बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै

बुधबार, चैत ९ २०७८
सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा बैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष्य लिएको परियोजनाले सिमसार सफाई, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउदै लगेको छ।

काठमाडौं- मासिँदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्ष अन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाईको काम थालिएको छ।

सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो।

संरक्षण अन्तर्गतको काममा सिमसारमा आश्रित समुदायलाई रोजगारी प्रदान गरिएको छ। जीविकोपार्जन सहयोगका रुपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटाउने कार्यलाई अघि बढाइएको छ। सिमसार सफाइ थालेसँगै स्थानीयले परिवर्तनको आभाष समेत गर्न थालेका छन्। हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको उनीहरु बताउँछन्।

संरक्षित क्षेत्रका रुपमा रहेको कोशी टप्पुको सिमसार क्षेत्र पछिल्लो समय भने जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिदो क्रममा छ। सफाइको क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाउने गरी तयारीसमेत गरिएको छ। 

मावन र वन्यजन्तु बीचको द्वन्द्व अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षणको उद्देश्य साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजना अन्तर्गत कोशी टप्पुमा संरक्षणका काम अघि बढाइदै आइएको हो। परियोजना अन्तर्गत सिमसार क्षेत्र बढाउन ४५ हेक्टर जग्गा खरिद समेत गरी सकिएको छ। थप जग्गा खरीदको क्रम समेत अघि बढाइएको छ। सिमसार तथा सिमसारमा आश्रित जलचर र जीवजन्तुको संरक्षण गर्नु बेल्टको प्रमुख उद्देश्य रहेको छ। बेल्ट अन्तर्गत सुनसरीतर्फको सिमसार संरक्षण तथा त्यसको प्रर्वद्धनको जिम्मेबारीको काम भने कोशी टप्पु लर्निङ ग्राउण्डले हेर्दै आएको छ। 

क्षेत्र विस्तारसँगै सिमसारलाई २०६५ मा कोशी बाँँध फुट्नु पूर्वको अवस्थामा फर्काउन केटीके बेल्ट र भर्टिकल वायोडाईभसिटी फण्डले सो क्षेत्रमा ठूलो धनराशी खर्च गर्दैछ। 

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा बैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष्य लिएको परियोजनाले सिमसार सफाई, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउदै लगेको छ। त्यसका साथै माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको वासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोलीले अध्ययन तथा अनुसन्धानको काम थाल्ने गरी तयारी समेत थालेको कोशी टप्पु लर्निङ ग्राउण्डले जनाएको छ। 


प्रकाशित : बुधबार, चैत ९ २०७८१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend