काठमाडौं- बीवाईडी एटो थ्री कार मोरङको पथरीमा बलेर खरानी भएको दुई सातापछि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले विज्ञप्ति जारी गरेको हो। सर्भिस इन्जिनियर र बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको हेडक्वाटरबाट आएको टोलीले अध्ययन गरेको बताएको साइमेक्सले जारी गरेको विज्ञप्ति र घटनाको फुटेजबीच गम्भीर बेमेल देखिन्छ।
पथरीमा मे ७ मा बीवाईडी एटो थ्रीमा आगलागी भएको भिडियो सामाजिक सञ्जालमा पर्याप्त उपलब्ध छ, त्यो पनि विभिन्न कोण र धुँदा देखिँदादेखि दनदनी गाडी बलेर खरानी भएको, एटो थ्रीको अस्तिपन्जर क्रेनले उठाएर अर्को गाडीमा राखेर लैजाँदासम्मको। आम मानिसले हेरेरै प्रष्ट देख्न सक्छन् कि बीवाईडीको एटो थ्री बलेर खरानी भएको छ। गाडीका कुनैपनि पार्ट सग्लो देखिँदैन।
त्योभन्दा महत्वपूर्ण कुरा जब गाडी उद्दार गर्न क्रेनसहित टोइङ गाडी आएर जलेको एटो थ्री उठाउन खोजियो, सो गाडीको ब्याट्री भएको भागबाट धुवाँ आइनै रहेको भिडियोमा प्रस्ट देख्न सकिन्छ। त्यसपछि टोइङ गर्न आएकाहरुले आगो निभाउन ग्यास सर्किएको पनि भिडियोहरुमा छ।
यहाँ बीवाईडी बिक्रेता साइमेक्सले जारी गरेको घटनाको अनुमानिक विवरण र फोटो भिडियो हेर्दा देखिएका वास्तविकताबीचको फेरक केलाउने प्रयास गरिएको छ। हाइ भोल्टेज ब्याट्री पूर्णतः सुरक्षित रहेको दाबी भने सरासर झुटो हो।
साइमेक्सको विज्ञप्ति : ब्याट्री प्याक पूर्ण सुरक्षित छ, ब्लेड ब्याट्रीमा कुनै थर्मल रनवे वा आन्तरिक सर्ट-सर्किट भएको छैन।
- विश्लेषण : *सेतो धुवाँ (अफ ग्यासिङ) भिडियोको सुरुवातमै गाडीको तल्लो भाग (ब्याट्री प्याक क्षेत्र)बाट तीव्र गतिमा बाक्लो सेतो धुवाँ निस्किएको देखिन्छ। यो लिथियम-आयन/एलएफपी ब्याट्री अत्यधिक तातेर भित्रको केमिकल उम्लँदा (इलेक्ट्रोलाइट भ्यापोराइजेसन) निस्कने ग्यास हो, जुन थर्मल रनवेको पहिलो र मुख्य लक्षण मानिन्छ।
- पड्किएको आवाज (सेल एक्सप्लोइनस) : आगलागीको क्रममा स्पष्ट रूपमा सुनिएका स-साना विष्फोटका आवाजहरू ब्याट्रीका इन्डिभिजुअल सेलहरू आन्तरिक चापका कारण पालैपालो पड्किएका देखिन्छ।
साइमेक्सको विज्ञप्ति : गाडीमा आगो केवल बाह्य स्रोत (सजावट र पात वा चुरोटको ठूटा) बाट मात्र लागेको हो, ब्याट्रीको यसमा कुनै भूमिका छैन।
- विश्लेषण : आगो निभिसकेको ४/५ घण्टापछि क्रेनले गाडी उठाउने क्रममा ब्याट्री प्याकबाट पुनः धुवाँ निस्किएको भिडियोमा देखिन्छ। यदि आगो बाहिरी वस्तुमा मात्र सीमित हुन्थ्यो भने आगो निभेपछि ब्याट्री पूर्णरूपमा निष्क्रिय (डेड) हुनुपर्ने थियो। ५/६ घण्टापछि पनि हल्लिँदा धुवाँ निस्कनुले ब्याट्री भित्रका सेलहरू क्षतिग्रस्त भइ स्टोर्ड इनर्जी लिक भइरहेको र आन्तरिक सर्ट-सर्किट जारी रहेको प्रस्टै बुझ्न सकिन्छ।
साइमेक्सको विज्ञप्ति : ८ इन १ इलेक्ट्रिक पावरट्रेन (भीसीयू, बीएमएस, एमसीयू, मोटर आदि) इन्ट्याक्ट छ र यसमा कुनै क्षति भएको छैन।
- विश्लेषण : जेनजी आन्दोलनमा बाहिरी रूपमा जलाइएका ईभीहरुको अवस्था हेर्दा, उच्च तापक्रममा गाडीका कपर वायरिङ, आल्मुनियम हाउजिङ र संवेदनशील इलेक्ट्रोनिक सेन्सरहरू जलेर नस्ट भएको देखिन्छ। यो घटनामा गरिएको दाबी प्राविधिक रुपमा पनि शंकास्पद देखिन्छ। एटो थ्री बलिरहँदा देखिएको आगोको लप्काले भिषण आगलागी भएको बताउँ छ र त्यो गाडीका पार्टपूर्जा सुरक्षित छ भन्नु हास्यास्पद कुरा हो।
