शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, अधिकांश पदमा सर्वसम्मत

शनिबार, जेठ ३० २०८३
इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, अधिकांश पदमा सर्वसम्मत

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। नेतृत्व चयनका क्रममा अधिकांश पदमा सहमति जुटेपछि कोषाध्यक्षबाहेक सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन्।

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। नेतृत्व चयनका क्रममा अधिकांश पदमा सहमति जुटेपछि कोषाध्यक्षबाहेक सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन्।

इप्पानको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार मोहनकुमार डाँगी अध्यक्षमा चयन भएका हुन्।

नेतृत्व चयनको प्रक्रियामा भएको आन्तरिक छलफल र सहमतिपछि वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत चयन भए। उक्त पदका अर्का आकांक्षी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएपछि सहमतिको वातावरण बनेको थियो।

उपाध्यक्ष पदमा पनि सहमति जुटेको छ। भरतबहादुर खत्री र भरतप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएपछि उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध चयन भएका छन्। संशोधित विधानअनुसार सात उपाध्यक्ष रहने व्यवस्था भएकाले बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई मनोनयन गर्ने निर्णय गरिएको छ।

महासचिवमा टेकनाथ (टीएन) आचार्य र उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भएका छन्। महासचिव पदका प्रत्याशी प्रकाशचन्द्र दुलालले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएका थिए।

सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन भएका छन्। कृष्णप्रसाद घिमिरे र दीपक पौडेललाई सचिवमा मनोनयन गरिने निर्णय भएको छ।

सबै पदमा सहमति जुटे पनि कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो। कोषाध्यक्षका उम्मेदवार शंकर बस्याल र मिथुन पौडेलबीच प्रतिस्पर्धा भएकोमा बस्याल निर्वाचित भए। खसेको मतमध्ये बस्यालले २६७ मत प्राप्त गर्दा पौडेलले ८२ मत पाए।

सदस्य पदमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने सर्वसम्मत चयन भएका छन्। इन्दिरा पन्त, सोमनाथ कँडेल, सन्तोषराज नेपाल र बाबुराम थापाले उम्मेदवारी फिर्ता लिएपछि सहमति जुटेको हो।

महिला सदस्यतर्फ चार जनाको उम्मेदवारी परेकामा सिर्जना खड्काले उम्मेदवारी फिर्ता लिएपछि ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगीता धमला निर्विरोध निर्वाचित भएका छन्।

नयाँ प्रस्तावित विधानअनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त, सन्तोषराज नेपाल र बाबुराम थापालाई समेत कार्यसमितिमा मनोनयन गर्ने निर्णय भएको इप्पानले जनाएको छ।

इप्पानले बाहिर चर्चा गरिएजस्तो कुनै उग्र विवाद नभएको र लोकतान्त्रिक अभ्यास, आपसी समझदारी तथा सहमतिका आधारमा सक्षम र बलियो कार्यसमिति गठन भएको जनाएको छ।

नवनिर्वाचित २७ सदस्यीय कार्यसमितिमा केही सदस्यहरू मनोनयनमार्फत थपिनेछन्।


प्रकाशित : शनिबार, जेठ ३० २०८३१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend