पाल्पा- उन्नत जातका धानको उत्पादनमा किसानहरुको आकर्षण बढ्दै गएपछि पाल्पामा पाइने स्थानीय जातका धान प्रायः लोपोन्मुख अवस्थामा पुग्न थालेका छन्।
निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने क्रममा रहेका हुन्।
बढी फल्ने वर्णशङ्कर (हाइब्रिड) जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका उक्त धान विलुप्तोन्मुख हुन गएका हुन्।
यहाँस्थित धानका जातमध्येको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ। माडीफाँटाका ५८ वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनदी धानको च्युराको स्वाद अझै बिर्सन नसकिने बताए।
अर्गेलीका किसान शोभाकर न्यौपानेले अनदीको धान बीउका रूपमा जोगाउन मुस्किल पर्दै गएको बताए । माथागढी गाउँपालिका कसेनीका किसान दिलबहादुर रानाले एक दशकदेखि बजारबाट हाइब्रिड जातका धानको बीउ खरिद गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र पाल्पाका वरिष्ठ बागवानी अधिकृत मनिष पौडेलले स्थानीय समुदायको सक्रिय सहभागिता र सरकारी सहयोगबाट लोपोन्मुख स्थानीय धानलाई पुनर्जीवित गर्न सकिने सम्भावना रहेको बताउँछन्। पाल्पामा सात हजार ३९५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। रासस
