काठमाडौं- बीवाईडीको एटो थ्रीमा आगलागी भएको छ। सबैभन्दा सुरक्षित ब्याट्री प्याक बनाएको दाबी गर्ने बीवाईडीको विद्युतीय कारमा समेत आगो लागेको हो। बिहीबार पूर्वी नेपालमा गुडिरहेको एटो थ्रीमा आगो लागेको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।
बीवाईडीले ब्लेड ब्याट्रीलाई सबैभन्दा सुरक्षित भएको र आगो लाग्ने सम्भावना नभएको नेपाली उपभोक्तालाई भन्दै आएको थियो। सोही दाबीलाई पुष्टि गर्न बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले केही वर्षअघि ‘नेल पेनिट्रेसन’ टेस्ट गरेरसमेत देखाएको थियो। तर अहिले त्यही नेल पेनिट्रेसन टेस्ट गरेर बल्दैन भनिएको ब्याट्री प्रयोग भएको एटो थ्री विद्युतीय कारमा आगो लागेको हो।
एक सय वर्षभन्दा बढी इतिहास भएको आईसी इन्जिन कारमा अहिलेपनि बेला बेला आगलागी भएको पाइन्छ। विद्युतीय कारको इतिहास योभन्दा निक्कै कम छ। त्यसमा पनि एलएफपी वा एनएमसी ब्याट्रीयुक्त विद्युतीय कार बजारमा आएको दुई दशक जतिको मात्र इतिहास छ। विभिन्न तहमा ब्याट्रीको परीक्षण भएर सवारीमा प्रयोग हुँदै आएको छ। यसकाबीच पनि विभिन्न प्राविधिक कारणले जुनसुकै ब्रान्डका विद्युतीय कारमा आगलागीको सम्भावना रहन्छ र यदाकदा त्यस्तो भइरहेको समेत पाइन्छ।
बीवाईडी एटो थ्रीमा लागेको आगो सर्ट सर्किटबाट भएको जस्तो देखिँदैन। गुडिरहेको अवस्थामा 'फायर क्याच' भएको हुँदा त्यो हाइभोल्टेज ब्याट्रीमै समस्या देखिएर आगो लागेको हुन सक्छ। हाइभोल्टेज ब्याट्री बलेकाले गाडी पूर्ण रुपमा जलेको देखिन्छ।
साइमेक्सले नेपालमा नेल पेनिट्रेसन गरेर बीवाईडीका विद्युतीय कारमा भएको ब्याट्रीमा आगो लाग्दैन भनेर देखाउन खोजेको थियो। जुन कुरा सरासर गलत थियो। उत्पादक कम्पनी बीवाईडी अटो इन्डस्ट्रीले साइमेक्स इंकलाई यस्तो कच्चा काम किन गर्न दियो?, त्यो आजसम्म खुलेको छैन।
कुनै ल्याब वा प्रमाणित प्राविधिक टोलीबिना नै बीवाईडीले नेपालमा एलएफपी ब्याट्रीभन्दा एनएमसी ब्याट्री छिटो बल्ने भनेर देखाइ प्रचार गरेको थियो। बीवाईडीले बनाएको ब्याट्रीमा पनि आमरुपमा बनेका एलएफपी ब्याट्रीमा प्रयोग भएको तत्वहरु(केमेस्ट्री) समावेश छन्। बीवाईडीले आफ्नो ब्याट्रीमा अलग्गै तत्व भएको भान गराउन खोजी रहेको थियो।
बीवाईडीको ब्लेड ब्याट्री एलएफपी केमेस्ट्रीमै आधारित हो। बीवाईडीको ब्याट्री प्याकिङ प्रविधिमा मात्र भिन्न छ। यदि तुलना नै गर्ने हो भने बीवाईडीले एलएफपी केमेस्ट्री भएकै ब्याट्रीसँग उसको ब्लेड प्याकिङमा आधारित एलएफपी ब्याट्रीसँग नै तुलना गनुपर्ने थियो। तर बीवाईडीले समान केमेस्ट्री भएको एलएफपी ब्याट्रीभन्दा आफ्नो ब्लेड प्याकिङ एलएफपी ब्याट्री सुरक्षित छ भन्नुपर्नेमा केमेस्ट्री नै फरक भएको एनएमसी ब्याट्रीसँग तुलना गरेर त्यो ब्याट्रीलाई बिनाआधार पड्काउनुले विभिन्न शंका उत्पन्न गरेको हो। त्यसको प्रमाणित कहाँ र कसले गर्यो, त्यो एनएमसी ब्याट्री नै थियो वा थिएन, ब्लेड ब्याट्रीको ठाउँमा पातामात्रै पो थियो कि? लगायत गम्भीर प्रश्न त्यतिबेला पनि उठेको थियो।
साइमेक्स इंक प्रालिका सीईओ साहिल श्रेष्ठले बीवाईडी ब्याट्रीको सेल नेपालर्म फेर्न सकिने विषयमा सरासर झुट बोलेका थिए। बीवाईडीको विद्युतीय कार सामान्य कुच्चिँदा मर्मत खर्च गाडीको मूल्यबराबर आएको विषय ढाकछोप गर्ने क्रममा सीईओ श्रेष्ठले नेपालमा फेर्नै ‘असम्भव’ रहेको ब्लेड ब्याट्रीको सेल फेर्न सकिने भन्दै झुट बोलेका थिए।
बीवाईडीले उत्पादन गरेको ब्याट्री मोडुल नभइ सेलमा आधारित रहेको र त्यस्ता सेल जुनमा समस्या आयो त्योमात्र फेर्न सकिने जिकिर उनले गरेका थिए। तर बीवाईडीको ब्लेड ब्याट्री सेलमा आधारित भएपनि कम्पनीले चीन बाहेक कुनै पनि देशमा त्यस्ता सेल फेर्ने अनुमति दिएको छैन। बीवाईडीले हालसम्म चीन बाहेक देशका लागि सेल फेर्ने प्रासिड्युयर नै जारी गरेको छैन। अर्को कुरा आईपी६८ रेटेड ब्याट्री प्याक फेरेपछि लेजर वेल्डिङ गर्नुपर्छ जुन नेपालमा उपलब्ध नै थिएन र छैन। आगो नलाग्ने कुरामात्र होइन बीवाईडी र त्यसका पदाधिकारीले नेपालमा असम्भव रहेको ब्याट्री सेल फेर्ने कुरा सम्भव रहेको भन्दै उपभोक्तालाई गुम्राहमा राखेको र राख्दै आएका छन्।
स्वतन्त्र प्राविधिक टोली, नियामकीय निगरानीबिनाका यस्ता फन्डाबाजीले बीवाईडी जस्तो कम्पनीकै नियतमा संशय पैदा गरेको इन्जिनियरहरुले निष्कर्ष निकालेका थिए। बिजनेस न्युजले बीवाईडीले गरेको नेल पेनिट्रेसनका बारेमा ६ जना मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरहरुसँग कुराकानी गरेको थियो। उनीहरुले उक्त नेल पेनिट्रेसनलाई ‘कथित’ नेल पेनिट्रेसन भनेका छन् भने विदेशमा हो भने यस्तो गर्न नियामकीय स्वीकृतिलगायत धेरै प्रक्रिया पूरा गरेपछि मात्र गर्न पाइन्छ। तर बीवाईडीले नेपालमा जे गरेको थियो, त्यो सर्वथा स्टन्टमात्र भएको इन्जिनियरहरुको निष्कर्ष थियो।
तर बीवाईडीको गाडी बैशाख २४ गते बिहीबार जसरी आगो लाग्यो साइमेक्सको नेल पेनिट्रेसन टेस्टलाई गिज्याइ रहेको छ। नेपालमा बीवाईडीको गाडी आगो लागेर पूर्णरुपमा क्षति भएको सम्भवतः यो पहिलो घटना हो। जुन सुकै ब्याट्री प्रयोग भएपनि वा जुन सुकै फ्युल टाइपको सवारीमा पनि आगलागी हुन सक्छ। सवारी बिक्रेता कम्पनीले यसबारेमा उपभोक्तालाई नेल पेनिट्रेसन जस्ता भ्रामक कुरा देखाएर आगो लाग्दैन भनेर सवारी बिक्री गर्नु हुँदैन।
आगो लागेको बीवाईडी एटो थ्री बागमती प्रदेश ०१ ०३० च ४४८३ नम्बरको हो। यो कार रसुवा भन्सार नाका हुँदै २०८१ जेठ ९ गते नेपाल भित्रिएको थियो। सोही वर्षको कात्तिकमा उक्त कार पहिलोपटक ओमेगा मोटोकर्प प्रालिका नाममा दर्ता भएको देखिन्छ। एलजीएक्ससीई४सीबी३आर२०५५१५९ भिन नम्बर भएको एटो थ्री बोल्डर ग्रे रंकको हो भने करसहित ५५ लाख रुपैयाँमा बिक्री भएको देखिन्छ।
ओमेगा मोटोकर्प बीवाईडीको डिलर हो भने उसले उक्त नम्बरको एटो थ्री झापाको दमकमा रहेको ए कर्न वेर लाई २०८२ असार १५ गते बिक्री गरेको थियो।