शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

काइरोस/अरेतलाई गाडी बिक्री गर्ने हङकङको कम्पनी 'साउथ चाइना' मा पनि राकेश अडुकियाको लगानी

नेपालमा गाडी ल्याउनमात्र कम्पनी खडा, हङकङमा गर्दैन गाडीसम्बन्धी कुनै काम

बुधबार, वैशाख २ २०८३
काइरोस/अरेतलाई गाडी बिक्री गर्ने हङकङको कम्पनी 'साउथ चाइना' मा पनि राकेश अडुकियाको लगानी

यसमा दुई जना सेयरधनीहरू रहेका छन्। राकेशकुमार अडुकियाको नाममा १० हजार साधारण सेयर छ भने वाह फाइ कूसँग ९० हजार साधारण सेयरहरु रहेको दर्ता किताबमा उल्लेख छ।

काठमाडौं- नेपालमा विवादास्पद व्यवसाय गर्दै आएका भारतीय नागरिक राकेशकुमार अडुकियाले हङकङमा कम्पनी खोलेर सोही कम्पनीमार्फत नेपालमा रहेको कम्पनीलाई आधिकारिक बिक्रेता दिएर कार बिक्री गर्ने गरेको पाइएको हो।

अमेरिकी कम्पनी टेस्लादेखि बेलायती कम्पनी ल्यान्ड रोभर, जर्मन कम्पनी अउडी र पोर्सासम्मको कार हङकङमा रहेको साउथ चाइना एक्जिम लिमिटेड र अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेशनलले नेपालमा विलासी कार निर्यात गर्दै आएको छ।

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला, बेलायती विलासी कार निर्माता ज्यागुअर ल्यान्ड रोभर र जर्मन विलासी कार निर्माता पोर्सा र अउडीसँग साउथ चाइना एक्जिम लिमिटेड र अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेशनलले न त कुनै आधिकारिक बिक्रेता सम्झौता गरेका छन्, न त हङकङमा यी दुई कम्पनीले अटोमोबाइल‌ सम्बन्धी कुनै काम गर्छन्।

साउथ चाइना एक्जिम लिमिटेड र अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेशनल, यी दुई कम्पनीले नेपालमा रहेका अरेत इन्टरनेशनल प्रालि र काइरोस इन्टरनेशनललाई आधिकारिक बिक्रेता नियुक्त गरेर टेस्लादेखि ल्यान्ड रोभरसम्मका कार बिक्री गर्दै आएको छ।

काइरोस इन्टरनेशनल फर्ममा विवाद आएपछि अडुकियाका साला नाता पर्ने सुमन्त जाजुदियाको नाममा दर्ता भएको युरेका इनभेस्टमेन्ट प्रालिको नाम बदलेर काइरोस इन्टरनेशनल प्रालि बनाइएको छ। अहिले काइरोस इन्टरनेशनल प्रालि नै आधिकारिक बिक्रेता भएर साउथ चाइना एक्जिम लिमिटेड र अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेशनलबाट कार खरिद गरेर नेपाल आयात गरिरहेको छ।

नेपालमा दर्ता भएका काइरोस इन्टरनेशनल र अरेत इन्टरनेशनल प्रालि अडुकियाकै छत्रछायामा सञ्चालित कम्पनी हो। अरेत इन्टरनेशनलमा राजेश शर्माको नाम छ। काइरोस इन्टरनेशनल फर्म पनि उनै शर्माको नाममा नै छ। फर्ममा विवाद भएपछि सालोको नाममा रहेको युरेकाको नाम बदलेर काइरोस इन्टरनेशनल प्रालि बनाउने काम पनि अडुकियाले नै गराएका हुन्। 

कम्पनीमा केही समस्या आउँदादेखि कोहीकसैसँग ‘डिल’ गर्नुपर्दा काइरोस र अरेतबारे राकेशकुमार अडुकिया स्वयम अघि सर्ने गरेका छन्। त्यसैले पनि कम्पनी दर्ता लगतमा उनको नाम नभएपनि यो सबै प्रक्रियामा अडुकियाकै प्रत्यक्ष संलग्नता छ। 

अडुकियाले उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नदिने भएपछि अवैध प्रक्रियाबाट नेपालमा सवारी ल्याउन हङकङमा आफ्नै नाममा कम्पनी दर्ता गराएको तथ्य बिजनेस न्युजले प्राप्त गरेको छ। बिजनेस न्युजले प्राप्त गरेको हङकङमा २०१६ मा दर्ता भएको ‘साउथ चाइना एक्जिम लिमिटेड’ नामक कम्पनीमा राकेशकुमार अडुकियाको सेयर स्वामित्व छ। 

यस्तो छ कम्पनी दर्ता विवरण

२०१६ जनवरी १४ मा साउथ चाइना एक्जिम लिमिटेड नाममा हङकङमा दर्ता भएको उक्त कम्पनीको दर्ता नम्बर (बीआरएन) ६५६९६९३५ रहेको छ। दर्ता किताबअनुसार कम्पनीको प्रकारमा सेयरद्वारा सीमित निजी कम्पनी र अवस्थामा हाल सक्रिय रहेको उल्लेख छ।

दर्ता भएको कार्यालय ठेगानामा रुम १२,  १४ एफ, पेनिनसुला स्क्वायर इस्ट विङ नम्बर १८ सुङ अन स्ट्रिट, हुङ होम कोवलुन, हङहङ छ। यो ठेगाना २०२५ मे २० देखि लागु भएको हो।

कम्पनीको कुल जारी गरिएको र चुक्ता पुँजी एक लाख हङकङ डलर छ। यसमा दुई जना सेयरधनीहरू रहेका छन्। राकेशकुमार अडुकियाको नाममा १० हजार साधारण सेयर छ भने वाह फाइ कूसँग ९० हजार साधारण सेयर रहेको दर्ता किताबमा उल्लेख छ। 

हाल उक्त कम्पनीको निर्देशकमा वाह फाइ कू रहेको देखिन्छ। कम्पनी सचिवका रुपमा भने व्यक्ति नभइ कम्पनीलाई नै राखिएको छ। साउथ चाइना एक्जिम लिमिटेडको कम्पनी सचिवमा च्याम्पियन कर्पाेरेट लिमिटेडलाई नियुक्त गरिएको छ। यस संस्थालाई कम्पनी सचिवमा २०२० जनवरी १४ मा नियुक्ति गरिएको र हालसम्म त्यो कायम रहेको कम्पनी दर्तामा छ। 

यो विवरण हङकङ कम्पनी रजिस्ट्रीको रेकर्डअनुसार २०२६ मार्च महिनासम्मको अध्यावधिक विवरणअनुसारको हो। यसमा कम्पनीको नाम परिवर्तन भएको दर्ता विवरणबाट देखिँदैन। स्थापना कालदेखि नै एउटै नाम रहेको देखिन्छ।

श्रीमा डिस्ट्रिब्युसनमार्फत टेस्लाबाट सुरु भएको अवैध आयात अउडी, पोर्सा र ल्यान्ड रोभरसम्म 

सुरुमा साउथ चाइना एक्जिम लिमिटेडबाट श्रीमा डिस्ट्रिब्युसन प्रालिले टेस्लाको विद्युतीय कार आयात गरेको थियो। अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले हालसम्म पनि कुनै पनि देशमा आधिकारिक बिक्रेता नियुक्त गरेको छैन।

टेस्लाले जुन देशमा कार बिक्री गर्छ त्यो देशमा स्वयं कम्पनीले स्थानीय साझोदारमार्फत जाने गरेको छ। तर राकेशकुमार अडुकियाले हङकङमा आफ्नै नाममा कम्पनी बनाएर सो कम्पनीले नेपालमा रहेको कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरी नेपालमा कार आयात सुरु गरेको तथ्यबाट प्रमाणित भएको छ।

नेपालमा दर्ता भएको अरेत इन्टरनेशनल प्रालि राजेश शर्माको नाममा दर्ता छ। उक्त कम्पनी अडुकियाकै डिजाइनमा बनेको आधारहरू देखिन्छन्। यसबाट के प्रस्ट हुन्छ भने यो सबै अवैध कार्यमा उनै राकेशकुमार अडुकियाकै संलग्नता देखिन्छ। 

श्रीमा डिस्ट्रिब्युसनले आयात गरेको टेस्ला आयात विवादमा परेपछि अडुकियाले अरेत इन्टरनेशनल प्रालि नामक कम्पनी बनाउन लगाएका थिए। सोहीअनुसार अडुकियाकै नाममा हङकङमा रहेको कम्पनीले तरुन्तै श्रीमा डिस्ट्रिब्युसनलाई दिएझैँ अरेत इन्टरनेशनल प्रालिलाई पनि टेस्लाको आधिकारिक बिक्रेता नियुक्त थियो। यसरी अवैध आयातकर्ता नियुक्त भएको कम्पनीलाई वाणिज्य विभागले कसरी तत्काल एजेन्सी प्रमाणपत्र दियो? 

