शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

भन्सारको ‘लापरबाही’ले देखाएको सेटिङको छाया : अनुमति र जाँचपास पेट्रोल हाइब्रिडमा, दर्तापछि डिजेल हाइब्रिड

अनुमति दिने प्राधिकार निकायलाई नसोधी गाडीको फ्युल टाइप बदलियो

मंगलबार, चैत ३ २०८२
भन्सारको ‘लापरबाही’ले देखाएको सेटिङको छाया : अनुमति र जाँचपास पेट्रोल हाइब्रिडमा, दर्तापछि डिजेल हाइब्रिड

किर्ते काम गर्ने काइरोस इन्टरनेसनलले गाडीको इन्धन प्रकार नै ढाँटेर ल्यायो वा वीरगञ्ज भन्सार कार्यालयले काइरोस इन्टरनेसनललाई बचाउन इन्धनको प्रकार बदल्यो भन्ने गम्भीर अनुसन्धानको विषय बनेको छ।

काठमाडौं- माग गरेअनुसार आयात अनुमति पाउँदा 'पेट्रोल', भन्सार जाँचपास हुँदा पनि 'पेट्रोल' तर सवारी दर्ता हुँदा गाडीको इन्धन प्रकार 'डिजेल'। सवारी जाँचपास गर्दा आँखा चिम्लिएर पास गरेको वीरगञ्ज भन्सार कार्यालयले आफूखुसी सवारीको इन्धन प्रकार नै पेट्रोल नभइ डिजेल भएको जिकिर गरिदिएको छ। 

काइरोस इन्टरनेसनलले अवैध रुपमा बेलायती ब्रान्ड ज्यागुअर ल्यान्ड रोभरका कार आयात गर्दै आएको छ। कम्पनीले उत्पादक कम्पनी वा उसले तोकेको कम्पनीबाट नभइ हङकङ रहेको अर्को कम्पनीबाट किर्ते कागजात बनाइ ल्यान्ड रोभरका कार आयात गर्दै आएको छ। त्यस्तो कागजातका आधारमा वाणिज्य विभागले एजेन्सी दियो भने भन्सारले यसै जाँचपास गरिदिँदै आएको छ। 

किर्ते काम गर्ने काइरोस इन्टरनेसनलले गाडीको इन्धन प्रकार नै ढाँटेर ल्यायो वा वीरगञ्ज भन्सार कार्यालयले काइरोस इन्टरनेसनललाई बचाउन इन्धनको प्रकार बदल्यो भन्ने गम्भीर अनुसन्धान गर्नुपर्ने विषय बनेको छ।

यसले के प्रष्ट हुन्छ भने वीरगञ्ज भन्सार कार्यालयमा काइरोस इन्टरनेसनले सेटिङ गरिरहेको छ। नियमित र सबै कागजातसहित गाडी आयात गर्दै आएका कम्पनीलाई अनेक बहाना निकालेर दुःख दिने वीरगञ्ज भन्सार कार्यालयले किर्ते काम गर्दै इन्धन प्रकार नै फरक बनाएर ल्याउने काइरोसका कार भने सरासर जाँचपास गर्ने गरेको छ। 

काइरोस इन्टरनेसनलले विभिन्न मितिमा ल्याएका ल्यान्ड रोभरका कारहरूको इन्धन प्रकार फरक भएको पाइएको हो। काइरोसले यातायात व्यवस्था विभागसँग आयात अनुमति माग गर्दा पेट्रोल हाइब्रिड कार भनेर अनुमति मागेको, सोहीअनुसार पेट्रोल हाइब्रिड नै अनुमति पाएको, काइरोसले सोही कागजात वीरगञ्ज भन्सारमा पेस गरेको र वीरगञ्ज भन्सारले पेट्रोल हाइब्रिड नै भनेर ल्यान्ड रोभर डिफेन्डर जाँचपास गरेको प्रज्ञापन पत्रमा उल्लेख छ। 

वीरगञ्ज भन्सार कार्यालयले आयात अनुमति दिने यातायात व्यवस्था विभागलाई कुनै जानकारी नै नगराइ उक्त डिफेन्डर पेट्रोल नभइ डिजेल भएको पत्र यातायात व्यवस्था कार्यालय एकान्तकुनालाई पठायो। वीरगञ्ज भन्सार कार्यालयले २०८२ माघ ११ गते ‘खुलाइ पठाइएको’ विषयमा यातायात व्यवस्था कार्यालय बागमती प्रदेश एकान्तकुनालाई पत्र पठाएको हो। 

उक्त पत्रमा ‘२०८२ साउन २ बाट पैठारीकर्ता काइरोस इन्टरनेसनलले आयात गरी ल्याएको क्रमशः रेन्ज रोभर भेलार १, डिफेन्टर १ र रेन्ज रोभर भेलार १ थानसमेत गरी जम्मा ३ वटामा फ्युल टाइप मा माइल्ड हाइब्रिड मात्र लेखेर पठाइएकामा आसिकुडा अभिलेख र पैठारीकर्ताले पेस गरेको कागजातहरूबाट फ्युल टाइपमा माइल्ड हाइब्रिड/डिजेल देखिएकोले सोही व्यहोरा खुलाइ पठाइएको व्यहोरा अनुरोध छ,’ लेखिएको छ। 

वीरगञ्ज भन्सारले सवारी आयातको अनुमति दिने अधिकार पाएको यातायात व्यवस्था विभागलाई कुनै जानकारी नै नगराइ सवारीको इन्धन प्रकार बदल्न पाउँदैन। तर कार्यालयले सोझै यातायात व्यवस्था कार्यालयलाई ल्यान्ड रोभर डिफेन्डर पेट्रोल हाइब्रिड नभइ डिजेल हाइब्रिड घोषणा गरेर पत्र पठाउनु गम्भीर विषय हो। 

भन्सार कार्यालयले डिफेन्डरको इन्धन प्रकारमा शंका लागेपछि जाँचपास रोकेर आयात अनुमति दिने यातायात व्यवस्था विभाग र आयातकर्तालाई सोधेर त्यसमा के कमजोरी भएको हो र कसको कमजोरी भएको हो भन्ने पत्ता लगाएर कारबाही गर्नुपर्ने थियो। तर वीरगञ्ज भन्सार कार्यालयले त्यसो नगरी गल्ती छोप्न त्योभन्दा ठूलो गल्ती गरेको छ। आफैले पेट्रोल भनेर जाँचपास गरेको डिफेन्डर के आधारमा डिजेल भयो भन्ने वीरगञ्ज भन्सारले खुलाएको छैन। 

काइरोस इन्टरनेसनलले ल्याएको करिब आधा दर्जन ल्यान्ड रोभरका कारमा यस्तै समस्या देखिएको छ। वीरगञ्ज भन्सार कार्यालयले 'अनावश्यक लाभ'मा परेर काइरोसले ल्याएका ल्यान्ड रोभरका कार आँखा चिम्लिएर जाँचपास गर्दा समस्यामात्रै मौलाएको छैन विकृति पनि बढाएको छ। 

काइरोस इन्टरनेसनलले आयात गरेको ल्यान्ड रोभरका गाडी सन्देहपूर्ण रूपमा जाँचपास भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।

उक्त विषयमा भन्सार विभागले पनि अनुसन्धान गरिरहेको छ। त्यसका लागि विभागले वीरगञ्ज भन्सार कार्यालयका ४/५ जना कर्मचारीलाई काठमाडौं झिकाएको थियो। 

काइरोस इन्टरनेसनलले आयात गरेको ल्यान्ड रोभर ब्रान्डका कार हाइब्रिड भए/नभएको, डिजेल वा पेट्रोल इन्जिनमा आएको र त्यसमा अन्डर इन्भोइस भएको विषय बाहिर आएको थियो। 

२०२५ मा बनेको ल्यान्ड रोभर डिफेन्डर २९ सय ९६ सीसी इन्जिन क्षमताको डिजेल हाइब्रिड कार भएको यातायात व्यवस्था कार्यालय एकान्तकुनाको दर्ता किताबमा उल्लेख छ। तर आयात अनुमति माग्दा उक्त कार पेट्रोल भनेर अनुमति मागिएको र सोहीअनुसार वीरगञ्ज भन्सार कार्यालयले पनि पेट्रोल हाइब्रिड नै भनेर जाँचपास गरेको थियो। काइरोस इन्टरनेसनलले ल्याएको डिफेन्डर ३.० एल निकै वर्ष पुरानो कार हो। कम्पनीले उक्त कार प्लग इन हाइब्रिड भनेर आयात गरेको छ। तर ल्यान्ड रोभरले २.० एलभन्दा बढी इन्जिन क्षमतामा प्लगइन हाइब्रिड उत्पादन बन्द गरिसकेको छ। यसमाथि पनि भन्सार र अख्तियारले छानबिन गर्नुपर्ने छ। 

काइरोस इन्टरनेसनलले आयात गरेको ल्यान्ड रोभरका कारमा गम्भीर आशंका गरेर अख्तियारले सोझै विस्तृत अनुसन्धान थालिसकेको छ। अख्तियारले काइरोसले आयात गरेका १७ वटा ल्यान्ड रोभर रेन्ज रोभरका गाडीको अनुसन्धान गरिरहेको छ। ती कारमध्ये ३/४ वटा हाइब्रिड भनेर ल्याइएका कार हाइब्रिड नभएको र पेट्रोल भनेर ल्याइएका कार डिजेल भएको पाइएको छ। ती कार हाइब्रिड भएको र डिजेल प्रमाणित भए आयातकर्ताले करोडौँ थप कर तिर्नुपर्ने हुन्छ। 

काइरोस इन्टरनेसनल नामक फर्मले जेएलआरले उत्पादन गरेको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स तथा डिफेन्डरलयात मोडलका कार आयातका लागि अनुमति पाएको छ। उत्पादक कम्पनीले नचिन्ने यो कम्पनीले कहाँबाट र कोसँग ल्यान्ड रोभर कार किनेर नेपालमा आधिकारिक बिक्रेता बनेर ल्यायो भन्ने गम्भीर प्रश्नको उत्तर सरकारले दिएको छैन।

काइरोस इन्टरनेसनलले हङकङमा दर्ता भएको साउथ चाइना एक्जिम लिमिटेडसँग आधिकारिक बिक्रेता सम्झौता गरेर उसैसँग ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स तथा डिफेन्डर कार ल्याएको हो। साउथ चाइना एक्जिम लिमिटेड सुरुमा राकेश अडुकियाकै नाममा हङकङमा दर्ता भएको कम्पनी हो।

साउथ चाइना एक्जिम लिमिटेड न त ज्यागुअर ल्यान्ड रोभरको हङकङका लागि आधिकारिक बिक्रेता हो न त त्यो कम्पनीले हङकङबाट तेस्रो मुलुकमा ल्यान्ड रोभरका कार बिक्री गर्ने अनुमति उत्पादक कम्पनीबाट पाएको छ। अख्तियारको छानबिन यसतर्फ पनि केन्द्रित हुनुपर्ने देखिन्छ।

ज्यागुअर आईपेसमा अन्डर इन्भोइस : सीआईएफ भ्यालु ३४९०७.८० पाउन्ड, अष्ट्रियाबाट आयात ज्यागुअर आईपेसमा अन्डर इन्भोइस : सीआईएफ भ्यालु ३४९०७.८० पाउन्ड, अष्ट्रियाबाट आयात

ज्यागुअरको आईपेस बेलायती नम्बर प्लेटसहित चोभारमा, कसरी गरियो सेकेन्ड ह्यान्ड गाडी आयात? ज्यागुअरको आईपेस बेलायती नम्बर प्लेटसहित चोभारमा, कसरी गरियो सेकेन्ड ह्यान्ड गाडी आयात?

२०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल? २०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल?

मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन

भन्सारले ‘अन्डर इनभ्वोइस’ पुष्टि गरेपछि काइरोसले गुहार्‍यो अदालत भन्सारले ‘अन्डर इनभ्वोइस’ पुष्टि गरेपछि काइरोसले गुहार्‍यो अदालत

ल्यान्ड रोभर आयात : जाँचपासमा संलग्न वीरगञ्ज भन्सारका कर्मचारी विभाग तानिए, सिधै ‘विस्तृत अनुसन्धान’मा अख्तियार ल्यान्ड रोभर आयात : जाँचपासमा संलग्न वीरगञ्ज भन्सारका कर्मचारी विभाग तानिए, सिधै ‘विस्तृत अनुसन्धान’मा अख्तियार


प्रकाशित : मंगलबार, चैत ३ २०८२१६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend