काठमाडौं- विनायक स्पात प्रालिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण समयमै भुक्तानी गर्न नसकेको अवस्था कायमै रहेपछि इक्रा नेपालले कम्पनीको ऋण रेटिङ पुनः ‘डिफल्ट’ श्रेणीमै कायम राखेको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋणलाई ‘एलडी’ र अल्पकालीन ऋणलाई ‘डी’ रेटिङमा यथावत राखेको हो।
इक्रा नेपालको पछिल्लो मूल्यांकनअनुसार कम्पनीले सन् २०२६ अप्रिल मध्यसम्मको त्रैमासिक अवधिमा ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न ३० दिनभन्दा बढी ढिलाइ गरेको थियो। यसअघि पनि कम्पनीले ऋण भुक्तानीमा यस्तै समस्या देखाएकाले डिफल्ट रेटिङ दिइएको थियो। पछिल्लो मूल्यांकनले कम्पनीको वित्तीय अवस्था अझै सुधार हुन नसकेको संकेत गरेको छ।
इक्रा नेपालका अनुसार कम्पनीले ऋण भुक्तानी नियमित गरेको अवस्थामा पनि कम्तीमा ९० दिनसम्म निरन्तर रूपमा समयमै साँवा–ब्याज बुझाउन सकेपछि मात्रै रेटिङ पुनरावलोकनको सम्भावना रहनेछ। त्यसअघि कम्पनी उच्च जोखिमयुक्त ऋणीको श्रेणीमै रहनेछ।
भैरहवास्थित विनायक स्पातले हाल नयाँ बिलेट उत्पादन प्लान्ट तथा विद्यमान रोलिङ मिलको स्तरोन्नति गरिरहेको छ। करिब २ अर्ब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको वित्तीय प्रगति सन् २०२६ मार्च मध्यसम्म करिब ६४ प्रतिशत पुगेको भए पनि आवश्यक लगानी अझै पूर्ण रूपमा सुनिश्चित भइसकेको छैन।
प्रतिवेदनअनुसार परियोजनाका लागि आवश्यक स्वपुँजीमध्ये करिब ५१ प्रतिशत र आवश्यक ऋण स्रोतको करिब १८ प्रतिशत रकम अझै जुटाउन बाँकी छ। यसले परियोजना सम्पन्नतामा थप जोखिम सिर्जना गरेको इक्रा नेपालको निष्कर्ष छ।
कम्पनीले परियोजनाको वित्तीय संरचना मुख्यतः ऋणमा आधारित राखेको छ। कुल लगानीमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीको अनुपातमा परियोजना निर्माण भइरहेकाले सञ्चालन सुरु भएपछि पनि ऋणको भारी बोझ कायम रहने देखिएको छ। यस्तो अवस्थामा उत्पादन बिक्री र नगद प्रवाह अपेक्षाअनुसार हुन नसके कम्पनीको ऋण भुक्तानी क्षमता थप कमजोर हुन सक्ने विश्लेषण गरिएको छ।
विनायक स्पातको वित्तीय सूचकहरू पनि कमजोर देखिएका छन्। कम्पनीको सञ्चालन आम्दानी लगातार घट्दै गएको छ। आर्थिक वर्ष २०२३ मा १३ करोड ४० लाख रुपैयाँ रहेको आम्दानी आर्थिक वर्ष २०२५ मा झरेर ३० लाख रुपैयाँमा सीमित भएको छ। निर्माणाधीन परियोजनाका कारण उत्पादन तथा बिक्री न्यून हुँदा यस्तो अवस्था आएको जनाइएको छ।
कम्पनीको सञ्चित घाटा पनि उल्लेखनीय छ। सन् २०२५ जुलाई मध्यसम्म पुनर्मूल्यांकन कोष बाहेक कम्पनीको सञ्चित नोक्सानी करिब ४० करोड ९० लाख रुपैयाँ पुगेको थियो। त्यस्तै ऋण-स्वपुँजी अनुपात २२.१ गुणासम्म पुगेको छ, जुन अत्यधिक ऋणभारको संकेत मानिन्छ। ऋण सेवा क्षमता सूचक (डीएससीआर) पनि ०.८ गुणा मात्रै रहेकाले कम्पनीको नगद प्रवाहले ऋण दायित्व सहज रूपमा धान्न नसक्ने अवस्था देखिएको इक्रा नेपालको मूल्यांकन छ।
इक्रा नेपालले कम्पनीलाई स्टिल उद्योगसँग सम्बन्धित संरचनागत जोखिमहरू पनि रहेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा फलाम तथा स्टिलको मूल्यमा हुने उतारचढाव, आयात शुल्क तथा भन्सार नीतिमा सम्भावित परिवर्तन, निर्माण क्षेत्रको सुस्त गतिविधि र बजारमा बढ्दो प्रतिस्पर्धाले कम्पनीको नाफा तथा बिक्रीमा असर पार्न सक्ने बताइएको छ।
पछिल्ला केही वर्षयता नेपालमा निर्माण गतिविधि सुस्त रहेकाले टीएमटी छडको माग पनि दबाबमा छ। यही कारण नयाँ उद्योग सञ्चालनमा आएपछि उत्पादन बिक्रीलाई स्थिर बनाउनु कम्पनीका लागि प्रमुख चुनौती रहने देखिएको छ।
यद्यपि कम्पनीका प्रवर्द्धक पक्षलाई इक्रा नेपालले सकारात्मक रूपमा हेरेको छ। हामा समूहसँग आबद्ध लगानीकर्ताद्वारा प्रवर्द्धित विनायक स्पातको भगिनी संस्था हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज तीन दशकभन्दा बढी समयदेखि स्टिल उद्योगमा सक्रिय छ। नयाँ परियोजनाले बिलेट उत्पादनमार्फत कच्चा पदार्थ आपूर्तिमा आत्मनिर्भरता बढाउने र उत्पादन लागत घटाउने अपेक्षा गरिएको छ।
साथै स्क्र्याप र स्पञ्ज आइरन आयातमा तुलनात्मक रूपमा कम भन्सार लाग्ने व्यवस्थाले पनि कम्पनीलाई केही लागत लाभ मिल्ने इक्रा नेपालको विश्लेषण छ।
हाल विनायक स्पातको कुल ऋण सुविधा ३ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबर रहेको छ। यसमध्ये १ अर्ब ३६ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ३ करोड ६० लाख रुपैयाँ अल्पकालीन ऋण सुविधा रहेको छ। कम्पनीले ऋण भुक्तानी नियमित गर्न नसकेको अवस्था अन्त्य नगरेसम्म र परियोजनाको बाँकी वित्तीय स्रोत सुनिश्चित नगरेसम्म यसको वित्तीय जोखिम उच्च नै रहने देखिएको छ।
