बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

रुस र युक्रेन युद्वले नेपालको अर्थतन्त्रमा चुनौती : अर्थसचिव मरासिनी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १५ २०७८
रुस र युक्रेन युद्वले नेपालको अर्थतन्त्रमा चुनौती : अर्थसचिव मरासिनी

अर्थसचिव मधु मरासिनीले पछिल्लो समय रुस र युक्रेन युद्वको कारणले नेपालको अर्थतन्त्रमा चुनौती देखिएको बताएका छन्।

काठमाडौं- अर्थसचिव मधु मरासिनीले पछिल्लो समय रुस र युक्रेन युद्वको कारणले नेपालको अर्थतन्त्रमा चुनौती देखिएको बताएका छन्।

अर्थसचिव मरासिनीले पछिल्लो समय रुस र युक्रेनबीचको द्वन्द्वको कारण पेट्रोलिय पदार्थ, खाद्यान्न लगायतका वस्तु आयातमा देखिएको समस्याको कारण नेपालको अर्थतन्त्रमा ठूलो चुनौती थपिएको बताए। सचिव मरासिनीले बाहिरी कारणले मुलुकको अर्थतन्त्रमा चुनौती थपिएकाले मुलुकभित्र नै उत्पादन, रोजगारी विकास गर्नुपर्ने देखिएको बताए।

मंगलबार काठमाडौंमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा परेको दबाबलाई लिएर अर्थ मन्त्रालय अत्यन्तै चिन्तित रहेको बताए। सचिव मरासिनीले सकेसम्म सरकार अर्थतन्त्रलाई संकटमा पर्न नदिने कुरामा समेत सचेल भएर काम गरिरहेको दाबी गरे।

'देशभित्र नै उत्पादन नबढाइ, रोजगारीको सिर्जना नगरी नहुने रहेछ भन्ने कुरा अहिले देखिएको छ। धेरै देशले त्यही खालको नीति बनाएको छ। अर्थविद्हरूले दिएको सुझावले यस्ता समस्या समाधान गर्न सहयोग मिल्ने छ। अर्थ मन्त्रालय अत्यन्तै चिन्तित छ। तरलता अभाव, रेमिटेन्स र विओपी लसको कुरा निगरानी गरिरहेका छौँ। सकेसम्म अर्थतन्त्रलाई सन्तुलन राख्ने नीति हो’ उनले भने। 

त्यस्तै अर्थविद् डा. पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाडो बनाउने काम भएको बताए। उनले दक्षिण एसियाका मुलुकहरूमा नेपालमा जस्तो सामाजिक सुरक्षा भत्तामा खर्च कुनै पनि देशले गर्ने नगरेको बताए। पाण्डेले नेपाल सरकारले बजेटको १२ प्रतिशत बजेट सामाजिक सुरक्षा भत्ता बाड्ने गरेको बताए।

‘बजेटमा नै हेर्ने हो भने सरकारले १२ प्रतिशत भन्दा बढी सामाजिक सुरक्षामा खर्च गरेका छौँ। यति खर्च दक्षिण एसियामा कुनै पनि मुलुकमा हुँदैन। सामाजिक सुरक्षामा खर्च गर्ने हामीसँग हैसियत छ। गरिवबाट उठाएको पैसा मनपरि बाड्न पाइन्छ। वृद्धाभत्ता भोट किन्ने माध्यम भएको छ' उनले भने, 'सबै वृद्धाहरूलाई भत्ता दिनु पर्ने छन त? नेपालमा ७० वर्ष नागेका गरिव नागरिक पाउन गाह्रो छ। ७० वर्ष पुग्ने सबै धनी हुन्। गरिबबाट उठाएको पैसा धनीहरूलाई बाढी राख्ने हो। यसरी हामी भोट किन्ने हो। हामीले यसरी पैसा छरेर बाँड्नु हुन्न। यसरी मुलुक माथि उकालो लाग्दैन।’

पाण्डेले सरकारले यसरी भोट किन्नको लागि सामाजिक सुरक्षामा पैसा बाड्ने हो भने मुलुक माथि जान नसक्ने बताए।


प्रकाशित : मंगलबार, चैत १५ २०७८१३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend