काठमाडौ- विद्युतीय गाडी र ब्याट्री उत्पादनमा अब्बल देखिए पनि बीवाईडीले आफ्नो ब्याट्रीभन्दा फारक केमेस्ट्री भएको ब्याट्रीलाई अनावश्यक खिसिट्युरी गरिरहेको छ। नेपालमात्र होइन भारत तथा अस्ट्रेलियामा समेत बीवाईडीले एनएमसी ब्याट्री माथि दागाधरिरहेको छ।
चीनमा बीवाईडीले के गरिरहेको छ, त्यसबारे त्यतिधेरै कुरा बाहिर आउँदैन। भारतमा ‘नियन्त्रित प्रवेश’ पाएको बीवाईडीले दक्षिण एसियामा नेपाल केन्द्रित रहेर काम गरिरहेको छ। नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि मुलतः बीवाईडी अटो इन्डस्ट्रीजकै प्रतिनिधिबाट सञ्चालित रहेको छ। सोहीअनुसार नेपालमा बिक्री भएका अन्य ईभीमा प्रयोग भएका ब्याट्रीलाई गैह्रजिम्मेवार तवरबाट पड्काउने काम भइरहेको छ।
कुनै ल्याब वा प्रमाणित प्राविधिक टोलीबिना नै बीवाईडीले नेपालमा एलएफपी ब्याट्रीभन्दा एनएमसी ब्याट्री छिटो बल्ने भनेर देखाइ प्रचार गरिरहेको छ। बीवाईडीले बनाएको ब्याट्रीमा पनि आमरुपमा बनेका एलएफपी ब्याट्रीमा प्रयोग भएको तत्वहरु(केमेस्ट्री) समावेश छन्। बीवाईडीले आफ्नो ब्याट्रीमा अलग्गै तत्व भएको भान गराउन खोजी रहेको छ।
बीवाईडीको ब्लेड ब्याट्री एलएफपी केमेस्ट्रीमै आधारित हो। बीवाईडीको ब्याट्री प्याकिङ प्रविधिमा मात्र भिन्न छ। यदि तुलना नै गर्ने हो भने बीवाईडीले एलएफपी केमेस्ट्री भएकै ब्याट्रीसँग उसको ब्लेड प्याकिङमा आधारित एलएफपी ब्याट्रीसँग नै तुलना गनुपर्ने हो।
तर बीवाईडीले समान केमेस्ट्री भएको एलएफपी ब्याट्रीभन्दा आफ्नो ब्लेड प्याकिङ एलएफपी ब्याट्री सुरक्षित छ भन्नुपर्नेमा केमेस्ट्री नै फरक भएको एनएमसी ब्याट्रीसँग तुलना गरेर त्यो ब्याट्रीलाई बिनाआधार पड्काउनुले विभिन्न शंका उत्पन्न गरेको छ। त्यसको प्रमाणित कहाँ र कसले गर्यो, त्यो एनएमसी ब्याट्री नै थियो वा थिएन, ब्लेड ब्याट्रीको ठाउँमा पातामात्रै पो थियो कि भन्ने गम्भीर प्रश्न उब्जिएको छ।
स्वतन्त्र प्राविधिक टोली, नियामकीय निगरानीबिनाका यस्ता फन्डाबाजीले बीवाईडी जस्तो कम्पनीकै नियतमा संशय पैदा गरेको इन्जिनियरहरुले निष्कर्ष निकालेका छन्। बिजनेस न्युजले बीवाईडीले गरेको नेल पेनिट्रेसनका बारेमा ६ जना मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरहरुसँग कुराकानी गरेको थियो। उनीहरुले उक्त नेल पेनिट्रेसनलाई ‘कथित’ नेल पेनिट्रेसन भनेका छन् भने विदेशमा हो भने यस्तो गर्न नियामकीय स्वीकृतिलगायत धेरै प्रक्रिया पूरा गरेपछि मात्र गर्न पाइने बताए। तर बीवाईडीले नेपालमा जे गरेको थियो, त्यो सर्वथा स्टन्टमात्र भएको उनीहरुको भनाइ छ।
नेपालमा मात्र होइन बीवाईडीले अस्ट्रेलियामा पनि एनएमसी ब्याट्रीका बारेमा गलत प्रचार गरिरहेको ईभी ग्रुपहरुमा आइरहेको छ। तर त्यहाँ भने बीवाईडीले कथित नेल पेनिट्रेसन गरेको छैन।
अब एपएफपी र एनएमसी ब्याट्री के हो भन्नेतर्फ लागौँ। यी दुवै ब्याट्री लिथियम ब्याट्री नै हुन्। तर ब्याट्रीमा प्रयोग हुने तत्वहरुले गर्दा भने यसको दक्षता र तत्वबीचको सन्तुलनमा फरक हुन्छ।
एलएफपी ब्याट्रीभित्र के हुन्छ?
एलएफपी ब्याट्रीमा विभिन्न तत्वहरुको मिश्रणबाट सेल बनाइन्छ। एलएफपी ब्याट्रीमा क्याथोड ४३ प्रतिशत, एनोड ३१ प्रतिशत, इलेक्ट्रोलाइट २० प्रतिशत, सेल कन्टेनर ४ प्रतिशत र सेपरेटर २ प्रतिशत प्रयोग गरिएको हुन्छ।
क्याथोड ब्याट्रीको यस्तो सकारात्मक इलेक्ट्रोड हो जसले पर्फमेन्स बढाउन सहयोग पुग्छ। यसले ब्याट्रीमा ऊर्जा सञ्चय बढाउन, चार्जिङ र डिसचार्जिङ स्पीड तथा जोखिम कम गराउँछ।
एलएफपी ब्याट्रीमा क्याथोड कम्पोजिसनमा तीन महत्वपूर्ण तत्वहरु हुन्छन्। त्यसमध्ये फोसफेट ६१ प्रतिशत, आइरन ३५ प्रतिशत र लिथियम ४ प्रतिशत रहेको हुन्छ।
एनएमसी ब्याट्रीभित्र के हुन्छ?
एनएमसी ब्याट्रीमा क्याथोडका रुपमा निकेल, म्यांगनिज र कोबल्टको संयोजन प्रयोग गरिएको हुन्छ। यो ब्याट्रीमा क्याथोड सामग्रीको रुपमा निकेल, म्यांगनिज र कोबाल्टको मिश्रण रहेको हुन्छ। यो केमेस्ट्रीको ब्याट्रीमा उच्च ऊर्जा सञ्चय गर्ने क्षमता भएको निकेलको प्रयोग मुख्य रुपमा भएको हुन्छ। ब्याट्रीको पावर आउटपुट बढाउन र थर्मल स्ट्याबिलिटीका लागि म्यांगनिजको प्रयोग र लाइफ साइकल बढाउन र ब्याट्रीको संरचनागत स्थिरताका लागि कोबाल्टको प्रयोग गरिएको हुन्छ।
एनएमसी १११ मा ३३ प्रतिशत निकेल, ३३ प्रतिशत म्यांगनिज र ३३ प्रतिशत कोबाल्ट, एनएमसी ५३२ मा ५० प्रतिशत निकेल, ३० प्रतिशत म्यांगनिज र २० प्रतिशत कोबाल्ट, एनएमसी ६२२ मा ६० प्रतिशत निकेल, २० प्रतिशत म्यांगनिज र २० प्रतिशत कोबाल्ट र एनएमसी ८११ मा ८० प्रतिशत निकेल, १० प्रतिशत म्यांगनिज र १० प्रतिशत कोबाल्ट प्रयोग भएको हुन्छ। यी केमेस्ट्रीमा जति धेरै प्रतिशत निकेल छन् तीनको इनर्जी डेनसिटी उच्च हुन्छ।
यसरी नितान्त फरक केमेस्ट्री भएको एलएफपी ब्याट्री र एनएमसी ब्याट्रीबीच नेल पेनिट्रेसनका नाममा गरिएको तुलना अव्यावहारिक र बेमेलपूर्ण रहेको देखिन्छ। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले कुनै प्राविधिक पुस्ट्याइँ नभइ र स्वतन्त्र प्राविधिक वा परीक्षण प्रयोगशालाको अनुमति नलिइ कथित नेल पेनिट्रेसन गरेको हो।
यस्तो नेल पेनिट्रेसन कति व्यावहारिक, तुलना योग्य हो वा होइन, यो प्रमाणित हुने आधार छ वा छैन, फन्डामात्र त होइन? भन्ने विषयमा ईभी ब्याट्रीमै चासो राख्ने र अध्यनन गरिरहेका प्राविधिकहरुको (मेकानिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियर) राय बिजनेस न्युजले लिएको छ। विद्युतीय सवारी र यसमा प्रयोग भएको ब्याट्रीलगायत कुरा मेकानिकल पाटो जति महत्वपूर्ण छ इलेक्ट्रोनिक पाटो पनि त्यति नै महत्वपूर्ण रहेको छ।
ओपिनियन १
ईभी ब्याट्री निर्माताहरुले मुख्यगरी संरचनामा भन्दा मौलिक रसायनमा बढी ध्यान दिएका हुन्छन्। केवल आकार वा संरचनाभन्दा रसायनको समिश्रण र तिनले गर्ने काममा ब्याट्री उपादेयता झल्किन्छ। यसलाई व्यवस्थित रुपमा बुझौँ।
एलएफपी र एनएमसीको रसायनमा हुने मुख्य भिन्नताहरु :
एनएमसी र एलएफपी ब्याट्रीमा रसायनको तुलना हो न कि परम्परागत संरचनागत वा डिजाइनको भिन्नता मात्र होइन। एलएफपी ब्याट्री कम ऊर्जा घनत्व भएको, कम मूल्यमा बन्ने र लामो समयसम्म चल्ने हुन्छ। तर प्रतिकिलोवाट आवरमा ऊर्जा स्टोर गर्ने क्षमता कम हुने भएकाले यसको आकार ठूलो हुने गर्छ।
एनएमसी ब्याट्रीको दक्षता राम्रो हुन्छ तर तुलनात्मकरुपमा महँगो हुन्छ। यसको इनर्जी डेन्सिटी (ऊर्जा सञ्चय घनत्व) बढी हुन्छ। निकेल र कोबाल्टको मात्राअनुसार तुलनात्मकरुपमा एनएमसी ब्याट्रीको लाइफ साइकल कम हुन्छ।
ब्लेड ब्याट्रीले रसायनको सीमितताहरु किन परिवर्तन गर्दैन? ब्लेड ब्याट्री पनि एलएफपी रसायनयुक्त नै हो। ब्लेड आधारको प्याकिङले सेलहरुलाई थप व्यवस्थित गरेर राखेको हुन्छ। ब्लेड प्याकिङले ब्याट्रीमा के सुधार गर्छ त? ब्लेड प्याकिङ उच्च प्याकिङ घनत्व, राम्रो ताप वितरण, संरचनात्मक आकर्षण हुन्छ। एलएफपी ब्लेड ब्याट्री प्याकिङले ऊर्जा घनत्व बढाउँदैन (एनएमसी ब्याट्रीको भन्दा कमै हुन्छ), चिसो ठाउँमा एलएफपी रसायन भएको ब्याट्रीले राम्रो प्रदर्शन गर्न सक्दैन, ब्लेढ ढाँचाले एलएफपीमा अन्तरनिहित गुणहरुमा सुधार गर्न सक्दैन।
यसरी हेर्दा ब्याट्रीको तुलना ब्लेड वा अन्य ब्याट्रीबीचमा भन्दा त्यसको रसायनमा हुनुपर्छ।
दुई रसायनयुक्त ब्याट्रीको तुलना कसरी हुनुपर्छ त? ब्लेड ब्याट्री (जुन केवल प्याकिङ डिजाइनमात्र हो) भर्सेस एनएमसी (जुन ब्याट्रीमा प्रयोग भएको रसायन हो) को सही तरिका भनेको ऊर्जा घनत्व(डब्लूएच/केजी र डब्लूएच/एल), लाइफ साइकल, थर्मल स्ट्याबिलिटी, चार्ज रेट र चिसो मौसममा हुने दक्षतामा हुनुपर्छ। रसायन, ऊर्जा घनत्व र रियल वर्ल्ड क्षमतामा नभइ ब्याट्री प्याक डिजाइनमा हुने तुलना केवल भ्रामक हो।
एलएफपी ब्लेड र सामान्य एलएफपी ब्याट्रीको तुलना गर्दा ब्लेड ब्याकिङले ब्याट्रीको दक्षता सुधार हुन्छ? एलएफपी ब्लेड र एनएमसी (मोड्युल बेस) को तुलना रसायर र रसायनबीच, रियल वर्ल्ड टेस्ट र तौल, आकार र लागतको विश्लेषणमा हुनुपर्छ।
एलएफपी रसायनयुक्त ब्याट्रीको ब्लेड प्याकिङले दक्षतामा धेरै ठूलो फरक ल्याउँदैन। कयौँ ठूला कम्पनीहरुले एनएमसी ब्याट्री प्रयोग गरिरहेका छन्। जसको फायर रिस्क हाइ भए पनि हालसम्मको प्रयोगको संख्या हेर्दा आगलागीको घटना न्यून नै रहेका छन्।
निष्कर्ष : मार्केटिङ भर्सेस वास्तविकता
ब्लेड ब्याट्री, ब्याट्रीको नयाँ रसायन संयोजन होइन केवल प्याकिङ गर्ने तरिका हो। एलएफपी ब्याट्रीमा एनएमसीमा भन्दा कम ऊर्जा घनत्व हुन्छ भन्ने कुरालाई अयोग्य तुलनाले फेरबदल ल्याउन सक्दैन। तुलना गर्ने नै हो भने रसायनको तुलना (ऊर्जा, ड्युरेबिलिटी, सुरक्षा र लागत) मा हुनुपर्छ, फर्म फ्याक्टर तुलना हुनुपर्छ।
अन्तमा ब्याट्रीमा प्रयोग भएको रसायनले कार्यदक्षता निर्धारण गर्छ भने डिजाइन (ब्लेड प्याकिङ) ले रसायनको सीमाभित्र दक्षता सुधार गर्दछ।
ओपिनियन २
केमेस्ट्री फारक भएका ब्याट्रीबीच नेल पेनिट्रेसनको तुलना ठिक हो वा होइन भन्नुपूर्व बीवाईडीको ब्लेड ब्याट्री के हो भनेर बुझ्नु आवश्यक छ। बीवाईडीको ब्लेड ब्याट्रीको रसायन लिथियम आइरन फोसफेट(एलएफपी) हो र यो प्रिजमेटिक सेल टू प्याक(सीटीपी) कन्फिगरेसनमा डिजाइन गरिएको छ।
बीवाईडीले आफै ब्याट्री उत्पादन गर्छ र यसलाई ब्लेड ब्याट्री भनेर नाम दिइएको छ। यो नयाँ केमेस्ट्री भएको ब्याट्री नभएर समान एलएफपी ब्याट्री नै हो र यसको प्याकिङ भने ब्लेड फर्ममा छ। बीवाईडीले मार्केटिङ फन्डाको रुपमा प्रयोग गरेको ब्लेड ब्याट्रीलाई बीवाईडी एलएफपी ब्याट्री भन्नुपर्ने हो। सबैले बुझ्नुपर्ने के हो भने ब्लेड ब्याट्रीको मुख्य रसायन एलएफपी नै हो र सीएटीएल तथा अन्य निर्माताहरुले बनाउने ब्याट्री पनि एलएफपी केमेस्ट्री नै प्रयोग भएको हुन्छ।
ब्लेड ब्याट्री अन्य नयाँ ब्याट्रीभन्दा प्याकिङमात्र फरक हुने भएकाले यो मार्केटिङ नाममात्र फरक हो। सीएटीएल र एसएआईसीले बनाएको ब्याट्री पनि प्रिजमेटिक सीटीपी ब्याट्री हुन् जुन कयौँ कारमा प्रयोग भएर नेपाल पनि आइसकेका छन्। उक्त ब्याट्री ब्लेड ब्याट्रीसँग लगभग मिल्दो छ।
अब कुरा आयो बीवाईडीको नेल पेनिट्रेसनको। बीवाईडी एलएफपी ब्याट्रीलाई एनएमसी ब्याट्रीसँग तुलना गर्नु ठिक छ? बिल्कुलै ठिक छैन, हुँदैन। किनकि कुनै पनि वस्तुको तुलना सोही वस्तुबीचमात्रै गर्नुपर्छ। एलएफपीलाई पनि एलएफपीसँग नै तुलना गर्नुपर्छ, न कि रसायन नै फरक भएको एलएफपी र एनएमसीबीच। एलएफपी र एनएमसी ब्याट्रीमा प्रयोग भएको रसायन नै फरक छ, जुन आधारभूत भिन्नता हो।
बीवाईडीले नेल पेनिट्रेसनको नाममा एउटा अवास्तविक दृष्य देखाउँछ, जुन लगभग असम्भव छ। किनकि ब्याट्री प्याक विभिन्न तहमा सुरक्षित बनाइएको हुन्छ। ब्याट्री प्याकलाई सामान्य बुलेटले पनि असर गर्न नसक्ने गरी बनाइएको हुन्छ, नेलले छेड्ने त धेरै परको कुरा।
जुन केमेस्ट्रीमा बनेको भए पनि अहिलेको ब्याट्रीमै कुलिङ सिस्टम र सुरक्षित रिलिजको विकास गरिएको हुन्छ, जसका कारण कुनै घर्षण वा धेरै ठूलो दबाबमा आगो लाग्ने जोखिम न्यून हुन्छ वा लगभग हुँदैन। एनएमसी ब्याट्रीको आफ्नै विशेषता छ र यो महँगो पनि छ। एनएमसी ब्याट्री टेस्ला, मर्सिडिज, बीएमडब्लू, अउडी, पोर्सालगायत प्रिमियम ईभी बनाउने कम्पनीहरुले व्यापकरुपमा प्रयोग गरिरहेका छन्।
के यी कम्पनीहरुलाई सम्भावित सुरक्षाको चिन्ता छैन भन्ने बीवाईडीलाई लागेको हो? के यी कम्पनीहरु (टेस्लाबाहेक) ले १ सय वर्षदेखि कार बनाउँदै आइएको इतिहासमा सुरक्षालाई ध्यानमा राख्दैनन्? के यी कम्पनीहरुले प्रयोग गरेको एनएमसी ब्याट्री एलएफपी ब्याट्रीमा भन्दा बढी आगो लागिका घटना भएका छन्? छैनन्।
बीवाईडीजस्तो कार उत्पादनको इतिहास थोरै भएको कम्पनीले यस्तो अनौठो र अव्यावहारिक अनि त्रुटिपूर्ण परीक्षण गरेर एनएमसी ब्याट्रीलाई खराब करार गर्न यसलाई महिमामण्डित गर्नु कसरी सम्भव छ? बीवाईडीले आफ्नो ब्याट्रीलाई एनएमसी ब्याट्रीलाई कृत्रिम असुरक्षित देखाएर आफ्नो ब्याट्रीमात्रै सुरक्षित देखाउनु झुटो र उपभोक्ता झुक्याउने मेसोमात्र हो।
तुलना नै गर्ने हो भने नेक टु नेकमा मात्र हुनुपर्छ, त्यो पनि स्वतन्त्ररुपमा। साइमेक्सले गरेको नेल पेनिट्रेसनमा एनएमसी र एलएफपी दुवै वास्तविक ब्याट्री नै थिएन? यो आम उपभोक्ताले कसरी थाहा पाउने र विश्वस्त हुने? यो सरासर कम ज्ञान भएकाहरुले गर्ने झुटको खेतीमात्र हो।
ओपिनियन ३
एनएमसी र एलएफपी ब्याट्रीबीचको नेल पेनिट्रेसन परीक्षण के हो? यसभन्दा पहिलो विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको रसायनिक संयोजनबारे बुझ्नुपर्छ। निकेल म्यागनिज कोबाल्ट(एनएमसी) र लिथियम आइरन फोसफेट(एलएफपी) केमेस्ट्रीबीच कुन अब्बल भन्ने भिन्न मत छँदै नै छ। तर नेपालमा बीवाईडीले गरेको कथित नेल पेनिट्रेसनले मात्रै बीवाईडीको एलएफपी केमेस्ट्रीको ब्लेड ब्याट्री नै सर्वश्रेष्ठ रहेको प्रमाणित गर्न सक्छ? यो नाटकीय परीक्षण र वास्तविक तर्क, विज्ञान र वास्तविक निहितार्थबारे बुझौँ।
आधारभूत कुराहरु :
फरक रसायन, फरक व्यवहार- एनएमसी र एलएफपी ब्याट्रीहरु पूर्णरुपमा फरक क्याथोड सामाग्रीहरुको मिश्रणबाट बनेका हुन्छन् जसमा अन्तरनिहित भिन्न रसायन र थर्मल गुणहरु हुन्छ। यस्ता ब्याट्रीहरुमा नेल पेनिट्रेसन गर्नु भनेको स्पार्कमा पेट्रोल र डिजेलले कसरी प्रतिक्रिया गर्छन् भनेर तुलना गर्नुजस्तै हो। हरेकले आफ्नो केमेस्ट्रीको संरचनाका आधारमा फरक व्यवहार र प्रतिक्रिया दिन्छन्।
एनएमसी- एनएमसी ब्याट्रीमा ऊर्जा सञ्चय क्षमता धेरै हुन्छ। यो भनेको सानो ठाउँमा धेरै ऊर्जा स्टोर गर्न सक्नु हो। यो केमेस्ट्रीको ब्याट्री सही तवरले प्रयोग गर्न सकिएन भने त्यसले खतरा बढी नै निम्त्याउन सक्छ। तर अहिलेको आधुनिक समयमा यसको प्याकिङ प्रविधि बलियो बनिसकेकाले यसमा कुनै ठूलो जोखिम आउने सम्भावना न्यून छ।
एलएफपी- एलएफपी ब्याट्रीको रसायन संरचना अन्तरनिहित रुपमा थर्मल स्टेबिलिटी हुन्छ। यो सिद्ध कुरा हो तर यसको कमजोरी भने ऊर्जा घनत्व कम र चिसो वातावारणमा यसको दक्षता कम हुन्छ।
नेल पेनिट्रेसन टेस्ट : मार्केटिङ कि अर्थपूर्ण?
बीवाईडीको परीक्षण दृश्यात्मक र सीमित- साइमेक्स इंकले गरेको नेल पेनिट्रेसनमा देखिएअनुसार बीवाईडीको ब्लेड एलएफपी ब्याट्रीमा आगो लाग्दैन तर एनएमसी सेलहरु छिटो बल्छन्। यो परीक्षण नियन्त्रित, विशुद्ध अरुलाई खराब देखाउन गरिएको दुरुपयोग हो जुन समग्र ब्याट्रीको सुरक्षा प्रमाणीकरण होइन।
वास्तविक परीक्षणको परिदृश्य फरक हुन्छन्- ईभीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस), सेलहरुको सुरक्षित प्याकेजिङ, उत्कृष्ट थर्मल म्यानेजमेन्ट, हाइ भोल्टेज ब्याट्री सुरक्षा प्रोटोकलअनुसार ब्याट्री प्रयोगमा ल्याएका हुन्छन्। बरु ब्याट्रीको अवस्था चालकले ईभी कसरी प्रयोग गरिरहेको छ? ईभीको मर्मत दक्ष जनशक्तिबाट भइरहेको छ वा छैन भन्ने कुराले हाइ भोल्टेल ब्याट्रीको व्यवहारमा फरक आउन सक्छ। न कि मार्केटिङ फन्डाका लागि गरिएको नेल पेनिट्रेसनबाट।
पृथक घटना भर्सेस प्रणाली डिजाइन- ब्याट्री प्याकको दुर्घटना, ओभर चार्ज वा सर्ट सर्किट हुँदा स्वतः ब्याट्रीको निष्कृयता हुनेगरी बीएमएसले काम गर्ने उच्चस्तरको प्रणाली विकास र प्रयोग भइसकेको छ। ब्याट्री सेलमा भएको रसायनको परीक्षणमात्र ब्याट्रीको परीक्षण होइन। एनएमसी ब्याट्रीमा आगो लागेको देखाउनुका पछाडिका आधारभूत कुराहरु के हुन्? के साइमेक्सले बीवाईडीको ब्लेड ब्याट्रीको नेल पेनिट्रेसनमा एनएमसी ब्याट्रीको म्यानेजमेन्ट सिस्टमबारे देखाइएको छ? के त्यो पड्काउन राखिएको एनमएसी ब्याट्री कारहरुमै प्रयोग हुने हाइ भोल्टेज ब्याट्री नै थियो त? अथवा त्यो बीएमएस बिनाको सामान्य एउटा सेलमात्र थियो? यी प्रस्नहरुको स्पष्ट र स्वतन्त्र जवाफ नभेटिँदासम्म यो कथित नेल पेनिट्रेसन टेस्ट केवल स्टन्टमात्र हो।
रियल वर्ल्ड प्रयोग भएको एनएमसी ब्याट्रीमा आगो लागेको घटना विरलै भएका छन्। एनएमसी ब्याट्रीमा प्रयोग भएको रसायनका आधारमा यो ब्याट्रीको आगोलागी जोखिम धेरै भएको मानिन्छ। तर यसलाई यति सुरक्षित बनाउने प्रयास भएको छ, त्यसले अन्य ब्याट्रीलाईभन्दा सुरक्षित बनाएको छ भन्दा फरक पर्दैन। प्रति १० लाख सवारीमा हेर्ने हो भने पनि एनएमसी ब्याट्रीको आगलागीका घटना रेयर नै सुनिएका छन्। टेस्ला, एमजी, किया हुन्डाई, बीएमडब्लूलगायत ब्रान्डले एनएमसी ब्याट्री प्रयोग भएका कार बनाइरहेका छन्। उनीहरुको ट्राक रेकर्डले पनि आगलागीको घटनालाई अपवाद भएको देखिएको छ।
एनएमसी ब्याट्री प्याकहरु क्ठोर मानिने सुरक्षा प्रोटोकल यूएन ३८.३, एआईएस१५६ आईओएस परीक्षण पास भएपछि प्रयोगमा आउँछन्। बीवाईडीले नेपालमा गरेजस्तो एनमएसी ब्याट्री आगो लागिहाल्ने थियो भने बजारमा बिक्रीका लागि अनुमति ने पाउने थिएन। विश्वका विकसित देशहरुको प्रयोगशाला मुर्खहरुले चलाएका पक्कै होइन होला।
कथित नेल पेनिट्रेसन परीक्षणले के देखाउँदैन?
ब्याट्री प्याक इन्जिनियरिङ- नेल पेनिट्रेसनले एउटा अलग सेललाई मात्र लक्षित गर्छ। ब्याट्री प्याकमै गरिएको नेल पेनिट्रेसन थियो भने पनि त्यसको केही अर्थ वा इन्जिनियरिङ सेन्स हुने थियो। व्यावहारिकरुपमै पनि सेलहरुलाई सुरक्षित गर्न बलियो र व्यवस्थित प्याकिङ, थर्मल सिल्डिङ र सफ्टवेरले सिंगो ब्याट्री प्याकलाई निगरानी गरिरहेको हुनाले ब्याट्री पड्किहाल्ने वा आगो लागिहाल्ने भन्ने हुँदैन। उल्लेखित कुरा कथित नेल पेनिट्रेसनमा गरिएको छैन।
उक्त परीक्षणमा सवारीसाधनको सन्दर्भलाई बेवास्ता गरिएको हुन्छ। प्याक सुरक्षा प्रोटोकल पालना नभइ तयार भएको छ भने एलएफपी वा बीवाईडीको एलएफपी ब्लेड प्याकिङ सेल नै पनि खतरा हो। यता राम्रो डिजाइन र सुरक्षा प्रोटोकल पालना गरिएको एनएमसी प्याक पूर्णरुपमा सुरक्षित हुन्छ।
सुरक्षाभन्दा पर गएर- एनएमसी केमेस्ट्रीले उत्कृष्ट कर्यदक्षता, छिटो चार्जिङ र चिसो मौसममा पनि दक्षता नघट्ने हुन्छ। एलएफपी केमेस्ट्रीको लाइफ साइकल लामो, कम महँगो हुने तर ऊर्जा घनत्व कम हुने भएकाले ठूलो आकारको हुन्छ। सहरी यात्रा, इन्ट्री लेवलका ईभीहरुमा एलएफपी ब्याट्री आदर्श नै हुन्छन् भने लामो यात्रा, प्रिमियम ईभीहरुका लागि एनएमसी केमेस्ट्री उपयोगी ठहरिँदै आएको छ।
निष्कर्ष : ब्याट्रीको रसायनभन्दा सन्दर्भ महत्वपूर्ण
बीवाईडीले गरेको नेल पेनिट्रेसनका नाममा एलएफपी र एनएमसी ब्याट्रीको परीक्षण प्रारम्भिक रुपमै नाटकीय हो जुन प्राविधिक रुपमा पनि भ्रामक छ। दुवै केमेस्ट्रीको अलग्गै महत्व र फाइदा तथा बेफाइदाहरु छन्। ब्याट्रीको रसायनमा भन्दा सुरक्षा इन्जिनियरिङमा केन्द्रित हुनुपर्छ। ईभी दुनियाँमा सुरक्षा प्रणाली महत्वपूर्ण हो र राम्रोसँग इन्जिनियरिङ गर्दा एनएमसी वा एलएफपी दुवै बराबर सुरक्षित हुन सक्छन्। टेस्ला किया, एमजी, दिपल, जीकर, बीएमडब्लू, हुन्डाईलगायत ब्रान्डले एनएमसी ब्याट्री सुरक्षित थिएन भने आफ्ना ईभीमा प्रयोग गदैन थिए। यति भनिसक्दा बीवाईडीले नेपालमा गरेको नेल पेनिट्रेसन नौटंकीमात्रै थियो भन्न गाह्रो पर्दैन।
ओपिनियन ४
आखिर के हो त नेल पेनिट्रेसन टेस्ट? यो टेस्ट भनेको ब्याट्रीको सेफ्टी परीक्षण भन्ने गरिएको छ। यो परीक्षणमा ब्याट्रीमा फलामको किलाले घोचेर परीक्षण गरिन्छ। ब्याट्रीले के प्रतिक्रिया देखाउँछ, आगो लाग्छ कि, धुँवा निस्किन्छ कि, या केही हुँदैन? भनेर जाँचिने प्रक्रिया हो।
सामान्यतया एलएफपी ब्याट्री तुलनात्मक रूपमा अरुभन्दा आगो लाग्ने खतरा धेरै कम हुन्छ। तर व्यापकरूपमा प्रयोग गरिएको निकेल म्यांगनिज कोबाल्ट (एनएमसी) केमेस्ट्री भएको ब्याट्री थर्मल रनअवेको लागि संवेदनशील छ, जुन ब्याट्री धेरै तातिएर आगो लाग्ने र विस्फोट हुन पनि सक्छ। ब्याट्री प्याकमा नभइ एकल सेलमा गरिएको यो नेल पेनिट्रेसन यसकारणले गर्दा खासै भरपर्दो छैन।
यथार्थपरक किन पनि छैन भने सामान्य अवस्थामा ईभी ब्याट्रीमा किला जस्तो धारिलो वा तिखो वस्तु सिधै घोच्ने अवस्था कहिल्यै आउँदैन। ब्याट्री धेरै तहको सुरक्षाले ढाकिएका हुन्छन्।
नेल पेनिट्रेसनमा अन्य सेफ्टीका कारकलाई बेवास्ता
यो परीक्षणले केवल घोच्दा के हुन्छ भन्ने हेर्छ। तर सवारीको संरचना, ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस), वा बाहिरी सुरक्षा संरचनाहरू जस्ता अरु सुरक्षा पक्षलाई बेवास्ता गरिएको छ।
अन्तर्राष्ट्रिय मापदण्डले यो अनिवार्य मान्दैन
यूएनईसीजई आर१००, यूएः२५८०, र एसएई जे२४६४ जस्ता नियामक एजेन्सीले यो परीक्षणलाई आवश्यक मान्दैनन्। तिनीहरूले अरू यथार्थपरक परीक्षणमा जोड दिन्छन्।
टेस्ला मोडेल थ्री र मोडेल वाई
यी गाडीहरूमा एनएमसी ब्याट्री प्रयोग गरिएको छ र यी ब्याट्री निकै सुरक्षित मानिएका छन्। यसको मुख्य कारण हो ब्याट्रीमा स्मार्ट प्रणालीजस्तै ब्याट्री व्यवस्थापन प्रणाली र राम्रो थर्मल म्यानेजमेन्ट (तातोपन नियन्त्रण प्रणाली) भएकाले यी प्रणालीहरूले ब्याट्रीलाई धेरै तातिन दिँदैनन् र आगो लाग्नबाट हमेसा जोगाउँछन्। सेब्रोलेको बोल्ट ईभीमा पनि एनएमसी ब्याट्री नै प्रयोग भएको छ।
पहिले केही ब्याट्रीमा आगलागीको समस्या देखिएको थियो, तर त्यो ब्याट्रीको प्रकारको कारण होइन, बरु उत्पादनको त्रुटिको कारण थियो भनेर अध्ययनले देखाइसकेको छ। पछि ब्याट्रीको डिजाइन सुधार गरेपछि समस्या समाधान भयो।
आधुनिक ईभी गाडी किन सुरक्षित छन्?
किनभने तिनीहरूमा अत्याधुनिक ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस) हुन्छ। बीएमएस भनेको ब्याट्रीको ब्रेन भनेर बुझ्दा फरक पर्दैन। यसले सावधानीपूर्वक निगरानी गर्छ। ब्याट्रीको तातोपन, भोल्टेज, र करेन्ट जस्ता कुरा हेरेर अत्यधिक चार्ज वा तातिनबाट रोक्छ।
सन्तुलनमा राख्छ : सबै ब्याट्री सेलहरू बराबरी रूपमा चलिरहेका छन् कि छैनन् भनेर हेर्छ, कमजोर सेलहरूलाई बढी थिचोमिचो हुन दिँदैन।
तातोपन कम गर्छ: ब्याट्री तात्न थालेपछि कुलिङ सिस्टम सक्रिय गरेर चिसो बनाउँछ।
एनएमसी ब्याट्री ऊर्जा सञ्चय गर्ने क्षमता धेरै हुन्छ, तर बीएमएस जस्ता स्मार्ट प्रणालीहरूले ब्याट्रीलाई पूर्ण रूपमा सुरक्षित राख्न सहयोग गर्छन्। यो तपाईँको ब्याट्रीको एक स्मार्ट अंगरक्षक हो। २०२३ को एक अध्ययन अनुसार ईभीमा आगलागीको सम्भावना पेट्रोल गाडीभन्दा कम छ, चाहे ब्याट्रीको केमेस्ट्री जे भए पनि। टेस्लामात्रै होइन अहिले एनएमसी ब्याट्री प्रयोग गर्ने सबैजसो कम्पनीहरूले एनएमसी ब्याट्रीमा अत्याधुनिक बीएमएस प्रयोग गर्छन्, जसले आगोको जोखिम अत्यधिक घटाउँछ।
रिम्याक नेभेरा नामक सपोर्ट ईभीले यूएनईसीईको निकै गाह्रो क्र्यास परीक्षण पास गरेको थियो। यसबाट सही डिजाइन र व्यवस्थापन नै मुख्य कुरा हो भनेर सहजै पुष्टि गर्छ। एनएमसी ब्याट्रीले एलएफपी ब्याट्रीभन्दा बढी ऊर्जा सञ्चय गर्न सक्छन्, त्यसैले केही मानिसहरूलाई यी ब्याट्रीमा आगो लाग्ने खतरामा बढी हुन्छ भन्ने लाग्ने गरेको छ, जो अहिलेको समयमा एउटा भ्रम नै हो। तर वास्तविक प्रयोगको तथ्यांकले के देखाउँछ भने एनएमसी ब्याट्री भएको गाडीमा एलएफपी ब्याट्री भएको गाडीभन्दा आगो लाग्ने खतरा कम छ।
अमेरिकाको सुरक्षा संस्था एनएचटीएसएको २०२२ को रिपोर्टअनुसार ब्याट्री भएको इलेक्ट्रिक गाडीमा आगो लाग्ने घटना पेट्रोल/डिजेल गाडीभन्दा कम हुन्छ। एनएमसी ब्याट्रीमा ऊर्जा धेरै हुन्छ, तर यी ब्याट्रीहरू एलएफपी जस्तै सुरक्षित छन्। विद्युतीय गाडीहरूमा आगो लाग्ने सम्भावना सामान्य पेट्रोल गाडीभन्दा कम हुन्छ।
एचएलडीआईद्वारा गरिएको सन् २०२३ को एक अध्ययनअनुसार एनएमसी ब्याट्री प्रयोग गरिएका इलेक्ट्रिक गाडीहरूमा आगो लाग्ने दर पेट्रोल गाडीहरूभन्दा झनै कम देखिएको छ। यसको कारण हो यो सुरक्षात्मक डिजाइन र प्रविधिमा सुधार भएको ब्याट्री हो।
टेस्लाका सुरक्षासम्बन्धी रिपोर्टहरूबाट एनएमसी ब्याट्री भएको टेस्ला गाडीहरूमा प्रति माइल यात्रा गर्दा आगो लाग्ने जोखिम सामान्य पेट्रोल/डिजेल गाडीहरू (आईसीई) भन्दा धेरै कम हुन्छ भन्ने पुष्टि गरेको छ।
त्यसैले नेल पेनिट्रेसन परीक्षण वास्तविक परिस्थितिमा सम्भव नहुने सुरक्षा परीक्षण हो। र अन्तर्राष्ट्रियस्तरका सुरक्षा मापदण्डले तल उल्लेखित वास्तविक परीक्षणहरूमा ध्यान केन्द्रित गर्छन्।
ईभी ब्याट्रीका अनिवार्य सुरक्षा परीक्षण (अन्तर्राष्ट्रिय मापदण्डअनुसार) - क्रस टेस्ट : यो परीक्षणले अन्य गाडी दुर्घटनामा जस्तै ब्याट्रीमा दबाब परेमा के हुन्छ भनेर जाँच गर्छ।
ओभरचार्ज टेस्ट : यो परीक्षणले ब्याट्रीमा अत्यधिक भोल्टेज जाँदा आगो लाग्छ कि लाग्दैन भन्ने कुरा परीक्षण गर्छ।
थर्मल अब्युज टेस्ट : यो परीक्षणले ब्याट्री तात्दा पनि सुरक्षित रहन्छ कि रहँदैन भनेर मूल्यांकन गर्छ।
बाह्य आगो परीक्षण (एक्सटर्नल फायर एक्सपोजर टेस्ट) : यो ब्याट्रीलाई बाहिरबाट आगो लाग्दा कसरी प्रतिक्रिया दिन्छ र ब्याट्री तथा कार सुरक्षित हुन्छ वा हुँदैन भन्ने परीक्षण हो।
यी सबै परीक्षण वास्तविक अवस्थाका परिस्थितिलाई ध्यानमा राखेर बनाइएका हुन् र ईभीको सुरक्षा प्रमाणपत्र पाउन अत्यावश्यक मानिन्छन्। यस्तो टेस्ट सबै विद्युतीय कार उत्पादकले गराएका हुन्छन्। जबकि नेल पेनिट्रेसन टेस्ट चाहिँ अनिवार्य गरेका छैन।
केस स्टडी : रिम्याक नेभेरा (एनएमसी) र यूएनईसीई सुरक्षा परीक्षण
रिम्याक नेभेरामा एनएमसी ब्याट्री भएको विद्युतीय गाडी हो जुन ब्याट्रीले यूएनईसीईका कडा दुर्घटना परीक्षणमा सफलता हात पारेका छन्। योबाट ब्याट्रीको प्याक डिजाइन र बीएमएस ब्याट्रीको रसायनभन्दा धेरै महत्वपूर्ण हुन्छ भन्ने प्रमाणित गरेको छ।
निष्कर्ष
- नेल पेनिट्रेसन परीक्षण वास्तविक दुर्घटनाको अवस्था होइन, त्यसैले ईभी ब्याट्रीको सुरक्षा तुलना गर्न यो उपयुक्त तरिका होइन।
- यदि राम्रो बीएमएस र थर्मल व्यवस्थापन प्रणाली प्रयोग गरिएको खण्डमा एलएफपी र एनएमसी ब्याट्री दुवै सुरक्षित हुन्छन्।
- संसारका सुरक्षा मापदण्डहरू (जस्तै यूएनईसीई, यूएल, एसएई)ले नेल पेनिट्रेसन परीक्षण आवश्यक ठान्दैन। तर वास्तविक परिस्थितिमा आधारित परीक्षणहरूलाई मात्र मान्यता दिन्छ।
- वास्तविक दुर्घटनाको तथ्यांकले देखाउँछ कि आधुनिक एनएमसी ब्याट्री भएका ईभी गाडीहरूमा आगो लाग्ने खतरा एलएफपी जत्तिकै कम हुन्छ।
उल्लेखित प्राविधिक रायका आधारमा बीवाईडीले जसरी नेल पेनिट्रेसनका नाममा एनएमसी ब्याट्रीलाई खराब करार गर्न खोजिरहेको देखिन्छ, त्यो सरासर झुटो र आफ्नो ब्याट्रीमात्रै राम्रो देखाउन खोजिएको प्रष्ट हुन्छ। नेपालमा मात्र नभइ बीवाईडीले अस्ट्रेलियामा पनि एनएमसी ब्याट्री आफ्नो ब्याट्रीमा भन्दा छिटो आगो लाग्ने भनेर प्रचार गरिरहेको बाहिर आएको थियो। तर नियमन राम्रो भएको अस्ट्रेलियामा नेपालमा जस्तै सहजै मान्छे झुक्याउने नेल पेनिट्रेसन गर्न सम्भव हुँदैन।
साइमेक्सले बीवाईडी ब्याट्रीको नेल पेनिट्रेसनमा एनसीएम ब्याट्रीको सेल प्रयोग गरेर एनमएसी ब्याट्रीको प्रचार गरिरहेको छ। यो पनि सरासर बेइमानी हो। एनसीएम र एनएमसीको रुट एउटै भएपनि अहिले एनएमसी केमेस्ट्री नै प्रयोग भइरहेको छ। एउटा सेलमात्र पड्काएर ब्याट्री खराब वा छिटो आगो लाग्छ भनेर देखाउनु प्राविधिक अपराध हो, त्यो पनि कुनै दक्ष जनशक्ति नभएको र ल्याब वा परीक्षण प्रोटोकल बिना नै।
२०२४ को मध्यतिर चीनमै बीवाईडीले बनाएको ब्लेड ब्याट्री प्याकिङयुक्त एलएफपी ब्याट्रीमै आगो लागेको समाचार बाहिर आएको थियो। त्यस्तै गत सातामात्रै थाइल्यान्डमा बीवाईडीको सिल विद्युतीय कारमा आगो लागेको थियो। सो कारमा बीवाईडीको ब्लेड ब्याट्री नै प्रयोग भएको थियो। बरु त्यसयता एनएमसी ब्याट्री प्रयोग भएको विद्युतीय कारहरुमा आगो लागेको घटना भएको पाइएको छैन।
विज्ञ र प्राविधिकहरुलाई के थाहा भइसकेको छ भने एनएमसी ब्याट्रीमा प्रयोग भएको तत्वहरुबीचको समिश्रणमा आगो पैदा हुने जोखिम धेरै भएकाले यसलाई अन्य तत्वहरुको समिश्रणमा बनेको ब्याट्रीभन्दा सुरक्षित विधि र प्रणाली विकास गरेर प्रयोगमा ल्याउनुपर्छ। संसारभर एनएमसी ब्याट्री बनाउनेहरुले गरेका पनि त्यही छन्। त्यसैले नेपालमा बीवाईडी बिक्रेता साइमेक्स इंकलाई बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले नियामकीय कमजोरीमा टेकेर गतल सन्देश दिन खोजिरहेको छ।
योभन्दा महत्वपूर्ण कुरा ब्याट्री प्याकमा बीवाईडीले गरेजस्तो एकोहोरो दबाब पर्ने जोखिम न्यून हुन्छ। कथमकदाचित त्यस्तो भइहाल्यो भने पनि एकैपटक बारुद भरेको बाकस पड्किएझैँ पड्केर ब्याट्री प्याकमा आगो लागिहाल्दैन। अस्वाभाविक दबाब परेमा ब्याट्रीबाट पहिलो धुवाँ आउने र त्यसपछि त्यहाँ भित्रको तत्वहरु गलत तरिकाले मिस्सिएर क्रमिकरुपमा आगो लाग्ने सम्भावना हुने हो। नेपालमा साइमेक्सले जसरी भन्दा एनएमसी ब्याट्री तर कथित नेल पेनिट्रेसनमा एनसीएम ब्याट्रीको सेल प्रयोग गरेको थियो।