बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विदेशी लगानीसँगै प्रविधि पनि ल्याउनु पर्छ : अर्थमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १३ २०७८
विदेशी लगानीसँगै प्रविधि पनि ल्याउनु पर्छ : अर्थमन्त्री

आफूहरूले योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शमाले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनु पर्ने सुनाए।

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विदेशी लगानीमात्रै नभएर लगानीसँगै प्रविधि पनि ल्याउन आवश्यक रहेको बताएका छन्। 

आइतबार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानीसम्बन्धि विस्तृत सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालमा विदेशी लगानीमात्रै नभएर लगानीसँगै प्रविधि पनि ल्याउन आवश्यक रहेको बताएका हुन्। 

उनले लगानीसँग प्रविधि भित्र्याउँदा नीजि क्षेत्रको लागि धेरै फाइदा पुग्न सक्ने दाबी गरे। अहिले विदेशी लगानी ल्याउनको लागि केही नीतिगत तथा ऐन र कानूनी रुपमा समस्या देखिएको अर्थमन्त्री शर्माले बताए। उनले हरेक कुरामा लागत बढ्दै गएकाले सरकार लागत कम गर्ने प्रक्रियामा लागेको बताए। नेपाल डुइङ बिजनेसमा ९६ औँ स्थानमा रहेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई सुधार गरेर १५ स्थानमै ल्याउनु पर्ने बताए। उनले नेपाल डुइङ बिजनेस सुधार गर्नको लागि नीजि क्षेत्र र लगानी बोर्ड लाग्नु पर्ने बताए।

त्यस्तै अर्थमन्त्री शर्माले आयोजनाहरूले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनु पर्ने बताए। अब आफूहरूले योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शमाले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनु पर्ने सुनाए।

उनले जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनु पर्ने आवश्यक भएको उल्लेख गरे। मन्त्री शर्माले मुलुकमा लगानी बढाउनको लागि ‘डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड’तयार गर्न लागेको बताए। उनले यो फण्डमा नीजि क्षेत्रको पनि सहभागिता हुनुपर्ने बताए। मन्त्री शर्माले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई जोड्न अहिले बनी रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरूले मुलुकको समग्र आवश्यकतालाई पूर्ति गर्न सक्ने दाबी गरे।

त्यस्तै कार्यक्रममा लगानी बोर्डका सीइओ शुशील भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख लागेको बताए। उनले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताए। भट्टले अहिले विदेशी लगानी प्रतिवद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषयमा अनुसन्धानको विषय भएको बताए ।

त्यस्तै,  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताए। उनले व्यापार घाटा सात महिनामै १० खर्ब नाघेको तर  वैदेशिक सहायता बढ्न नसकेकोले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए।

त्यस्तै, महासंघकी पूर्वअध्यक्ष तथा लगानी बोर्डका सदस्य भवानी राणाले मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्नको लागि आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता भएको बताइन्।

पूर्वअध्यक्ष राणाले नेपालमा जलविद्युतमा मात्रै धेरै विदेशी लगानी भएकाले अब पर्यटन तथा कृषि क्षेत्रमा विदेशी लगानी र प्रविधि दुवै ल्याउनु पर्ने बताइन्।

नेपाल उद्योग वाणिज्य महासंघले लगानीको वातावरण बनाउन लगानीकर्तालाई सहजीकरण गर्न एक सहायता केन्द्र स्थापना गर्ने भएको छ। 


प्रकाशित : आइतबार, चैत १३ २०७८०८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend