शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

पूर्वीनाका काँकडभिट्टाबाट ७ हजार ६ सय ४२ पर्यटक भित्रिए, सबैभन्दा बढी भुटानी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १३ २०८३
पूर्वीनाका काँकडभिट्टाबाट ७ हजार ६ सय ४२ पर्यटक भित्रिए, सबैभन्दा बढी भुटानी

साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए। नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक छन्।

झापा- पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका ७ हजार ६ सय ४२ पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा उक्त संख्यामा पर्यटक नेपाल आएका हुन्।

साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए। नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक छन्। उक्त अवधिमा ४ हजार १ सय ५४ जना भुटानी पर्यटक नेपाल आएका छन्।

भुटानपछि अमेरिका, थाइल्यान्ड, अस्ट्रेलिया र संयुक्त अधिराज्य (बेलायत) का पर्यटक धेरै संख्यामा नेपाल आएका कार्यालयको अभिलेखमा उल्लेख छ। अमेरिकाबाट एक हजार ६ सय १२, थाइल्यान्डबाट ५ सय २५, अस्ट्रेलियाबाट २ सय २९ र बेलायतबाट १ सय ८२ जना नागरिक नेपाल घुम्न आएका कार्यालयका प्रमुख भट्टराईले बताए। नेपाल आउने पर्यटकले लुम्बिनी, पोखरा, काठमाडौं, चितवन, गोर्खालगायत प्रमुख पर्यटकीयस्थल जाने बताउने गरेको उनले जानकारी दिए।

आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन्। सोही अवधिमा काँकडभिट्टा नाका भएर ९ हजार ९ सय ४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्यांक छ।

आव २०८१/८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट ८ हजार ७० जना पर्यटक भित्रिएका थिए। चालु आवको सोही अवधिमा आगमन भएका पर्यटकको संख्यामा ४ सय २८ ले कमी आएको छ।

चालु आवको चैत महिनामा यो नाका भएर १ हजार ६ जना पर्यटक नेपाल प्रवेश गरेको र १ हजार ५ सय ४३ जना प्रस्थान गरेको कार्यालयले जनाएको छ। यस अवधिमा ६ हजार ६ सय ९१ वटा पर्यटक भिसा, १ सय २४ वटा नातेदार भिसा, २६ वटा वैवाहिक भिसा र ३६ वटा गैरआवासीय भिसा जारी गरिएका छन्। भिसा जारी गरेबापत २ करोड ८० हजार ५ सय २० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १३ २०८३१६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend