बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सडक छेउका फोहर व्यवस्थापन हुन अझै एक साता लाग्ने, फोहर बाहिर ननिकाल्न महानगरको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
सडक छेउका फोहर व्यवस्थापन हुन अझै एक साता लाग्ने, फोहर बाहिर ननिकाल्न महानगरको आग्रह

नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न सकेको छैन।

काठमाडौं- काठमाडौं उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ।

चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ। चैत महिनामा चार दिन र गत फागुनमा २३ दिन विभिन्न वहानामा फोहर व्यवस्थापन हुन सकेन। लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरुपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी गराइन्।

'घरबाट फोहर बाहिर निकाल्दैमा फोहरको व्यवस्थापन हुँदैन, सडकमा जथाभावी फोहर हुनु भनेको पनि थप समस्या हुनु हो', प्रमुख राईले नागरिकलाई आग्रह गर्दै भनिन्, 'फोहरको गाडी लिन आएपछि मात्रै घरबाट फोहर निकालेर व्यस्थापन गर्नु सहज हुन्छ।'

फोहर व्यवस्थापन गरिदै आएको स्थान सिसडोलका स्थानीयले फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न सकेको थिएन।

त्यसैगरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयलाई निःशुल्क स्वास्थ्योपचार गराउनुपर्नेजस्ता माग राखेका छन्। सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहर राख्न मिल्ने जनाएको छ।

हाल फोहर व्यवस्थापनस्थल सिसडोल भरिएको र  निर्माणाधीनस्थलमा पनि फोहर राख्न सुरु गर्नु पूर्वनै स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा थप समस्या हुने देखिएको कामपाको भनाइ छ।

उपत्यकामा दैनिक एक हजारदेखि १ हजार २ सय टनसम्म फोहर निस्कने गरेको छ। उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। यी सबै फोहर निजी र महानगरका गरी दैनिक २०० भन्दा धेरै टिपर–ट्रकबाट लगिनेछ। रासस


प्रकाशित : मंगलबार, चैत ८ २०७८०७:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend