बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

'चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नेपालले सदुपयोग गर्न सकेन'

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १३ २०७८
'चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नेपालले सदुपयोग गर्न सकेन'

' द्वीपक्षीय भेटमा बीआरआई सम्बन्धिका कुनै पनि योजनाहरू नपर्नु अनौठो'

काठमाडौं- चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नेपालले सदुपयोग गर्न नसकेको नेपाल-चीन सम्बन्धका जानकार डा. राजिव झाले बताएका छन्।

डा. झाले तीन दिने नेपाल भ्रमणका लागि आएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न नसकेको बताएका हुन्।

उनले चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणका लागि नेपालले तयारी नै गर्न नसकेको पनि बताए। झाले नेपाल र चीन सरकारबीच शनिबार भएको द्वीपक्षीय भेटमा बीआरआई सम्बन्धिका कुनै पनि योजनाहरू नपर्नु अनौठो भएको बताए।

उनले विदेशमन्त्री यी नेपाल आउनुपूर्व बीआरआईसम्बन्धी परियोजनाका बारेमा पनि छलफल गर्ने कुरा भएपनि त्यो बारेमा कुनै पनि सम्झौताका बारेमा सरकारले कुरा उठाउन नसकेको बताए। यसले नेपाल पक्षले बीआरआईको बारेमा कुरा गर्नै नचाहेको हो कि भन्ने आशंका पैदा भएको पनि बताए।

डा. झाले चीन सरकारले नेपाललाई विशेष महत्वका साथ विदेशमन्त्रीको भिजिट गराए पनि नेपालले भने खासै चासो नदेखाएको बताए।

शुक्रबार तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्किइसकेका छन्। स्वदेश फर्किनुअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए। 

यस्तो छ डा. झाको भनाइ-

rajiv kumar jha.jpg

नेपालले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणलाई उपयोग गर्न सकेन। नेपालको तयारी नै पुगेन वा नेपाल सरकारले वाङ यीको भिजिटलाई त्यति महत्व दिएको देखिएन। कारण के हो भने हिजो जब द्वीपक्षिय वार्ता भयो, त्यसमा विभिन्न सम्झौताहरू हस्ताक्षर गर्ने कुराहरू थिए। त्यसमा बीआरआई सम्बन्धिका योजनाहरू एउटा पनि परेको देखिएन। यो अचम्मको कुरा भयो।

वाङ यी आउँदा विशेष रुपमा नेपाल सरकारले बीआरआई अन्तर्गत भएका सम्झौताहरू जुन २०१९ अक्टुबरमा प्रेसिडेन्ट सीको भिजिट हुँदा भएको थियो त्यसलाई नै अघि बढाउने कुरो थियो। तर यहाँ आउँदा ती परियोजनामध्ये कुनै पनि परेका देखिएन। कारण नेपाली पक्षले तयारी नगरेको पनि देखियो। गर्न नचाहेको हो कि जस्तो पनि देखियो। नेपालले यो भिजिटलाई सदुपयोग गर्न सकेन।

 

 


प्रकाशित : आइतबार, चैत १३ २०७८१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend