बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै, जयनगर-जनकपुर रेलको उद्घाटन गर्ने

मंगलबार, चैत १५ २०७८
प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै, जयनगर-जनकपुर रेलको उद्घाटन गर्ने

भर्चुअल उद्घाटनपछि जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा रेल यात्रु बोकेर चल्ने छ।

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। तीन दिने भ्रमणका लागि उनी आउँदो १८ गते भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मंगलबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधामन्त्रीको भारत भ्रमणका बारेमा जानकारी दिएकी हुन्। उनले भ्रमणको सम्बन्धमा आवश्यक तयारी अगाडि बढिरहेको बताइन्।

भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित देउवाले संयुक्त रुपमा जयनगर-जनकपुर खण्डमा सञ्चालन हुने रेलको उद्घाटन गर्नेछन्। भर्चुअल उद्घाटनपछि जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा रेल यात्रु बोकेर चल्ने छ।

रेल सञ्चालनका लागि दुविधा देखिइरहँदा गत साता 'रेल्वे अध्यादेश २०७८' जारी भएसँगै रेल सञ्चालनको बाटो खुलेको हो। 

विसं २०७५ मा नै रेलमार्ग निर्माण सकिएको भए पनि कानूनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन। कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो।

२०७७ असोज पहिलो साता जनकपुर आइपुगेको रेल सञ्चालन गर्नेबारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन। सरकारले सबै करसहित एक अर्ब तीन करोड रूपैयाँ बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामानसमेत चोरी भएका थिए। 

जनकपुर-कुर्था-जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु ७० रूपैयाँ र वातानुकुलित सिटमा ३ सय रूपैयाँ भाडा निर्धारण गरिएको छ। 

यस्तै रेल दुर्घटनमा परी कोही कसैको ज्यान गएको खण्डमा सात लाख रूपैयाँसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ।

गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो। सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ। 


प्रकाशित : मंगलबार, चैत १५ २०७८१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend