काठमाडौं- भारतीय बहुराष्ट्रिय जुत्ता ब्रान्ड 'रेड टेप'ले आफ्नो विश्वव्यापी विस्तार रणनीतिअन्तर्गत नेपालका स्थापित उद्योगसँग सहकार्य सुरु गरेको छ। नेपालमा गोल्डस्टार ब्रान्डका जुत्ता निर्माता गोल्डस्टार स्ट्राइड लिमिटेडलाई मासिक हजारौँ जोर जुत्ताको अर्डर दिन थालेको हो।
गोल्डस्टार स्ट्राइड लिमिटेडकी सञ्चालक विदुषी राणाका अनुसार केही महिनाअघि सुरु भएको यो सहकार्य निरन्तर विस्तारको चरणमा रहेको छ। 'रेड टेपको अर्डरअनुसार नेपालमै जुत्ता उत्पादन गरेर भारत पठाउने काम भइरहेको छ, प्रारम्भिक चरणमै सकारात्मक प्रतिक्रिया आएको छ,' उनले भनिन्।
हाल राणा प्रतिनिधि सभा सांसदसमेत हुन्। उनले पछिल्लो समय स्वदेशी उत्पादन र उद्योग विस्तारका लागि कानूनी संरचना सुधार गर्नुपर्ने आवाजसमेत उठाउँदै आएकी छिन्।
रेड टेपले विश्वका ६ महादेशका १७ भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। जसले भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, टर्की, यूएई, फ्रान्स, जर्मनी र पश्चिम एसियाका विभिन्न देशसहित दक्षिण अफ्रिकाजस्ता अन्तर्राष्ट्रिय बजारमा मजबुत उपस्थिति बनाएको छ। कम्पनीले उत्पादन विविधीकरणका लागि नेपालतर्फ गोल्डस्टारमार्फत जुत्ता उत्पादन गरिरहेको राणाले जानकारी दिइन्।
डिजिटल पूर्वाधारमा आधारित ‘ओम्नी-च्यानल’ खुद्रा रणनीति अपनाउँदै रेड टेपले अनलाइन र अफलाइन दुवै माध्यममार्फत बजार विस्तार गरिरहेको छ। साथै उत्पादन नवप्रवर्तन र फेसन ट्रेन्डलाई समेट्दै कम्पनीले जुत्तासँगै कपडा तथा एसेसरीज क्षेत्रमा पनि विस्तार गरिसकेको छ। भारतको विशाल कम्पनीसँग जोडिएर जुत्ता उत्पादन गरेर निर्यात गर्न पाउनु गर्वको विषय भएकोसमेत राणाले बताइन्।
हाल गोल्डस्टारले बजारको मागअनुसार उत्पादन विविधीकरण गरेको छ। परम्परागत सस्तो जुत्ताबाट बाहिरिँदै युवामुखी, स्टाइलिस डिजाइनका उत्पादन थपिएको छ। देशभर करिब ७०/८० फ्रेन्चाइज स्टोर तथा हजारौँ खुद्रा पसलमार्फत गोल्डस्टार बिक्री भइरहेको छ।
यद्यपि उच्च उत्पादन लागत र अवैध आयातसँगको असमान प्रतिस्पर्धा उद्योगका प्रमुख चुनौती बनेका छन्। 'कर तिर्ने, श्रमिकलाई न्यूनतम पारिश्रमिक दिने उद्योगले कर नतिरेका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुन्छ,' राणाले भनिन्।
उद्योगले पछिल्लो समय आफ्नो ‘लेटेन्ट क्यापासिटी’ प्रयोग गर्दै विदेशी ब्रान्डका लागि उत्पादन सुरु गरेको हो। रेड टेपसँगको सहकार्यलाई निर्यात विस्तारको नयाँ अवसरका रूपमा हेरिएको समेत उनले बताइन्।
नेपाली जुत्ता उद्योगको इतिहासमा गोल्डस्टारको यात्रा विशेष मानिन्छ। सन् १९७० को दशकमा स्वर्गीय नुरप्रताप राणाले मकवानपुरको हेटौँडाबाट ‘हात्तीछाप’ चप्पल उत्पादन सुरु गरेका थिए। प्रारम्भिक चरणमा चुनौतीका बाबजुद गुणस्तर सुधार र बजार प्रवर्द्धनपछि उत्पादन लोकप्रिय बन्न सफल भयो।
पछि स्थापना गरिएको किरण शू म्यानुफ्याक्चरर्समार्फत ‘गोल्डस्टार’ जुत्ताको उत्पादन सुरु भयो, जुन टिकाउपन र किफायती मूल्यका कारण नेपालभरि लोकप्रिय बन्यो। हाल भने नाम परिवर्तन भएर गोल्डस्टार स्ट्राइड लिमिटेड भएको छ।
गोल्डस्टारका जुत्ता टिकाउपन, किफायती मूल्य र प्रयोगमैत्री डिजाइनका कारण नेपाली उपभोक्तामाझ लोकप्रिय रहँदै आएको छ। विशेषगरी मध्यम तथा निम्न आय वर्गमा यसको माग उच्च रह्यो। हरियो रंगको क्लासिक गोल्डस्टार जुत्ता लामो समयसम्म बजारमा प्रभुत्व जमाएको उत्पादन मानिन्छ।
हाल कम्पनीले दैनिक करिब ७५ हजार जोर जुत्ता उत्पादन गर्दै आएको छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा रहेका उत्पादन इकाइहरूमा करिब ३ हजारभन्दा बढी श्रमिक कार्यरत छन्। कम्पनीसँग १५ सयभन्दा बढी डिजाइन (एसकेयू) छन् भने नेपालभर दर्जनौँ फ्रेन्चाइज स्टोर र हजारौँ खुद्रा पसलमार्फत बिक्री भइरहेको छ।
अन्तर्राष्ट्रिय बजार र निर्यात
गोल्डस्टारले भारत, अस्ट्रेलिया, मलेसिया र अमेरिकालगायत विभिन्न देशमा आफ्नो बजार विस्तार गरिसकेको छ। एक समय कम्पनीको कुल उत्पादनको ७०/८० प्रतिशतसम्म भारत निर्यात हुने गरेको थियो।
माओवादी द्वन्द्वकालमा भने उद्योगले ठूलो चुनौती भोग्नुपरेको थियो। त्यसबेला गोल्डस्टार जुत्ता विद्रोही समूहसँग जोडिएको आरोपका कारण बजारमा अवरोध सिर्जना भएको थियो। तथापि उद्योगले निर्यातलाई निरन्तरता दिँदै आफ्नो अस्तित्व जोगाएको थियो।
वर्तमानमा गोल्डस्टारले परम्परागत किफायती जुत्तासँगै आधुनिक डिजाइन, खेलकुद जुत्ता, पीयू तथा पीभीसी जुत्तालगायतका विविध उत्पादन बजारमा ल्याएको छ।
‘जी-१० सिरिज’, ‘क्लासिक’ र अन्य नयाँ मोडेलहरू युवा पुस्तालाई लक्षित गरेर विकास गरिएका छन्। अनुसन्धान तथा विकास (आरएन्डडी) मा जोड दिँदै कम्पनीले नयाँ प्रविधि र सामग्री प्रयोगमा ध्यान केन्द्रित गरेको छ।
गोल्डस्टार स्ट्राइड लिमिटेडले यो उद्योगले ‘हात्ती’ ब्रान्डका हवाई चप्पलदेखि आधुनिक जुत्तासम्म उत्पादन गर्दै आएको छ।
कम्पनीले सन् २०२६ भित्र विश्वका सबै महादेशमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ। साथै निकट भविष्यमा सर्वसाधारणलाई सेयर स्वामित्व दिनेगरी सार्वजनिक कम्पनी (आईपीओ) मा जाने तयारी पनि अघि बढाइएको छ।
