काठमाडौं- गत बिहीबार मोरङको पथरीमा 'बीवाईडी एटो थ्री'मा आगो लाग्यो। बेहुला ओरालेर शीतलमा पार्किङका लागि रुखको छहारीमा लगेर राखियो। पार्किङमा राखेको केहीबेरमा नै एटो थ्रीको तल्लो भाग (जहाँ हाइ भोल्टेज ब्याट्री हुन्छ) बाट धुवाँ निस्कन थाल्यो।
एटो थ्रीमा आगलागी हुन थालेपछि विवाहमा जन्ती गएकादेखि बाटो हिँड्नेसम्मले अनौठो र आश्चर्य मानेर फोटो भिडियो खिचे र सामाजिक सञ्जालमा हाले। दर्जनौँ अनलाइन मिडियाले पनि भिडियो पोष्ट गरे। आगो लाग्न सुरु भएदेखि जलेर टुक्राटाक्री बाँकी भएको एटो थ्री क्रेनले उचालेर अर्को गाडीमा राख्दासम्मको विभिन्न कोणका भिडियो बाहिर आएका छन्।
विद्युतीय कारमा आगलागी हुँदा हाइ भोल्टेज ब्याट्री निकै कममात्र बल्ने गरेको पाइन्छ। यसअघि भएका विभिन्न आगलागीका घटनामा हाइ भोल्टेज ब्याट्री भने सुरक्षित हुने गरेको देखिएको थियो तर बीवाईडी एटो थ्रीमा रहेको ब्लेड ब्याट्री त्यो पनि नेल पेनिट्रेसनसहितको, त्यसमा आगो लाग्नु अस्वाभाविक नै हो।
भिडियोहरुमा देखिएअनुसार एटो थ्रीका चालकले बम्पर खोलेर हाइ भोल्टेज ब्याट्रीको कनेक्सन छुटाएका छन्। त्यसबीच पनि गाडीको पछाडिपट्टीको तल्लो भागबाट ठूलो मुस्लो धुवाँ निरन्तर आएलगत्तै आगो टिपेको हो।
आगो लाग्न थालेको केही बेरमा आगोका लप्काहरु उछिट्टिएको देख्न सकिन्छ। हाइ भोल्टेज ब्याट्री बल्दा सेलहरु पड्कएिर आगोका झिल्का र लप्का उछिट्टिएको हो। यसबारेमा बाहिर आएका भिडियो र त्यसमा मानिसहरुले व्याख्या गरेको अवस्था अध्ययन गरेर एटो थ्रीको हाइ भोल्टेज ब्याट्री जल्दाको घटनालाई व्याख्या गरिएको छ।
१. प्रारम्भिक धुवाँ : भिडियोको सुरुवातमै गाडीको तल्लो भाग (जहाँ हाइ भोल्टेज ब्याट्री प्याक हुन्छ) बाट सेतो र बाक्लो धुवाँ निस्किएको देखिन्छ। यो ब्याट्रीभित्र 'थर्मल रनवे' सुरु भएको संकेत हो।
२. ग्यास निष्कासन : ब्याट्री सेलहरू धेरै तातेपछि त्यसभित्रको चाप बढ्छ र सुरक्षाका लागि राखिएका भेन्टहरूबाट ग्यास बाहिर निस्कन्छ। यस क्रममा 'हिस्सिङ' आवाज आउने र तीव्र गतिमा धुवाँ बाहिर फाल्ने प्रक्रिया देखिन्छ। पथरीमा भएको एटो थ्रीको आगलागीमा यस्तै भएको छ।
३. स्पार्किङ र सानो ज्वाला : धुवाँ निस्किएको केही समयपछि गाडीको मुनिबाट स-साना झिल्काहरू र मधुरो आगोको ज्वाला देखिन थाल्छ। यो ब्याट्रीको केमिकल रियाक्सनले गर्दा उत्पन्न भएको अत्यधिक तापक्रमको नतिजा आगको लाप्काहरु हो।
४. तीव्र प्रज्वलन : ब्याट्री प्याक भित्र एउटा सेलबाट अर्को सेलमा तापक्रम फैलिएपछि आगोले ठूलो रूप लिन्छ। भिडियोहरूमा देखिए अनुसार केही क्षणमै गाडीको मुनिबाट ठूलो ज्वाला निस्किएर टायर र माथिल्लो भागतिर फैलिएको प्रष्ट देखिन्छ।
५. विस्फोटक आवाज : आगो दन्किरहेको बेला साना-साना विस्फोट जस्तो आवाजहरू सुनिन्छन्। यो ब्याट्रीका अलग-अलग सेलहरू फुट्दा वा फुट्ने क्रममा निस्कने आवाज हो। यो आवाज केही सुनिन्छ भने आगो बलिरहँदा लप्काहरु फैलिएकोबाट पनि बुझ्न सकिन्छ।
६. पूर्ण प्रज्वलन : अन्तिम चरणमा आगोले सम्पूर्ण गाडीलाई ढाक्छ। लिथियम-आयन (विशेष गरी ब्लेड ब्याट्री भनिए पनि) ब्याट्रीको आगो निभाउन अत्यन्त कठिन हुन्छ किनभने यसले आफ्नै अक्सिजन उत्पादन गर्न सक्छ र पानीले मात्र सजिलै निभ्दैन। आगो लागेको केही मिनेटमा पथरी नगरपालिकाको दमकल बीवाईडी एटो थ्री बलेको ठाउँमा आइपुग्छ। तर दमकलले जति पानी हालेपनि आगो नियन्त्रणमा आउँदैन।
७. अवशेष : आगो निभिसकेपछि गाडीको मुख्य भाग (च्यासिस) र ब्याट्री राखिएको ठाउँ पूरै जलेर नष्ट भएको देखिन्छ। आगोको लप्का सकिएपनि क्रेनले बलेर लगभग खरानी भएको एटो थ्री क्रेनले उठाएर गाडीमा राखेर लान खोज्दासमेत ब्याट्रीबाट धुँवा आइरहेको भिडियोमा देखिन्छ। त्यसपछि फेरि एकछिन बलेको एटो थ्रीको भुइँमै राखेर धुवाँ आउन छाडेपछि गाडीमा राखिएको छ।
भिडियोहरू हेर्दा आगो ब्याट्री प्याक भएकै क्षेत्रबाट सुरु भएको देखिन्छ। जसले गर्दा यसलाई ब्याट्रीको आन्तरिक सर्ट सर्किट वा बाह्य क्षतिसँग जोडेर हेर्न सकिन्छ। यद्यपि यसको आधिकारिक कारण भने प्राविधिक अनुसन्धान (फरेन्सिक इन्भेस्टिगेसन) पछिमात्र स्पष्ट हुनेछ।
बीवावाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले एटो थ्रीमा आगो लागेको तीन दिन भइसक्दा पनि कुनै प्रतिक्रिया जनाएको छैन।
हाइ भोल्टेज ब्याट्री नै बलेर खरानी भएकाले बीवाईडी कम्पनीले नै यसमा चासो राखेको हुनुपर्छ। विषय जटिल भएकाले अध्ययन भएपछि पनि साइसमेक्स इंक र बीवाईडीले हाइ भोल्टेज ब्याट्री बल्नुको कारण बाहिर ल्याउँछ वा ल्याउँदैन त्यो यकिन छैन।
‘नेल पेनिट्रेसन टेस्ट’ र ब्लेड ब्याट्री भएको बीवाईडी गाडीमा पनि लाग्यो आगो
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।

