बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

दीपक भट्टसहित ४ जना विरुद्ध बैंकिङ कसुरमा ४२ करोडभन्दा बढी बिगो माग गर्दै उच्च अदालतमा मुद्दा दर्ता

साहिल अग्रवाल र शंकर अग्रवाललाई पक्राउको अनुमति मागियो

बिहीबार , जेठ २८ २०८३
दीपक भट्टसहित ४ जना विरुद्ध बैंकिङ कसुरमा ४२ करोडभन्दा बढी बिगो माग गर्दै उच्च अदालतमा मुद्दा दर्ता

नेपाल राष्ट्र बैंकको प्रतिवेदन र अनुसन्धानका आधारमा दायर अभियोगपत्रमा उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कर्जा दुरुपयोग गरेको आरोप लगाइएको छ।

काठमाडौं- व्यवसायी दीपक भट्ट तथा उद्योगी साहिल अग्रवाल र शुलभ अग्रवाल विरुद्ध बैंकिङ कसुरको अभियोगमा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ ७ पैसा बिगो कायम गर्दै कैद तथा जरिवानाको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदन र अनुसन्धानका आधारमा दायर अभियोगपत्रमा उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कर्जा दुरुपयोग गरेको आरोप लगाइएको छ।

विशेष सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको वाणिज्य इजलासमा दायर गरेको अभियोगपत्रअनुसार जगदम्बा स्टिल्स लिमिटेडले विभिन्न बैंकबाट चालु पुुँजी तथा अल्पकालीन कर्जाका रूपमा लिएको रकम स्वीकृत प्रयोजनभन्दा बाहिर प्रयोग गरी दीपक भट्टको व्यक्तिगत खातामा स्थानान्तरण गरिएको उल्लेख छ। उक्त रकम अन्ततः हिमालयन रि इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर खरिदमा प्रयोग भएको दाबी अभियोगपत्रमा गरिएको छ।

अभियोगपत्रअनुसार २०२१ जुन २७ मा १५ करोड, जुन २९ मा १४ करोड, जुन ३० मा १६ करोड तथा जुलाई १४ मा ९ करोड ५० लाख रुपैयाँ गरी कुल ५४ करोड ५० लाख रुपैयाँ जगदम्बा स्टिल्सबाट भट्टको खातामा पठाइएको देखिएको छ। अनुसन्धान अधिकारीहरूले जग्गा खरिदका लागि ‘बैना’ रकम देखाइए पनि वास्तविक रूपमा उक्त रकम अन्य प्रयोजनमा प्रयोग गरिएको निष्कर्ष निकालेका छन्।

प्रहरी तथा राष्ट्र बैंकको संयुक्त अनुसन्धानले बैंकबाट उद्योग सञ्चालन तथा चालु पुँजीका लागि लिइएको कर्जा रकम व्यक्तिगत खातामा सारेर सेयर लगानीमा प्रयोग गरिएको भन्दै यसलाई योजनाबद्ध कर्जा दुरुपयोगको घटना भएको निष्कर्ष निकालेको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रमा शंकरलाल अग्रवाल ले प्रत्यक्ष रूपमा कर्जा दुरुपयोग नगरे पनि अन्य प्रतिवादीलाई अप्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(६) बमोजिम सजायको माग गरिएको छ। साथै प्रतिवादीहरूबाट पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।

यसैबीच दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छुट्टै अनुसन्धान गरिरहेको अभियोगपत्रमा जनाइएको छ।

फरार रहेका साहिल अग्रवाल र शंकरलाल अग्रवाललाई पक्राउ गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७(२) बमोजिम पक्राउ पुर्जी जारी गर्न सरकारी पक्षले अदालतसमक्ष माग गरेको छ।


प्रकाशित : बिहीबार , जेठ २८ २०८३१८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend