बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन : गृहमन्त्री खाँण

मंगलबार, चैत ८ २०७८
व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन : गृहमन्त्री खाँण

वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीसँग मंगलबार गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताएका हुन्। 

काठमाडाैं- गृहमन्त्री बालकृष्ण खाँणले स्वदेशी उद्योग र व्यवसाय प्रवद्र्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्। 

वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीसँग मंगलबार गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताएका हुन्। 

गृहमन्त्री खाँणले व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको समेत उल्लेख गरे। 'व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधान गर्न सरकार तयार छ, ऐन कानुनअनुरुप हामीले समस्या समाधान गरेर सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ, व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन', गृहमन्त्री खाँणले भने, 'आफ्ना समस्या समाधानमा व्यवसायी पनि प्रतिबद्ध रहनुपर्छ।'

उद्योगी व्यवसायीले पनि राज्यले अवलम्बन गरेका नीति र बनाएका कानूनअनुरुप व्यवसाय सञ्चालन गरेर सरकारलाई सहयोग गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिए। भेटमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जमा उद्योगी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे अवगत गराएका थिए। 

औषधिको मूल्य सात/आठ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसारपसारमा सुरक्षाकर्मीले धेरै चासो दिएकोबारे उद्योगी व्यवसायीले गुनासो गरेका थिए। जवाफमा गृहमन्त्री खाँणले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए। रासस


प्रकाशित : मंगलबार, चैत ८ २०७८११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend