ जस्ता गन्तव्यमा पुगिरहेका छन्।
उनले पदमार्गहरूमा पर्यटकको चाप यति धेरै रहेको बताए कि अफसिजनमा समेत बास बस्न कोठा पाउन कठिन हुने अवस्था सिर्जना भएको छ। युवा पर्यटकहरू पदयात्रा र बाइकिङमा केन्द्रित हुँदा पाका उमेरका पर्यटकहरू धार्मिक गन्तव्यतर्फ आकर्षित भएका छन्।
पर्यटकको संख्या बढ्नु उत्साहजनक भए पनि व्यवस्थापनका चुनौतीहरू बढेको आचार्यको भनाइ छ। विशेषगरी बसमार्फत आउने समूहगत पर्यटकहरूले सडक किनारमा खाना पकाउने तथा खानपान गर्ने प्रवृत्तिका कारण वातावरणीय र व्यवस्थापकीय समस्या देखिएको उनले बताए। धार्मिक तथा पर्यटकीय मार्गहरूमा व्यवस्थित विश्राम केन्द्र निर्माण गर्न सके पर्यटक व्यवस्थापन प्रभावकारी हुने उनको सुझाव छ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले विगत ३२ वर्षको अनुभवमा यस वर्षजति धेरै भारतीय पर्यटक कहिल्यै नदेखिएको बताए। उनका अनुसार सामाजिक सञ्जालमा मुक्तिनाथ, पोखरा तथा अन्य पर्यटकीय क्षेत्रहरूको व्यापक प्रचारप्रसार, भारतमा बढ्दो गर्मी र नेपाललाई सहज तथा किफायती गन्तव्यका रूपमा लिइनुले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो।
भारत सरकारले विदेशी मुद्रा सञ्चितिमा जोड दिँदै छिमेकी मुलुकहरूको भ्रमणलाई प्रोत्साहन गरेको, बिहारलगायत सीमावर्ती राज्यबाट छोटो समयमै नेपाल पुग्न सकिने सुविधा तथा धार्मिक यात्राका लागि उपलब्ध सहुलियतहरूले पनि भारतीय पर्यटकको संख्या बढाउन भूमिका खेलेको पर्यटन व्यवसायीहरूको विश्लेषण छ।
फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीका अनुसार हाल फेवातालका आठवटै स्टेशनबाट दैनिक ५ हजारदेखि ७ हजार जनासम्मले डुंगा सयर गरिरहेका छन्। भारतीय पर्यटकको बढ्दो उपस्थितिले डुङ्गा व्यवसायीहरूलाई आर्थिक रूपमा ठूलो राहत मिलेको उनले बताए।
व्यवसायीहरूका अनुसार भारतका विभिन्न सहरमा तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुगेकाले त्यहाँका नागरिकहरू शीतल मौसम र प्राकृतिक सौन्दर्यको खोजीमा नेपाल आउने गरेका छन्। पोखराको हिमाली दृश्य, पहाडी वातावरण र फेवातालको आकर्षणले भारतीय पर्यटकहरूलाई विशेष रूपमा लोभ्याइरहेको छ।
पर्यटन व्यवसायीहरूका अनुसार धार्मिक महत्व, प्राकृतिक सौन्दर्य, साहसिक गतिविधि, सहज पहुँच र तुलनात्मक रूपमा किफायती खर्चका कारण नेपाल अहिले भारतीय पर्यटकहरूको पहिलो रोजाइका गन्तव्यमध्ये एक बनेको छ।
