काठमाडौं- विवादित व्यवसायी दीपक भट्ट अहिले सम्पत्ति शुद्धीकरण विभागको हिरासतमा छन्। उनको घर तथा कार्यालयबाट विभागले सबैकुरा नियन्त्रणमा लिएको छ।
भट्टको घरमा १० वटा कार रहेको विभागले जनाएको छ। त्यसमध्ये एउटा कार ल्यान्ड रोभर रेन्ज रोभरको थियो। काइरोस इन्टरनेसनलले अवैधरूपमा आयात गरेको उक्त कार जगदम्बा मोटर्सले खरिद गरेर भट्टलाई प्रयोग गर्न दिएको देखिएको छ।
वीरगञ्जबाट २०८२ असार २५ गते आयात भएको ल्यान्ड रोभर रेन्ज रोभर प्लगइन हाइब्रिड कार काइरोस इन्टरनेसनल काठमाडौंले आयात गरेको थियो। असार ३१ गते यातायात व्यवस्था कार्यालयमा दर्ता भएको उक्त कार ३२ गते नै काइरोस इन्टरनेसनल काठमाडौंको नाममा सुरु दर्ता भएको थियो।
प्राइम कमर्सियल बेंकले कर्जा प्रवाह गरेर काइरोस इन्टरनेसनलकै नाममा २०८२ पुस ४ मा रेन्ज रोभर कार नामसारी भएको छ। सोही कार पुनः अरेत इन्टरनेसनल प्रालिको नाममा समेत आएको दर्ता किताबमा उल्लेख छ।
अन्तिममा २०८२ माघ १३ गते रेन्ज रोभर प्लग इन हाइब्रिड कार जगदम्बा मोटर्स प्रालिका नाममा नामसारी भएको दर्ता किताबको विवरणमा छ। बागमती प्रदेश ०१-०३३ च ०००१ नम्बरमा दर्ता भएको सो कार २९ सय ९६ सीसी इन्जिन क्षमता भएको प्लग इन हाइब्रिड गाडी हो।
नेपालमा विवादास्पद व्यवसाय गर्दै आएका भारतीय नागरिक राकेशकुमार अडुकियाले हङकङमा कम्पनी खोलेर सोही कम्पनीमार्फत नेपालमा रहेको कम्पनीलाई आधिकारिक बिक्रेता दिएर कार बिक्री गर्दै आएका छन्।
अमेरिकी कम्पनी टेस्लादेखि बेलायती कम्पनी ल्यान्ड रोभर, जर्मन कम्पनी अउडी र पोर्सासम्मको कार हङकङमा रहेको साउथ चाइना एक्जिम लिमिटेड र अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेशनलले नेपालमा विलासी कार निर्यात गर्दै आएको छ।
साउथ चाइना एक्जिम लिमिटेड र अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेशनल यी दुई कम्पनीले नेपालमा रहेका अरेत इन्टरनेशनल प्रालि र काइरोस इन्टरनेशनललाई आधिकारिक बिक्रेता नियुक्त गरेर टेस्लादेखि ल्यान्ड रोभरसम्मका कार बिक्री गर्दै आएको छ।
नेपालमा दर्ता भएका काइरोस इन्टरनेशनल र अरेत इन्टरनेशनल प्रालि अडुकियाकै छत्रछायामा सञ्चालित कम्पनी हो। अरेत इन्टरनेशनलमा राजेश शर्माको नाम छ। काइरोस इन्टरनेशनल फर्म पनि उनै शर्माको नाममा नै छ। फर्ममा विवाद भएपछि सालोको नाममा रहेको युरेकाको नाम बदलेर काइरोस इन्टरनेशनल प्रालि बनाउने काम पनि अडुकियाले नै गराएका हुन्।
अडुकियाले उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नदिने भएपछि अवैध प्रक्रियाबाट नेपालमा सवारी ल्याउन हङकङमा आफ्नै नाममा कम्पनी दर्ता गराएको तथ्यबारे बिजनेस न्युजले समाचार प्रकाशित गरेको छ। बिजनेस न्युजले प्राप्त गरेको हङकङमा २०१६ मा दर्ता भएको ‘साउथ चाइना एक्जिम लिमिटेड’ नामक कम्पनीमा राकेशकुमार अडुकियाको सेयर स्वामित्व छ।
अवैध कार्यमा संलग्न रहेको आरोपमा व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका छन् भने राकेशकुमार अडुकिया अहिले पनि खुलेआम त्यही अवैध कार्यमा छन्। अडुकियाकै संरक्षणमा रहेको काइरोस इन्टरनेशनल (अहिले काइरोस इन्टरनेशनल प्रालि) र अरेत इन्टरनेशनल प्रालिले विदेशी मुद्रा अपचलन गरेको विषयमा समेत अनुसन्धान गर्नुपर्ने देखिएको छ। अडुकिया भारत राजस्थानका स्थायी बासिन्दा हुन्।
काइरोस इन्टरनेशनलले ल्याएको ल्यान्ड रोभर डिफेन्डर डिजेल इन्जिन कारलाई पेट्रोल इन्जिन भनेर झुक्याएर ल्याएको विषयमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। यसबारेमा समेत बिजनेस न्युजले समाचार प्रकाशित गरिरहेको छ।
दीपक भट्टसँगै शंकर समूहका निर्देशक शुलभ अग्रवाल पनि पक्राउ परेका छन्। दीपक भट्टको घरमा भेटिएर सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा रहेको ल्यान्ड रोभर रेन्ज रोभर प्लग इन हाइब्रिड हरियो रंगको कार शंकर समूहअन्तर्गतको कम्पनी जगदम्बा मोटर्सको नाममा दर्ता भएको पाइएको हो।
काइरोस/अरेतलाई गाडी बिक्री गर्ने हङकङको कम्पनी 'साउथ चाइना' मा पनि राकेश अडुकियाको लगानी