साइमेक्सको विज्ञप्ति : भुइँको सुकेको पात, चुरोटको ठुटो र विवाहको प्रज्वलनशील प्लास्टिक सजावटका कारण बाहिरबाट आगो सुरु भइ ड्यासबोर्ड र क्याबिनमा सल्कियो।
- विश्लेषण : ईभी ब्याट्रीलाई जोगाउन बलियो धातुको हाउजिङ प्रयोग गरिएको हुन्छ। गाडीको बाहिरी भाग र अन्डरबडीमा आफैँ आगो सल्किने कुनै (फायर सेन्सिभिटिभ) कम्पोनेन्ट हुँदैन।
- यदि आगो बाहिरको पात वा सजावटबाट सुरु भएको भए पहिले टायर, बाहिरी बम्पर वा पेन्ट संरचना जल्नुपर्ने थियो। तर भिडियोमा बाहिरी बडी नभइ सिधै गाडीको मुनिबाट प्रेसरका साथ धुवाँ निस्कनु र ड्यासबोर्डको एसी भेन्ट (एचभीएसी भेन्ट)बाट क्याबिन भित्र धुवाँ भरिनुले आगो भित्र भाग (ब्याट्री प्याक)बाट सुरु भइ बाहिर फैलिएको भान हुन्छ।
कम्पनीको रिपोर्ट तथ्यमा भन्दा पनि सम्भावनाहरूमा बढी आधारित देखिन्छ(जस्तै चुरोटको ठुटो खसेको हुनसक्ने, डिकीको नरीवल तथा अन्य समानहरुले बढाएको हुनसक्ने आदि)। नेपालमा यसअघि ब्लेड ब्याट्रीको नेल पेनिट्रेसन टेस्ट(किला प्रहार परीक्षण) गरेर यो कहिल्यै नजल्ने दाबी गरिए तापनि यो घटनाले उक्त दाबीलाई चुनौती दिएको छ। यसको फरेन्सिक अनुसन्धान हुनुपर्ने देखिन्छ। तर साइमेक्स र बीवाईडीले प्रारम्भिक अनुमानमै जसरी आम उपभोक्तालाई ढाँटेका छन् त्यो कम्पनीले सही विवरण बाहिर ल्याउँनेमा संका नै छ।
बीवाईडीको एटो थ्रीको हाइ भोल्टेज ब्याट्री सुरक्षित रहेको बताउने साइमेक्सको तर्कलाई खिल्ली उडाउने अर्को घटना पनि छ। संसारभर कयौँ विद्युतीय कारका हाइ भोल्टेज ब्याट्री जलेका छन्। टेस्लासम्मको मोडल वाई कार जलेर खरानी भएको र कम्पनीले हाइ भोल्टेज ब्याट्री बलेको बताएको थियो। नेपालमै पनि गएको भदौमा भएको जेनजी आन्दोलनमा केही व्यक्तिका निजी विद्युतीय कार र दुई/तीन वटा ब्रान्डका शोरुममै विद्युतीय कार जलेर खरानी भए। यसरी जलेर खरानी भएका विद्युतीय कार कम्पनीहरुले हाइ भोल्टेज ब्याट्री सुरक्षित रहेको बताएनन्। किन की त्यसरी आगलागी भएपछि हाइ भोल्टेज ब्याट्री वा गाडीका अन्य कुनैपनि पार्ट सुरक्षित रहन सम्भव छैन।
पथरीमा जलेर खरानी भएको बीवाईडीको एटो थ्री पनि जेनजी आन्दोलनमा शोरुपमा लगाइएको आगोमा बलेभन्दा कम भयानक तरिकाले बलेको थिएन। त्यति ठूलो लप्कासहित आगो लाग्दा हाइ भोल्टेज ब्याट्रीको थर्मल रनवेमा समस्या देखिएको छैन भनेर साइमेक्सले दाबी गर्नु भनेको नेल पेनिट्रेसन गरेको ब्याट्री बलदैन भनेर यसअघिको प्रचार जस्तै हो, जुन सर्वथा गलत छ।
यस्तो प्रस्ट वास्तविकताका बावजुत साइमेक्स इंक प्रालिले एटो थ्री बलेर खरानी भएको दुई सातापछि जारी गरेको विज्ञप्तिमा मोरङको पथरीमा मे ७ मा आगलागी भएको एटो थ्रीको हाइ भोल्टेज ब्याट्रीसहित बीएमएसलगायत पार्टहरु सुरक्षित रहेको हास्यास्पद जिकिर गरेको हो।
‘नेल पेनिट्रेसन टेस्ट’ र ब्लेड ब्याट्री भएको बीवाईडी गाडीमा पनि लाग्यो आगो
हाइ भोल्टेज ब्याट्री जलेर खरानी : बीवाईडी एटो थ्री आगलागीको सिलसिलेवार व्याख्या
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।