भन्सार कार्यालय तथा वाणिज्य विभागमा केही न केही ‘सेटिङ’ मिलाएका अडुकियाको संयन्त्रले ल्याएका कागजात र गाडीहरु ‘सरासर’ पास हुँदै आएका छन्। 

अरेत इन्टरनेशनलमार्फत टेस्लाको कार आयातमा सरकारी संयन्त्रले अवैध कार्यलाई आँखा चिम्लिदिएपछि राकेश अडुकियाले साउथ चाइना एक्जिम लिमिटेड पछि अर्को कम्पनी अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेशनल (एयूडीआई) बनाएर अउडी, पोर्सा र ल्यान्ड रोभरको आधिकारिक बिक्रेता भएको भन्दै ती कम्पनीका कार पनि आयात गर्न थाले। त्यसका लागि अडुकियाको निर्देशनमा काइरोस इन्टरनेशनल नामक फर्म बनाएर सुरुमा अउडी त्यसपछि पोर्सा र अन्तिममा ल्यान्ड रोभरका कार ल्याउन थालेका हुन्। 

अहिले वाणिज्यमा दर्ता भएको काइरोस इन्टरनेशनल फर्ममा आन्तरिक विवाद भएपछि अडुकियाले त्यसलाई निष्कृय बनाएर काइरोस इन्टरनेशनल प्रालि नामक कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर ल्यान्ड रोभरका कार आउन थालिसकेका छन्।

अडुकियाको साला नाता पर्ने सुमन्त जाजुदियाको नाममा रहेको युरेका इनभेस्टमेन्ट प्रालिको नाम बदलेर काइरोस इन्टरनेशनल प्रालि बनाइएको हो। अटोमोबाइलमा कुनै अनुभव नै नभएको कम्पनीलाई विश्व प्रसिद्ध अटोमोबाइल कम्पनीले आधिकारिक बिक्रेता दियो भनेर त्यसलाई कुनै अध्ययन नै नगरी वाणिज्य विभागले एजेन्सी दर्ता गरिदिएबाट नै अडुकियाको अवैध कार्यको वैधता प्रारम्भ भएको प्रष्ट हुन्छ। 

काइरोस इन्टरनेशनलले ल्याएको ल्यान्ड रोभरको डिफेन्डरलगायत कार पेट्रोल इन्जिन भनेर आयात गरिएको तर वास्तवमा गाडी डिजेल इन्जिनयुक्त भएको प्रष्ट भइरहेको छ। यसबारेमा बिजनेस न्युजले समाचारसमेत प्रकाशित गरिसकेको छ।

भन्सार र वाणिज्य विभागको सेटिङमा गाडीको फ्युल टाइप नै ढाँटेर आयात अनुमति दिँदा करोडौँ करछली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयागले पनि विस्तृत अनुसन्धान गरिरहेको छ। 

भन्सारको ‘लापरबाही’ले देखाएको सेटिङको छाया : अनुमति र जाँचपास पेट्रोल हाइब्रिडमा, दर्तापछि डिजेल हाइब्रिड भन्सारको ‘लापरबाही’ले देखाएको सेटिङको छाया : अनुमति र जाँचपास पेट्रोल हाइब्रिडमा, दर्तापछि डिजेल हाइब्रिड

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन

भन्सारले ‘अन्डर इनभ्वोइस’ पुष्टि गरेपछि काइरोसले गुहार्‍यो अदालत भन्सारले ‘अन्डर इनभ्वोइस’ पुष्टि गरेपछि काइरोसले गुहार्‍यो अदालत

ल्यान्ड रोभर आयात : जाँचपासमा संलग्न वीरगञ्ज भन्सारका कर्मचारी विभाग तानिए, सिधै ‘विस्तृत अनुसन्धान’मा अख्तियार ल्यान्ड रोभर आयात : जाँचपासमा संलग्न वीरगञ्ज भन्सारका कर्मचारी विभाग तानिए, सिधै ‘विस्तृत अनुसन्धान’मा अख्तियार

 


प्रकाशित : बुधबार, वैशाख २ २०८३१७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend