बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चैत्र महिनाभित्रै चोभार सुक्खा बन्दरगाह सञ्चालनको तयारी

बिहीबार , चैत १० २०७८
चैत्र महिनाभित्रै चोभार सुक्खा बन्दरगाह सञ्चालनको तयारी

बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारहरुको व्यवस्थापन भइसकेको बताइएको छ।

काठमाडौं- काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ।

असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुक्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो।

इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बिहीबार न्युज एजेन्सी नेपालमार्फत सुक्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन हुने बताएका छन्। समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उनले बताए।

‘निर्माण सम्पन्न त गत असारमै भएको हो। अब यहाँ जुन सरोकारवाला निकाय छौँ हामी इन्टरमोडेल यातायात विकास समिति, भन्सार विभाग, क्वारेन्टीन भयो। अब हाम्रो तयारी सकिएको छ। हामी सञ्चालन गर्न तयारी अवस्थामा छौँ। चाडैँ उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले कामलाई तिव्रता दिइराखेका छौँ’ उनले भने। 

यस सुक्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताए। भन्सार प्रक्रियाको सहजीकरण सुक्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उनले उल्लेख गरे।

‘अहिले हाम्रो जतिपनि सुक्खा बन्दरगाहहरु छन्, कि चीनको नाका कि भारतको नाकासँग हो। अहिले हामीले भारतको नाका जोडिएको बन्दरगाहहरुमा जुन आउँछ, काठमाडौं आउने सामान काठमाडौंमै ल्याएर भन्सार चेकजाँच गराउने, भन्सार पास गराउने र यहाँ त्यो सुविधा प्रदान गराउने भन्ने नै उद्देश्य हो। त्यस हिसाबले अहिले हामी भारतबाट आउने सामानहरु काठमाडौं सुक्खा बन्दरगाहमा आएर यहाँ भन्सार प्रक्रिया पूरा गरेर व्यापारी, व्यवसायीको सामानहरु कन्ज्युमर सम्म पुग्ने त्यो अवस्था त्यो सहजीकरण हुने भयो यसबाट’ उनले भने। 

उनले सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाइदिने र जिपिएस सिस्टम जडान गरेर पठाउने बताए। यसरि सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरु सुक्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुने उनले स्पष्ट पारे।

बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारहरुको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सबै पूर्वाधारहरुको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहज रुपमा सञ्चालन हुने उनले बताए।

इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालगञ्ज र रसुवाको टिम्मुरेमा पनि सुक्खा बन्दरगाह निर्माण भइरहेको बताए। मुस्ताङ र कञ्चनपुरमा पनि बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको उनले बताए।

हाल विरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुक्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रुपमा अगाडी बढाउन काम गरिरहेको उनले बताए।


प्रकाशित : बिहीबार , चैत १० २०७८१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend