बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

९१ दिने ट्रेजरी बिलको ब्याजदर २.६३ प्रतिशतमा झर्‍यो, अन्तरबैंक कारोबार ९ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित

बिहीबार , जेठ २८ २०८३
९१ दिने ट्रेजरी बिलको ब्याजदर २.६३ प्रतिशतमा झर्‍यो, अन्तरबैंक कारोबार ९ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार बैंकहरुको ब्याजदर घट्दो क्रममा रहेको देखाएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार बैंकहरुको ब्याजदर घट्दो क्रममा रहेको देखाएको छ।

प्रतिवेदनअनुसार ट्रेजरी बिलदेखि बैंकहरूको निक्षेप तथा कर्जाको ब्याजदरमा कमी आएको छ भने अन्तरबैंक कारोबार पनि घटेको छ।

राष्ट्र बैंकका अनुसार २०८२ बैशाख मसान्तमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९५ प्रतिशत रहेकोमा २०८३ बैशाख मसान्तमा घटेर २.६३ प्रतिशतमा झरेको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर पनि अघिल्लो वर्षको ३ प्रतिशतबाट घटेर २.७५ प्रतिशत कायम भएको छ।

बैंकहरूको आधार दरमा पनि गिरावट देखिएको छ। २०८३ बैशाख मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.९७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६.१७ प्रतिशत थियो। विकास बैंकहरूको आधार दर ८.२४ प्रतिशतबाट घटेर ६.९५ प्रतिशतमा पुगेको छ भने वित्त कम्पनीहरूको आधार दर ९.११ प्रतिशतबाट घटेर ७.३० प्रतिशतमा झरेको छ।

निक्षेपको ब्याजदर पनि घटेको छ। २०८३ बैशाख मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.३५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ४.३७ प्रतिशत थियो। विकास बैंकहरूको निक्षेप ब्याजदर ५.११ प्रतिशतबाट घटेर ३.७० प्रतिशतमा झरेको छ भने वित्त कम्पनीहरूको निक्षेप ब्याजदर ६.१५ प्रतिशतबाट घटेर ४.५९ प्रतिशत कायम भएको छ।

कर्जाको ब्याजदरमा समेत कमी आएको छ। प्रतिवेदनअनुसार २०८३ बैशाख मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ८.११ प्रतिशत थियो। विकास बैंकहरूको कर्जा ब्याजदर ९.४५ प्रतिशतबाट घटेर ७.८७ प्रतिशतमा आएको छ भने वित्त कम्पनीहरूको कर्जा ब्याजदर १०.३१ प्रतिशतबाट घटेर ९.१४ प्रतिशतमा सीमित भएको छ।

यता अन्तरबैंक कारोबारमा पनि गिरावट देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरूले ८ खर्ब ३४ अर्ब ८६ करोड रुपैयाँ तथा अन्य वित्तीय संस्थाहरूले १ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँ गरी कुल ९ खर्ब ७९ अर्ब ४१ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूले १४ खर्ब ७० अर्ब ८६ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ गरी कुल १६ खर्ब २० अर्ब ५४ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका थिए। यसले अन्तरबैंक कारोबारमा उल्लेख्य संकुचन आएको छ।

तरलता व्यवस्थापनतर्फ ब्याजदरमा आएको निरन्तर गिरावटले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको संकेत गरेको छ भने कर्जा विस्तारको गति अपेक्षाकृत सुस्त रहँदा वित्तीय बजारमा दबाब कम भएको देखिन्छ।

राष्ट्र बैंकले समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत २७ खर्ब ९४ अर्ब रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३४२ खर्ब ७२ अर्ब ६० करोड रुपैयाँ तथा नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ गरी कुल ३७२ खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। सोही अवधिमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएकाले खुद ३७२ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत १९२ खर्ब ३५ अर्ब ६५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो। यसले चालु वर्षमा राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर परिमाणमा तरलता तानेको देखाउँछ।

राष्ट्र बैंकको प्रतिवेदनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता, घट्दो ब्याजदर, विदेशी मुद्रा सञ्चितिमा सुधार तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रीय बैंकले आक्रामक रूपमा तरलता प्रशोचन गरेको छ।

 


प्रकाशित : बिहीबार , जेठ २८ २०८३०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend