काठमाडौं- सांसद ज्ञानबहादुर शाहीले करछली र भन्सार प्रक्रियासम्बन्धी विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा झुट बोलेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा भएको छलफलमा बोल्दै ज्ञानबहादुर शाहीले करछली, भन्सार छुट तथा इलेक्ट्रिक भेहिकल (ईभी) आयातसँग सम्बन्धित विषयमा अर्थमन्त्रीले प्रस्तुत गरेको विवरण तथ्यमा आधारित नभएको दाबी गरे।
शाहीले गाडी आयात र भन्सार पास हुने मितिबीच देखिएको असमानतालाई प्रश्न उठाउँदै 'गाडी आउँछ २१ गते, भन्सार पास हुन्छ १४ गते' जस्ता तथ्यांकले प्रक्रियामाथि गम्भीर शंका उत्पन्न भएको टिप्पणी गरे। उनले कर दर रेटबारे जानकारी नै नभई ठूलो मात्रामा गाडी आयात हुनु गम्भीर विषय भएको बताए।
उनले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै ईभी गाडीमा प्रयोग हुने मोटर क्षमतामा हेरफेर गरेर तातोपानी, कोरोला र रसुवागढी नाकाबाट कर छुट दिइएको भन्दै करिब २ अर्ब ५० करोड ८३ लाख रुपैयाँ बराबरको राजस्व छुट भएको उल्लेख गरे। साथै, देशभरि गरी कुल ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार रुपैयाँ छुट महसुल तथा करसम्बन्धी विषयमा छानबिन गरी असुलउपर गर्नुपर्ने महालेखा परीक्षकको सुझाव रहेको उनले स्मरण गराए।
शाहीका अनुसार महालेखा परीक्षकको प्रतिवेदनको पेज नम्बर १५२ मा नै उक्त विषयमा स्पष्ट रूपमा छानबिन र असुलउपर गर्नुपर्ने उल्लेख छ। उनले करछलीजस्तो संवेदनशील विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याए।
'हामीले कसैलाई दोषी करार गर्न होइन, तर सत्य तथ्य बाहिर ल्याउन छानबिन समिति चाहिन्छ,' उनले संसदमा भने। उनले सुशासनको पक्षमा विगतमा आफूहरूले समेत आन्दोलन गरेको स्मरण गराउँदै सत्ता परिवर्तनसँगै विषयवस्तु बिर्सिने प्रवृत्ति गलत भएको टिप्पणी गरे।
यसअघि अर्थ मन्त्रालयले कर दरमा कुनै नीतिगत चलखेल नभएको र विभिन्न प्रक्रियागत विषयलाई लिएर उठाइएका प्रश्नहरू अतिरञ्जित भएको विषयमा शाहीले त्यसलाई अस्वीकार गर्दै संसदीय समितिमै अर्थमन्त्रीले गलत जानकारी दिएको दाबी गरेका हुन्।
