बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

धितोपत्र बोर्डको छानबिनमा देखियो दीपक भट्टको अर्बौंको ‘पे-लेटर’ खेल

मंगलबार, वैशाख ८ २०८३
धितोपत्र बोर्डको छानबिनमा देखियो दीपक भट्टको अर्बौंको ‘पे-लेटर’ खेल

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा बोर्डले भट्टको कारोबारमाथि सुपरीवेक्षण गर्दा गम्भीर वित्तीय अनियमितताका संकेतहरू फेला पारेको हो।

काठमाडौं- धितोपत्र बजारमा गैरकानूनी ‘कृत्रिम कारोबार’मार्फत बजार प्रभावित पारेको आरोपमा व्यवसायी दीपक भट्टमाथि गम्भीर छानबिन सुरु भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा गरेको प्रारम्भिक जाँचबुझमा अर्बौँ रुपैयाँबराबरको वित्तीय अनियमितता भएको संकेत फेला परेको हो।

सेबोनले तयार पारेको 'धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३' अनुसार भट्ट र उनीसँग सम्बद्ध समूहले नीतिगत तथा प्राविधिक कमजोरीको फाइदा उठाउँदै बजारमा कृत्रिम माग सिर्जना गर्ने, मूल्य प्रभावित पार्ने र उधारोमा ठूलो परिमाणमा सेयर कारोबार गर्ने अभ्यास अपनाएको देखिएको छ।

छानबिनका क्रममा भट्टको टीएमएस खाताको विश्लेषण गर्दा उनले सेयर खरिद-बिक्री गरे पनि त्यसबापत ब्रोकर कम्पनीलाई रकम भुक्तानी नगरेको पाइएको छ। सामान्यतया तोकिएको राफसाफ चक्रभित्र ‘पे-इन’ अनिवार्य हुने कानूनी व्यवस्था भए पनि उनको हकमा भने बिनारकम नै सेयर नामसारी र राफसाफ भएको प्रतिवेदनमा उल्लेख छ।

धितोपत्र दलाल भृकुटी स्टक ब्रोकिङ कम्पनीसँगको मिलेमतोमा अन्य ग्राहकको मौज्दात रकम, एडभान्स रकम तथा आन्तरिक हिसाब मिलाएर कारोबार चलाइएको आशंका गरिएको छ। यसले सर्वसाधारण लगानीकर्ताको रकमसमेत जोखिममा परेको हुनसक्ने संकेत गरेको छ।

कसुर

धितोपत्र दलाल व्यवसयी भृकुटी स्टक ब्रोकिङ कम्पनीले दीपक भट्टबाट उनले धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने तथा उनीसँग सम्बन्धित विभिन्न कम्पनी र ती कम्पनीका सञ्चालकलाई दिनुपर्ने रकम नदिई त्यस रकमबाट नै धितोपत्रको राफसाफ तथा फर्छ्यौट गर्ने र दीपक भट्टले कुनै पनि रकम भुक्तानी नगर्ने कार्यबाट रकमको लेनदेनबिना नै उधारोमा सेयर कारोबार भइ सेयरको मूल्य वृद्धि भएको हुनसक्ने र यसबाट धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९६ बमोजिमको कसुर भएको हुनसक्ने देखिएको छ। 

जसअन्तर्गत कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन नहुने तथा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै धितोपत्रको बजार मूल्य बढाउने र धितोपत्र किन्न वा बेच्न उत्साहित गराउनेलाई धितोपत्र बजारलाई प्रभावित पारेको कसुर मानिने छ।

धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङमार्फत एनबीएलडी८५ ऋणपत्र खरिद-बिक्रीमा संलग्न दीपक भट्टले सम्बन्धित कम्पनीहरूबीच अनुचित लाभ लिइ कारोबार गरेको देखिएको छ । 

स्रोतका अनुसार भट्टले इन्फिनिटी होल्डिङ्सको ४.५ प्रतिशत स्वामित्व रहेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडबाट सन् २०२५ नोभेम्बर ९ मा प्रतिकित्ता १ हजार ८० रुपैयाँमा उक्त ऋणपत्र खरिद गरेका थिए। 

त्यसको एक साता नबित्दै सन् २०२५ नोभेम्बर १६ मा उनले सोही ऋणपत्र आफ्नो १५ प्रतिशत स्वामित्व रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई प्रतिकित्ता १ हजार १ सय  देखि १ हजार १ सय ६० रुपैयाँसम्म बिक्री गरेका थिए।

हिमालयन रिइन्स्योरेन्सकै १५ प्रतिशत स्वामित्व रहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई प्रतिकित्ता १ हजार १ सय ६० देखि १ हजार १ सय ८२ रुपैयाँसम्म र हिमालयन रिइन्स्योरेन्सकै २१‍.४३ प्रतिशत स्वामित्व रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडलाई प्रतिकित्ता १ हजार १ सय ८५ रुपैयाँमा बिक्री गरेका थिए।

त्यसैगरि भृकुटी स्टक ब्रोकिङमार्फत एनबीएलडी८५ ऋणपत्र खरिद-बिक्रीमा संलग्न दीपक भट्टले सम्बन्धित कम्पनीहरूबीच अनुचित लाभ लिइ कारोबार गरेको देखिएको छ । 

भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको ४.५ प्रतिशत सेयर रहेको हिमालयन रि-इन्स्योरेन्सबाट विभिन्न मितिमा ३ लाख ३८ हजार ४ सय ४९ कित्ता ऋणपत्र खरिद गरिएको थियो।

सोही ऋणपत्र पछि उनकै १५ प्रतिशत स्वामित्व रहेको गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सलाई ८० हजार कित्ता, नेपाल माइक्रो इन्स्योरेन्सलाई ९० हजार कित्ता, वेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई १५ हजार कित्ता र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई १५ हजार ८ सय १४ कित्ता बिक्री गरिएको पाइएको छ। 

धितोपत्र बोर्डका अध्यक्षको २०८२ चैत १६ गतेको निर्णयानुसार यस विषयमा विस्तृत अध्ययन गर्न बोर्डका कार्यकारी निर्देशक रुपेश केसीलाई प्रारम्भिक जाँचबुझ अधिकृत तोकिएको छ। उनले सो कारोबारको प्रकृति र त्यसले बजारमा पारेको प्रभावबारे प्रतिवेदन पेस गर्नेछन्।

भुक्तानीबिना नै धितोपत्र खरिद

धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझका क्रममा भट्टको टीएमएस खाता नम्बर २०२५०१४३०२६ को विश्लेषण गर्दा उनले धितोपत्र खरिद-बिक्री गरे पनि सोबापत ब्रोकर कम्पनीलाई कुनै पनि रकम दिने वा लिने कार्य नगरेको पाइएको छ। सामान्यतया धितोपत्र खरिद गर्दा लगानीकर्ताले तत्कालै वा राफसाफ चक्रभित्र रकम भुक्तानी गर्नुपर्ने कानूनी प्रावधान छ। तर भट्टको हकमा भने बिनापैसा नै सेयर नामसारी र राफसाफ हुने गरेको देखिएको छ। 

भृकुटी स्टक ब्रोकिङले बोर्डलाई बुझाएको पत्रअनुसार ब्रोकर कम्पनीमा मौज्दात रहेका अन्य रकमहरू राफसाफमा प्रयोग भइरहेको जानकारी गराइएको थियो। 

अझ गम्भीर कुरा विभिन्न व्यक्ति र संस्थाहरूबाट एडभान्समा रकम उपलब्ध गराउन लगाइ सोही रकम प्रयोग गरेर धितोपत्र खरिद गर्ने गरेको खुलेको छ।

यसले ब्रोकर कम्पनी र भट्टबीच भित्री मिलेमतो रहेको र सर्वसाधारण लगानीकर्ताको कोल्याट्रल वा मौज्दात रकमसमेत प्रयोग भएको हुनसक्ने आशंका उब्जाएको छ।

ब्रोकर कम्पनीले बोर्डमा बुझाएको पत्रअनुसार भट्टसँग आबद्ध व्यक्ति र संस्थाहरूको अझै पनि १ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको विवरण फेला परेको छ। २०८२ चैत २२ गतेको पत्रमा भट्टले अन्य व्यक्तिहरूको नामबाट एडभान्स रकम जम्मा गर्न लगाएको र सोको हिसाब अझै बाँकी रहेको उल्लेख छ।

रकम भुक्तानी नै नगरी धितोपत्र खरिद गर्न दिनु र राफसाफ गरिदिनु धितोपत्र नियमावलीविपरीतको कार्य हो। यस प्रकरणमा दीपक भट्ट मात्र नभइ उनलाई यस्तो सुविधा दिने भृकुटी स्टक ब्रोकिङ कम्पनीमाथि पनि धितोपत्र बोर्डले कडा कारबाही गर्ने संकेत गरेको छ। बोर्डका कार्यकारी निर्देशक रुपेश केसीले यसअघि नै ’झुठो कारोबार’ सम्बन्धमा छानबिन सुरु गरिसकेका छन्। 

भृकुटी स्टक ब्रोकिङले रकम तिर्न बाँकी रहेका लगानीकर्ताहरूको विवरण 

विवरणअनुसार सबैभन्दा बढी रकम तिर्न बाँकी रहेका लगानीकर्ताहरूमा रोहित गुप्ता र शेखर गोल्छा छन्। जसको जनही ५२ करोड ५० लाख रुपैयाँ बक्यौता देखिन्छ। 

त्यसैगरी हिमालयन क्यापसर्ब लिमिटेडको ३७ करोड रुपैयाँ र हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको २७ करोड ३३ लाख ३५ हजार १६० रुपैयाँ ८३ पैसा तिर्न बाँकी छ।

अन्य ठूला बक्यौता रहेका लगानीकर्ताहरूमा एचएलआई लार्ज क्याप फन्डको २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ ८६ पैसा र हिमालय सेक्युरिटिज बैंकरको २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ ०८ पैसा छ। 

साथै संस्थागतबाहेक व्यक्तिगत लगानीकर्तामा मिनाकुमारी अग्रवालको २ करोड ३० लाख ७९ हजार १२५ रुपैयाँ ०४ पैसा र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ ८८ पैसा बक्यौता छ।

दीपक भट्ट र उनीसँग आबद्ध व्यक्ति तथा संस्थाहरूले धितोपत्र दलाल व्यवसायीलाई भुक्तानी गर्न बाँकी रकम 

सबैभन्दा बढी बक्यौता स्वयं दीपक भट्टको नाममा २ अर्ब ७३ करोड ३३ लाख १५हजार १ सय ६० रुपैयाँ छ। त्यसैगरी राजबहादुर शाहले ८९ करोड ७० लाख ९७ हजार ३ सय ४६ र सुभी अग्रवालले ६२ करोड ८९ लाख ५६ हजार ३ सय ७१ रुपैयाँ बुझाउन बाँकी देखिन्छ। 

यसै समूहमा रहेका अर्का लगानीकर्ता ऋषिराज मोरको नाममा २३ करोड १ लाख ३१ हजार ९ सय २ रुपैयाँ र हिमालय इन्भेष्टमेन्ट बैंकरको नाममा २२ लाख २६ हजार ३ सय ५२ रुपैयाँ  लिन बाँकी रकम देखाइएको छ। 

अनुसन्धानका क्रममा भृकुटी स्टक ब्रोकिङका नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र ग्लोबल आईएमई बैंकमा रहेका खाताहरू विश्लेषण गर्दा विभिन्न व्यक्ति तथा संस्थाहरूबाट नियमित रूपमा ठूलो रकम जम्मा हुने गरेको पाइएको छ। 

विशेषगरी धितोपत्र राफसाफका लागि ग्लोबल आईएमई बैंकमा खोलिएका खाताहरूमा रकम ट्रान्सफर भएको देखिन्छ। 

विवरणअनुसार एचएलआई लार्ज क्याप फन्डले मिति २०२५ सेप्टेम्बर २१ देखि २०२६ मार्च २६ सम्मको छोटो अवधिमा भृकुटी स्टक ब्रोकिङको खातामा ३ अर्ब १७ करोड रुपैयाँ नगद जम्मा गरेको छ। 

सोही अवधिमा उक्त फन्डले ७० करोड ८५ लाख १० हजार १ सय ७५ रुपैयाँको धितोपत्र बिक्री गरेको र ३ अर्ब ६५ करोड ५९ लाख ४६ हजार ५ सय ८५ रुपैयाँ १५ पैसाको धितोपत्र खरिद गरेको देखिएको छ। मिति २०२६ मार्च २६ सम्ममा उक्त फन्डले ब्रोकरबाट २२ करोड २५ लाख ६३ हजार ५ सय ९० रुपैयाँ ७१ पैसा लिन बाँकी रहेको विवरणले देखाउँछ।

 दीपक भट्टको सम्बन्धको विवरण

विवरणअनुसार हिमालयन सेक्युरिटिजमा हिमालयन रिइन्स्योरेन्सको ७४ प्रतिशत सेयर स्वामित्व छ भने सोही संस्थामा दीपक भट्टको ७ प्रतिशत र रेखा गोल्छाको २.५ प्रतिशत हिस्सा देखिएको छ। 

त्यसैगरी हिमालयन इन्भेष्टमेन्ट एन्ड चार्टर्ड क्यापिटलमा दीपक भट्टको ८.२५ प्रतिशत सेयर स्वामित्व छ। कम्पनीले हिमालयन इन्भेष्टमेन्ट चार्टर्ड क्यापिटलमार्फत एचआईआई लार्ज क्याप फन्ड नामक सामूहिक लगानी कोष योजनामा समेत लगानीको तयारी गरेको जनाएको छ।

बीमा क्षेत्रका अन्य कम्पनीहरूसँगको सम्बन्धलाई हेर्दा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिइन्स्योरेन्समा ४.५ प्रतिशत र इराज हुलाकचन्द एन्ड कम्पनीमार्फत २‍.० प्रतिशत सेयर स्वामित्व रहेको देखिन्छ।

यसैगरी नेपाल लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स दुवैमा दीपक भट्टको समान १५ प्रतिशत सेयर स्वामित्व छ भने फेस्ट लाइफ इन्स्योरेन्समा हिमालयन रिइन्स्योरेन्सको १५ प्रतिशत लगानी छ। अर्कोतर्फ प्रोटेन्टिभ लाइफ इन्स्योरेन्समा हिमालयन रिइन्स्योरेन्सको २१.५७ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्समा ७ प्रतिशत सेयर स्वामित्व कायम छ।

कम्पनीको नेतृत्व र प्रशासनिक निरन्तरताका सम्बन्धमा दीपक भट्टले २०७८ फागुन २५ देखि २०८० फागुन २० सम्म पहिलो कार्यकाल र सोही मितिदेखि हालसम्म दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। 

यस्तै हिमालयन लाइफ इन्स्योरेन्समा कम्पनीको लगानी २०८० बैशाख १६ देखि २०८२ चैत ११ सम्मको अवधिलाई आधार मानी व्यवस्थापन गरिएको छ। 

आरोपीहरू

कारोबार आरोपित व्यक्तिहरूमा भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी प्रमुख सन्दीप चाचान, शुभी अग्रवाल, ऋषिराज मोर, राजबहादुर शाह छन्। 

कसुर गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड,  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, रोहित गुप्ता र शेखर गोल्छा रहेको धितोपत्र बोर्डले सार्वजनिक गरेको विवरणमा छ।

प्राप्त विवरणअनुसार सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले लगानीकर्ता दीपक भट्टले अपनाएको शैलीमा नै वित्तीय अनुशासन उल्लंघन गरेको पाइएको छ। उनीहरूले सेयर खरिदका लागि आवश्यक पर्ने अग्रिम रकम कोल्याट्रल उपलब्ध नगराइ ठूलो परिमाणमा सेयर कारोबार गरेको देखिएको छ। अझ गम्भीर कुरा त के छ भने खरिद गरिएको सेयरको पूर्ण रकम भुक्तानी नै नगरी ती सेयरहरू उनीहरूको हितग्राही (डिम्याट) खातामा प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

यस कार्यमा धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिको समेत मिलेमतो रहेको पाइएको छ। ब्रोकरसँगको सेटिङमा रकम भुक्तानी नगरी सेयर आफ्नो नाममा ल्याएर बजारमा कृत्रिम माग सिर्जना गर्ने र मूल्य बढाउने योजनाबद्ध काम भएको देखिएको छ। यसरी मूल्य बढाउँदा एकातिर ती लगानीकर्तालाई प्रत्यक्ष लाभ पुगेको छ भने अर्कोतिर धितोपत्र बजारको वास्तविक अवस्थालाई तोडमरोड गरी आम लगानीकर्तालाई धोका दिने काम भएको छ।

यो प्रकरण धितोपत्रसम्बन्धी ऐन, २०६३ को गम्भीर उल्लंघन भएको बताइएको छ। प्रतिवेदनका अनुसार यो कार्य ऐनको दफा ९६ को उपदफा ९१० र दफा ९८ बमोजिमको कसुरको दायरामा पर्ने देखिन्छ। यी दफाहरूले बजारमा कृत्रिम मूल्य कायम गर्ने र जालसाजीयुक्त कारोबार गर्नेलाई कडा सजायको व्यवस्था गरेका छन्। नियामक निकायले यस विषयमा थप अनुसन्धान गरी दोषीहरूमाथि ऐनबमोजिमको कडा कारबाही प्रक्रिया अघि बढाउन सक्ने संकेत गरेको छ। यस घटनाले बजारको स्वच्छता र ब्रोकरहरूको कार्यशैलीमाथि पुनः प्रश्न उठाएको छ।

कानूनी व्यवस्था

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४ (झुठो कारोबार) अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्र खरिद-बिक्री भए तापनि वास्तविक स्वामित्वमा फरक नपर्ने गरी कारोबार गरेमा वा अर्कोले गर्ने खरिद वा बिक्री प्रस्तावको मूल्य थाहा पाइ सोहीसँग मिल्ने गरी खरिद-बिक्री प्रस्ताव गरेमा त्यसलाई कृत्रिम कारोबार मानिन्छ। यस्तो कार्यलाई बजारको पारदर्शिता र निष्पक्षताविपरीत मानिने हुनाले बोर्डले यसलाई प्राथमिकताका साथ अनुसन्धानमा राखेको छ। छानबिनबाट दोषी ठहरिएमा ऐनबमोजिम कडा जरिवाना र सजायको व्यवस्था छ।

यसरी आफूसमेतको स्वामित्व रहेको कम्पनीबाट कम मूल्यमा ऋणपत्र खरिद गरी आफू वा आफूसम्बद्ध कम्पनीकै लगानी रहेका अन्य कम्पनीहरूलाई बढी मूल्यमा बिक्री गरी कृत्रिम रूपमा मूल्यवृद्धि गराइ वा स्थिर गराइ वा अन्यलाई नोक्सानी पुर्‍याइ आफूलाई लाभ हुनेगरी कारोबार गरेको देखिन्छ। यसबाट उनले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४ र ९५ बमोजिमको कसुर गरेको हुन सक्ने देखिएको छ।


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend