बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सार्वजनिक सवारीको भाडा बढाउने प्रक्रिया अघि बढ्यो, इन्धनको मूल्यअनुसार भाडा स्वत: घटबढ हुने व्यवस्था गरिँदै

सोमबार, चैत ७ २०७८
सार्वजनिक सवारीको भाडा बढाउने प्रक्रिया अघि बढ्यो, इन्धनको मूल्यअनुसार भाडा स्वत: घटबढ हुने व्यवस्था गरिँदै

निश्चित रकम वा प्रतिशतलाई थ्रेसहोल्ड कायम गरेर त्योभन्दा धेरै मूल्यवृद्धि भयो वा मूल्य घट्यो भने भाडा समायोजन गर्ने तयारी

काठमाडौं- सरकारले इन्धनको मूल्यमा हुने घटबढअनुसार स्वत: सार्वजनिक यातायातको भाडा घटबढ हुने व्यवस्था लागु गर्ने तयारी गरेको छ।

सार्वजनिक सवारीको भाडा बढाउने सम्बन्धमा यातायात व्यवस्था विभागले एउटा अध्ययन समिति बनाएर प्रतिवेदन तयार पारिरहेको छ। 

इन्धनको मूल्य बढ्दा भाडा बढ्ने र घट्दा घट्ने व्यवस्थासहितको नियम ल्याउने विषयमा अध्ययन समिति बनेको विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेलले बताए। ‘औपचारिक निर्णय भइसकेको छैन। हामीले अध्ययन गरेर विभागलाई प्रतिवेदन बुझाउँदै छौँ,’ पौडेलले भने, ‘तर इन्धनको मूल्य उल्लेख्य रुपमा बढेकाले प्रक्रिया अगाडि बढाएका हौँ।’ 

निश्चित रकम वा प्रतिशतलाई थ्रेसहोल्ड कायम गरेर त्योभन्दा धेरै मूल्यवृद्धि भयो वा मूल्य घट्यो भने भाडा समायोजन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। 

स्वचालित प्रणाली लागु भएपछि भाडा समायोजन गर्नका लागि सरकारसगँ माग गर्नु नपर्ने यातायात व्यवसायीहरूको भनाइ छ। पछिल्लो समय नेपाल आयल निगकले पटक-पटक इन्धनको मूल्य बढाएपछि यातायात व्यवसायीले स्वचालित भाडा प्रणली लागु गर्न सरकारलाई आग्रह गर्दै आएको छ। 

महासंघले गत फागुन २९ गते स्वचालित भाडा प्रणली लागु नभए आफैँ भाडा बढाउने चेतावनी दिएको थियो। महासंघले गरेको अध्ययनअनुसार स्वचालित भाडा प्रणली लागु भए ९ देखि १३ प्रतिशतसम्म भाडा बढ्नेछ।

गएको बैशाखमा विभागले भाडा समायोजन गरेयता ३२ प्रतिशत इन्धनको मूल्य बढेको विभागको भनाइ छ। त्यतिबेला डिजेलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ थियो भने अहिले डिजेलको मूल्य प्रतिलितर १ सय ३८ रुपैयाँ पुगेको छ। 


प्रकाशित : सोमबार, चैत ७ २०७८११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend