काठमाडौं- नेपालमा श्रीमा डिस्ट्रिब्युसनदेखि अरेत इन्टरनेशनलसम्मलाई कार बिक्री गर्ने हङकङमा रहेको साउथ चाइना एक्जिम लिमिटेड नामक कम्पनीमा समेत विवादस्पद भारतीय नागरिक राकेशकुमार अडुकियाको लगानी रहेको तथ्य बिजनेस न्युजले सार्वजनिक गरिसकेको छ। उक्त कम्पनीले सन् २०२० देखि हालसम्म निरन्तररूपमा नेपाली कम्पनीलाई कार बिक्री गर्दै आएको छ।
साउथ चाइना एक्जिम लिमिटेड न टेस्ला इंकका हङकङको आधिकारिक बिक्रेता हो न त सो कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता नै पाएको छ। यस्तो अवस्थामा भारतीय नागरिक अडुकियाले हङकङमा साउथ चाइना एक्जिम लिमिटेड नामक कम्पनी सन् २०१६ मा दर्ता गरेका थिए। सो कम्पनीमा राकेशकुमार अडुकिया स्वयंको१० हजार कित्ता सेयर रहेको देखिन्छ।
नेपालमा भने आफ्नो नाममा नभइ कर्मचारीको नाममा कम्पनी दर्ता गरेर अडुकियाले वाणिज्य विभागदेखि वाणिज्य बैंक हुँदै भन्सारसम्म सेटिङमा काम गर्दै आएको तथ्य खुलिसकेको छ। उनले हङकङमा आफैले कम्पनी बनाएर त्यहाँको आफ्टर मार्केटबाट गाडी किनेर किर्ते काजग खडा गरी वाणिज्यबाट एजेन्सी दर्ता गराउँदै आएका छन्।
राकेश अडुकियाको साउथ चाइना एक्जिमले हङकङबाट बिक्री गरेका कार किन्ने श्रीमा डिस्ट्रिब्युसन प्रालि, अरेत इन्टरनेशनल प्रालि हुँदै काइरोस इन्टरनेशनल तथा काइरोस इन्टरनेशनल प्रालिसम्मको एलसी (लेटर अफ क्रेडिट) एउटामात्र वाणिज्य बैंकले खोलिदिँदै आएको छ। यसबारेमा पनि बिजनेश न्युजले प्राइम कमर्सियल बैंकबाटमात्र किन खुल्छ अवैध आयात हुने कारको एलसी भनेर समाचार प्रकाशित गरिसकेको छ।
हङकङमा खोलेको कम्पनीबाट नेपालमा कर्मचारीको नाममा दर्ता गरेको कम्पनीलाई आधिकारिक बिक्रेता दिने र वाणिज्य विभागबाट एजेन्सी दर्ता प्रमाणपत्र लिने गरिएको छ। वाणिज्य विभागले प्रलोभनमा परी कुनै सोधीखोजीबिनै एजेन्सी दर्ता प्रमाणपत्र दिने गरेको छ।
एजेन्सी दर्ता प्रमाणपत्र र प्राइम बैंकले खोलिदिएको एलसीका आधारमा यातायात व्यवस्था विभागबाट सवारी दर्ताको आयात अनुमति लिइन्छ। यी सबै प्राक्रिया पूरा गर्दा भन्सार नाकामा आयात गरिएको कार आएपछि सुक्खा बन्दरगहा भन्सार कार्यालय सिर्सिया (हाल वीरगञ्ज भन्सारमा गाभिएको) बाट काइरोस र अरेतले ल्याएका टेस्ला, अउडी, पोर्सा तथा ल्यान्ड रोभरका कार सरासर जाँचपास हुँदै आएको छ।
यी सबै कार भन्सारको रेड च्यानलबाट जाँचपास हुन्छ। तर पनि भन्सारले कुनै सोधीखोजी नगरी जाँचपास गरिदिँदै आएको छ। अन्य कम्पनीलाई नवीकरण गर्दा कागजात नपुगेको, शंका लागेको भन्दै जाँचपासमा ढिलाइ गर्ने भन्सार कार्यालयहरु अरेत र काइरोसले ल्याएका कार रेड च्यानलबाट सरासर पास गरिदिन्छन्। यो सेटिङको जालो भन्सार कार्यालयदेखि भन्सार विभागसम्म जोडिएको छ।
श्रीमा डिस्ट्रिब्युसनमार्फत टेस्लाबाट सुरु भएको अवैध आयात अउडी, पोर्सा र ल्यान्ड रोभरसम्म : कुनै निकायले गर्दैन छानबिन
सुरुमा साउथ चाइना एक्जिम लिमिटेडबाट श्रीमा डिस्ट्रिब्युसन प्रालिले टेस्लाको विद्युतीय कार आयात गरेको थियो। २०२० जनवरी ८ मा साउथ चाइना एक्जिम लिमिटेडले बिल नम्बर एसडीएन-५४५५३३६३५ ए-१९ बाट श्रीमा डिस्ट्रिब्युसन नेपाल प्रालिलाई दुईवटा टेस्लाका बिलिङ गरेको थियो। प्रतिगाडी १ लाख ५ हजार अमेरिकी डलरमा दुईवटा टेस्ला मोडल एक्स लङ रेन्ज १०० डी २ लाख १० हजार डलरमा बिलिङ गरेको छ। साउथ चाइना हङकङ लिमिडेटको खाता स्ट्यान्डर्ड चार्टर्ड बैंक (एचके) लिमिटेडमा रहेको छ।
अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले हालसम्म कुनै पनि देशमा आधिकारिक बिक्रेता नियुक्त गरेको छैन। टेस्लाले जुन देशमा कार बिक्री गर्छ त्यो देशमा स्वयं कम्पनीले स्थानीय साझोदारमार्फत जाने गरेको छ। तर राकेशकुमार अडुकियाले हङकङमा आफ्नै नाममा कम्पनी बनाएर सो कम्पनीले नेपालमा रहेको कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरी नेपालमा कार आयात सुरु गरेको तथ्यबाट प्रमाणित भएको छ।
यस्ता कुरा नबुझी वाणिज्य विभागले आँखा चिम्लिएर एजेन्सी दिँदा अवैध धन्दा मौलाएको त छ नै वैदेशिक रोजगारीमा गएर युवाहरुले पठाएको विदेशी मुद्रा सजिलै विदेश ‘निर्यात’ गर्न सहयोग भइरहेको छ।
नेपालमा दर्ता भएको अरेत इन्टरनेशनल प्रालि राजेश शर्माको नाममा दर्ता छ। उक्त कम्पनी अडुकियाकै डिजाइनमा बनेको आधारहरू देखिन्छन्। यो सबै अवैध कार्यमा उनै राकेशकुमार अडुकियाकै संलग्नता त्यसबाट पुष्टि हुन्छ।
श्रीमा डिस्ट्रिब्युसनले आयात गरेको टेस्ला आयात विवादमा परेपछि अडुकियाले अरेत इन्टरनेशनल प्रालि नामक कम्पनी बनाउन लगाएका थिए। सोहीअनुसार अडुकियाकै नाममा हङकङमा रहेको कम्पनीले तुरुन्तै श्रीमा डिस्ट्रिब्युसनलाई दिएझैँ अरेत इन्टरनेशनल प्रालिलाई पनि टेस्लाको आधिकारिक बिक्रेता नियुक्त गरिदियो।
यसरी अवैध आयातकर्ता नियुक्त भएको कम्पनीलाई वाणिज्य विभागले तत्काल एजेन्सी प्रमाणपत्र दियो। सयौँ कम्पनीलाई एजेन्सी दर्ताका लागि महिनौँ कुराउँदै आएको वाणिज्य विभागले टेस्ला, अउडी, पोर्सा, ज्यागुअर ल्यान्ड रोभरको एजेन्सी लिन आउने काइरोस इन्टरनेशसनल र अरेतलाई आएकै दिन वा भोलिपल्टै एजेन्सी दर्ता प्रमाणपत्र दिएर पठाउने गरेको छ। भन्सार कार्यालय तथा वाणिज्य विभागमा केही न केही ‘सेटिङ’ मिलाएका अडुकियाको संयन्त्रले ल्याएका कागजात र गाडीहरु ‘सरासर’ पास हुँदै आएका छन्।
अरेत इन्टरनेशनलमार्फत टेस्लाको कार आयातमा सरकारी संयन्त्रले अवैध कार्यलाई आँखा चिम्लिदिएपछि राकेश अडुकियाले साउथ चाइना एक्जिम लिमिटेड पछि अर्काे कम्पनी अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेशनल (एयूडीआई) बनाएर अउडी, पोर्सा र ल्यान्ड रोभरको आधिकारिक बिक्रेता भएको भन्दै ती कम्पनीका कार पनि आयात गर्न थाले। त्यसका लागि अडुकियाको निर्देशनमा काइरोस इन्टरनेशनल नामक फर्म बनाएर सुरुमा अउडी त्यसपछि पोर्सा र अन्तिममा ल्यान्ड रोभरका कार ल्याउन थालेका हुन्।
अहिले वाणिज्यमा दर्ता भएको काइरोस इन्टरनेशनल फर्ममा आन्तरिक विवाद भएपछि अडुकियाले त्यसलाई निष्कृय बनाएर काइरोस इन्टरनेशनल प्रालि नामक कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर ल्यान्ड रोभरका कार आउन थालिसकेका छन्।
अडुकियाको साला नाता पर्ने सुमन्त जाजुदियाको नाममा रहेको युरेका इनभेस्टमेन्ट प्रालिको नाम बदलेर काइरोस इन्टरनेशनल प्रालि बनाइएको कम्पनी दर्ताको कागजातमा उल्लेख छ। अटोमोबाइलमा कुनै अनुभव नै नभएको कम्पनीलाई विश्वप्रसिद्ध अटोमोबाइल कम्पनीले आधिकारिक बिक्रेता दियो भनेर त्यसलाई कुनै अध्ययन नै नगरी वाणिज्य विभागले एजेन्सी दर्ता गरिदिएबाट नै अडुकियाको अवैध कार्यको वैधता प्रारम्भ भएको प्रष्ट हुन्छ।
ज्यागुअर ल्यान्ड रोभर, अउडी, टेस्ला तथा पोर्साले बिना सर्भिस सेन्टर आधिकारिक बिक्रेता नियुक्त नै गर्दैनन्। यस्ता अनिवार्य र सामान्य कुरासमेत नसोधी वाणिज्य विभागले एजेन्सी दर्ता प्रमाणपत्र दिँदै आएको छ।
काइरोस इन्टरनेशनलले ल्याएको ल्यान्ड रोभरको डिफेन्डरलगायत कार पेट्रोल इन्जिन भनेर आयात गरिएको तर वास्तवमा गाडी डिजेल इन्जिनयुक्त भएको प्रष्ट भइरहेको छ।
भन्सार र वाणिज्य विभागको सेटिङमा गाडीको फ्युल टाइप नै ढाँटेर आयात अनुमति दिँदा करोडौँ करछली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयागले पनि विस्तृत अनुसन्धान गरिरहेको छ।
यस्तो गम्भीर कार्यमा वाणिज्य विभागले प्रलोभनमा एजेन्सी दर्ता प्रमाणपत्र दिँदा अवैध कार्य मौलाउँदै गएको, वैदेशिक रोजगारीमा गएका युवाले पठाएको पैसा वैधबाटोबाट निर्यात भइरहेको, उपभोक्ताले नयाँ भनेर सेकेन्ड ह्याड गाडी लिइरहेको, समयमा सर्भिस नपाइरहेकोलगायतमा अनुसन्धान भइरहेको छ।
यसअघिका सरकारले यस विषयमा कुनै कदम चालेका थिएनन्। सुशासनको प्रमुख नारामा उदाएको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आएकाले अब यसरी भइरहेको अवैध कारोबारमाथि सुरुदेखि नै अनुसन्धान हुनुपर्ने छ। यद्यपी २०८२ फागुन २१ मा भएको निर्वाचनअघि बालेनले काइरोसले अवैधरूपमा आयात गरेको ल्यान्ड रोभर डिफेन्डर लिएर प्रचारमा हिँडेका थिए।
आयात अनुमति माग्दादेखि भन्सार जाँचपास हुँदासम्म पेट्रोल हाइब्रिड भनिएको सो डिफेन्डर डिजेल भएको पुष्टि भइसकेको छ। झुक्याएर आयात हुँदा राजस्व गुमेको बारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ। सो गाडी आयात गर्नेलाई कारबाही हुन्छ यस हुन्न बालेन सरकारको सुशासनको परीक्षामा यसबाट आउने अंकले पनि भूमिका खेल्नेछ।
सन् २०२० देखि २०२६ सम्म आइपुग्दा राकेशकुमार अडुकियाले नेपालबाट अवैध कागजात बनाएर वैध बाटोबाट पचासौँ लाख अमेरिकी डलर क्यापिटल फ्लाइट गरिरहेका छन्। यसरी अडुकियाको अवैध कार्यमा सघाउने २०२० यताका वाणिज्य विभाग, भन्सार विभागलगायत सबै निकायका कर्मचारीमाथि गम्भीर छानबिन गर्नुपर्ने देखिन्छ।